मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
२०८० भदौ १८ सोमबार १०:२६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कपाली तमसुक बनाउने मिटरब्याजी साह कारागार चलान

Read Time : < 1 मिनेट
२०८० भदौ १८ सोमबार १०:२६:००

अनुचित लेनदेन (मिटरब्याज) कसुरमा सिराहाको मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाताकुमारी साह पुर्पक्षका लागि कारागार चलान भएकी छिन् । जिल्ला अदालत सिराहाका न्यायाधीश मनोज केसीको इजलासले साहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनी कारागार चलान भएकी हुन् ।

कपाली तमसुक कागजात बनाउन लगाएको सबुत प्रमाणबाट पुष्टि भएकाले हाललाई थुनामा राखेर अनुसन्धान गरी कारबाही गर्नुपर्ने भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ अनुसार पुर्पक्षका लागि कारागार पठाउन आदेश गरिएको स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । 

‘प्रतिवादीले दिएको रकमभन्दा तीन गुणा बढीको कपाली तमसुक बनाई गाउँघरमा विभिन्न मानिसलाई मौखिक रूपमा वार्षिक ३६ प्रतिशत ब्याजदरमा र कपाली तमसुकमा वार्षिक १० प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने गर्छिन् भन्ने उल्लेख गरी गरिदिएको कागज, यी प्रतिवादीले जाहेरवालीकी आमासँग राजीनामा पारित गराई जग्गा लिएको, निज प्रतिवादीलाई हुनुपर्ने सजायसमेतका आधार प्रमाणबाट यी प्रतिवादी हालैको अवस्थामा निर्दोष रहेका छन् भन्न सकिने अवस्था नरहेकोे, पछि ठहरेबमोजिम हुने हुँदा हाललाई निज प्रतिवादी सुजाताकुमारी साहलाई मुद्दा पुर्पक्षका निमित्त मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिमको मुद्दा  पुर्पक्षको निमित्त थुनामा राख्नू,’ आदेशमा भनिएको छ ।

ऋण दिएको रकमको तीन गुणा बढीको कपाली तमसुक बनाएर चर्काे ब्याजसमेत असुल गरेको भन्दै मिर्चैया नगरपालिका–६ की ममतादेवी रायको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दायर गरेको थियो । साहविरुद्ध प्रहरी र जिल्ला प्रशासन कार्यालय सिराहामा विभिन्न व्यक्तिले नौवटा जाहेरी दर्ता गराएका छन् ।
सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धानको क्रममा साहलाई पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी जाहेरी दर्ता गराएकी रायले बताएकी छिन् ।