ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियान, सडकमै रोकेर चालकको स्वास्थ्य परीक्षण

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण
ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियान, सडकमै रोकेर चालकको स्वास्थ्य परीक्षण

राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्ने अभियानअन्तर्गत चालक तथा सहचालक स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मीको टोली । तस्बिर : नयाँ पत्रिका

राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरिएको छ । अधिकांश दुर्घटना चालककै कारण भएको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले यस्तो अभियान थालेको हो । 

सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । ‘धादिङ जिल्लामा दुई ठूला राजमार्ग छन् । राजमार्गमा दिनहुँजसो दुर्घटना भइरहन्छन् । दुर्घटनाका धेरै कारणमध्ये चालकहरूकै लापरबाही र उनीहरूको स्वास्थ्य अवस्था पनि एक हो,’ उनले भने, ‘चालक नै स्वस्थ भएन भने यात्रा असुरक्षित हुन सक्छ । जनचेतना फैलाउन सोमबारदेखि सुरु भएको अभियान निरन्तर रूपमा चल्नेछ । राजमार्गमा मात्र नभई जिल्लाका अन्य स्थानमा पनि यो अभियान सञ्चालन हुन्छ ।’ 

बद्रीनाथ गैह्रे, प्रमुख जिल्ला अधिकारी, धादिङ
धादिङमा दुई ठूला राजमार्ग छन्, जहाँ दिनहुँजसो दुर्घटना भइरहन्छन् । दुर्घटनाका धेरै कारणमध्ये चालकहरूकै लापरबाही र उनीहरूको स्वास्थ्य अवस्था पनि एक हो । चालक नै स्वस्थ भएन भने यात्रा असुरक्षित हुन सक्छ । जनचेतना फैलाउन सोमबारदेखि सुरु भएको अभियान निरन्तर रूपमा चल्नेछ । राजमार्गमा मात्र नभई जिल्लाका अन्य स्थानमा पनि यो अभियान सञ्चालन हुन्छ ।

पृथ्वी राजमार्ग देशैभरका सवारीसाधन संघीय राजधानी काठमाडौंसम्म आवतजावत गर्ने मुख्य मार्ग हो । यो राजमार्ग भएर दैनिक हजारौँको संख्यामा सवारी आवतजावत गर्छन् । ‘राजमार्गमा चल्ने सबै सवारीसाधनका चालक तथा सहचालकलाई धादिङ जिल्लाले मात्रै स्वास्थ्य परीक्षण गर्न सम्भव हुँदैन । धादिङबाट सुरु भएको हो, अन्य जिल्लामा सन्देश पुर्‍याउन यो अभियान थालिएको हो,’ उनले भने ।

ट्राफिक प्रहरीले धादिङको बेनीघाट रोराङ– ९ मझिमटारमा शिविरकै रूपमा स्वास्थ्य परीक्षण थालेको हो । स्वास्थ्य परीक्षण अभियानअन्तर्गत चालक तथा सहचालकको ब्लड प्रेसर, आँखाको भिजन टेस्टलगायत मानसिक तथा शारीरिक थकानको चेकजाँचसमेत गरिएको छ । 

स्वास्थ्य परीक्षण गरिएका चालक तथा सहचालकमध्ये धेरैमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । स्वास्थ्य समस्या भएकामध्ये अधिकांशलाई उच्च रक्तचापको समस्या छ । ‘स्वास्थ्य समस्या देखिएका चालक तथा सहचालकलाई उपचार पनि गरिएको छ । कतिपयलाई आराम गराउँदै स्वास्थ्य परामर्श दिएर पठाएका छौँ । सवारीधनीलाई पनि फोन गरेर जानकारी दिने र सचेत रहन सल्लाह पनि दिने गरेका छौँ,’ उनले भने ।

चालक तथा सहचालकको स्वास्थ्य परीक्षणले राजमार्गमा हुने दुर्घटना न्यूनीकरण हुने जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठ बताए । ‘चालकको सामान्य त्रुटिबाट पनि जनधनको ठूलै क्षति हुन सक्छ । हरेक दिनजसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियान सुरु गरिएको हो,’ उनले भने, ‘सडक सञ्जाल, चालकको लापरबाही, सवारीसाधनको अवस्थालगायतका कारण दुर्घटना भइरहेका छन् । दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुुरु गरिएको हो ।’

स्वास्थ्य परीक्षण अभियानसँगै धादिङ जिल्लामा रहेका ट्राफिक युनिटले दैनिक जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । ‘सवारी चेकिङ गर्ने राजस्व संकलन मात्र नभई चालक, सहचालक, यात्रुहरूको गुनासो सुन्ने गर्छाैँ । चाडपर्व पनि नजिकिँदै छ । विशेष कार्ययोजना बनाएर समस्या समाधानको खोजी गर्ने लक्ष्य हाम्रो छ,’ उनले भने । राजमार्गका विभिन्न ठाउँमा रिफ्रेस सेन्टर स्थापना गरिने निरीक्षक श्रेष्ठले बताए । ‘नजिकभन्दा लामो दूरीमा चल्ने सवारीसाधन हाँक्ने सवारीचालकलाई मध्यनजर गरेर रिफ्रेस सेन्टरको सुरु गर्न लागिएको हो,’ उनले भने । 

प्रहरीले राजमार्गमै सवारी रोकेर चालक तथा सहचालकको स्वास्थ्य अवस्था चेकजाँच गरेको हो । तर, काउन्टरबाट सवारी छुट्नुअघि चेकजाँच गरिए प्रभावकारी हुने चालकहरूको भनाइ छ । बाटोमै सवारी रोकिँदा यात्रुलाई गन्तव्यमा पुर्‍याउन ढिलाइ हुने मनोज कुमालले बताए । ‘हामीले हाम्रो स्वास्थ्य चेकजाँच त गरिरहेका छौँ । प्रहरीको यो काम सराहनीय छ । तर, प्रहरीले चेकजाँच गर्दा समस्या देखिहाले यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन समस्या हुन्छ । सवारी छुट्ने ठाउँ बसपार्कलगायतको ठाउँमा यस्ता चेकजाँच भए अझै प्रभावकारी हुन्छ,’ उनले भने ।

प्रहरीले चालेको यो अभियानलाई यात्रुहरूले प्रशंसा गरेका छन् । यो अभियानले सबैलाई सचेत बनाएको यात्रु मधु विकले बताइन् । ‘चालक सहचालक पनि सजग बन्छन् । यात्रु पनि सचेत हुनुपर्छ । यसले सुरक्षित यात्राको अनुभूति हुनेछ,’ उनले भनिन् । 

सुझावित समाचार