१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्ने अभियानअन्तर्गत चालक तथा सहचालक स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मीको टोली । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियान, सडकमै रोकेर चालकको स्वास्थ्य परीक्षण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:२o:oo

राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरिएको छ । अधिकांश दुर्घटना चालककै कारण भएको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले यस्तो अभियान थालेको हो । 

सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । ‘धादिङ जिल्लामा दुई ठूला राजमार्ग छन् । राजमार्गमा दिनहुँजसो दुर्घटना भइरहन्छन् । दुर्घटनाका धेरै कारणमध्ये चालकहरूकै लापरबाही र उनीहरूको स्वास्थ्य अवस्था पनि एक हो,’ उनले भने, ‘चालक नै स्वस्थ भएन भने यात्रा असुरक्षित हुन सक्छ । जनचेतना फैलाउन सोमबारदेखि सुरु भएको अभियान निरन्तर रूपमा चल्नेछ । राजमार्गमा मात्र नभई जिल्लाका अन्य स्थानमा पनि यो अभियान सञ्चालन हुन्छ ।’ 

बद्रीनाथ गैह्रे, प्रमुख जिल्ला अधिकारी, धादिङ
धादिङमा दुई ठूला राजमार्ग छन्, जहाँ दिनहुँजसो दुर्घटना भइरहन्छन् । दुर्घटनाका धेरै कारणमध्ये चालकहरूकै लापरबाही र उनीहरूको स्वास्थ्य अवस्था पनि एक हो । चालक नै स्वस्थ भएन भने यात्रा असुरक्षित हुन सक्छ । जनचेतना फैलाउन सोमबारदेखि सुरु भएको अभियान निरन्तर रूपमा चल्नेछ । राजमार्गमा मात्र नभई जिल्लाका अन्य स्थानमा पनि यो अभियान सञ्चालन हुन्छ ।

पृथ्वी राजमार्ग देशैभरका सवारीसाधन संघीय राजधानी काठमाडौंसम्म आवतजावत गर्ने मुख्य मार्ग हो । यो राजमार्ग भएर दैनिक हजारौँको संख्यामा सवारी आवतजावत गर्छन् । ‘राजमार्गमा चल्ने सबै सवारीसाधनका चालक तथा सहचालकलाई धादिङ जिल्लाले मात्रै स्वास्थ्य परीक्षण गर्न सम्भव हुँदैन । धादिङबाट सुरु भएको हो, अन्य जिल्लामा सन्देश पुर्‍याउन यो अभियान थालिएको हो,’ उनले भने ।

ट्राफिक प्रहरीले धादिङको बेनीघाट रोराङ– ९ मझिमटारमा शिविरकै रूपमा स्वास्थ्य परीक्षण थालेको हो । स्वास्थ्य परीक्षण अभियानअन्तर्गत चालक तथा सहचालकको ब्लड प्रेसर, आँखाको भिजन टेस्टलगायत मानसिक तथा शारीरिक थकानको चेकजाँचसमेत गरिएको छ । 

स्वास्थ्य परीक्षण गरिएका चालक तथा सहचालकमध्ये धेरैमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । स्वास्थ्य समस्या भएकामध्ये अधिकांशलाई उच्च रक्तचापको समस्या छ । ‘स्वास्थ्य समस्या देखिएका चालक तथा सहचालकलाई उपचार पनि गरिएको छ । कतिपयलाई आराम गराउँदै स्वास्थ्य परामर्श दिएर पठाएका छौँ । सवारीधनीलाई पनि फोन गरेर जानकारी दिने र सचेत रहन सल्लाह पनि दिने गरेका छौँ,’ उनले भने ।

चालक तथा सहचालकको स्वास्थ्य परीक्षणले राजमार्गमा हुने दुर्घटना न्यूनीकरण हुने जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठ बताए । ‘चालकको सामान्य त्रुटिबाट पनि जनधनको ठूलै क्षति हुन सक्छ । हरेक दिनजसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियान सुरु गरिएको हो,’ उनले भने, ‘सडक सञ्जाल, चालकको लापरबाही, सवारीसाधनको अवस्थालगायतका कारण दुर्घटना भइरहेका छन् । दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुुरु गरिएको हो ।’

स्वास्थ्य परीक्षण अभियानसँगै धादिङ जिल्लामा रहेका ट्राफिक युनिटले दैनिक जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । ‘सवारी चेकिङ गर्ने राजस्व संकलन मात्र नभई चालक, सहचालक, यात्रुहरूको गुनासो सुन्ने गर्छाैँ । चाडपर्व पनि नजिकिँदै छ । विशेष कार्ययोजना बनाएर समस्या समाधानको खोजी गर्ने लक्ष्य हाम्रो छ,’ उनले भने । राजमार्गका विभिन्न ठाउँमा रिफ्रेस सेन्टर स्थापना गरिने निरीक्षक श्रेष्ठले बताए । ‘नजिकभन्दा लामो दूरीमा चल्ने सवारीसाधन हाँक्ने सवारीचालकलाई मध्यनजर गरेर रिफ्रेस सेन्टरको सुरु गर्न लागिएको हो,’ उनले भने । 

प्रहरीले राजमार्गमै सवारी रोकेर चालक तथा सहचालकको स्वास्थ्य अवस्था चेकजाँच गरेको हो । तर, काउन्टरबाट सवारी छुट्नुअघि चेकजाँच गरिए प्रभावकारी हुने चालकहरूको भनाइ छ । बाटोमै सवारी रोकिँदा यात्रुलाई गन्तव्यमा पुर्‍याउन ढिलाइ हुने मनोज कुमालले बताए । ‘हामीले हाम्रो स्वास्थ्य चेकजाँच त गरिरहेका छौँ । प्रहरीको यो काम सराहनीय छ । तर, प्रहरीले चेकजाँच गर्दा समस्या देखिहाले यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन समस्या हुन्छ । सवारी छुट्ने ठाउँ बसपार्कलगायतको ठाउँमा यस्ता चेकजाँच भए अझै प्रभावकारी हुन्छ,’ उनले भने ।

प्रहरीले चालेको यो अभियानलाई यात्रुहरूले प्रशंसा गरेका छन् । यो अभियानले सबैलाई सचेत बनाएको यात्रु मधु विकले बताइन् । ‘चालक सहचालक पनि सजग बन्छन् । यात्रु पनि सचेत हुनुपर्छ । यसले सुरक्षित यात्राको अनुभूति हुनेछ,’ उनले भनिन् । 

ad
ad