१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अन्तर्घातका उजुरीको छानबिन नीति अधिवेशनकेन्द्रित

केन्द्रीय अनुशासन समितिमा जिम्मेवारी सरेर आएका र नयाँ गरी करिब २३ सय उजुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५३:oo

कांग्रेसले सुुरुमा नीति अधिवेशनलाई केन्द्रमा राखेर अन्तर्घातका उजुरी छानबिन थालेको छ । सोहीअनुसार महासमिति सदस्य चयन हुन नसकेका जिल्लाकेन्द्रित उजुरी छानबिन सुरु गरेको हो । केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीका अनुसार १९ जिल्लाका २५ स्थानमा महासमिति सदस्य चयन हुन बाँकी छ । केन्द्रीय निर्वाचन समितिसँग सहकार्य गरी ती जिल्लाका उजुरी छानबिन भइरहेको उनले बताए । उनका अनुसार जिम्मेवारी सरेर आएका र नयाँ गरी समितिमा करिब २३ सय उजुरी छन् । 

‘नीति अधिवेशनमा सहभागी हुने महासमिति सदस्य निर्वाचनका लागि हामीले निर्णय दिनुपर्ने हुन्छ । त्यसैले सुरुमा निर्वाचन समितिसँगको सहकार्यमा महासमिति सदस्य निर्वाचन हुन नसकेका १९ जिल्ला प्राथमिकतामा राखेर छानबिन गरिरहेका छौँ,’ उनले भने । कांग्रेसले मंसिर १३ देखि १५ सम्म काठमाडौंमा महासमिति बैठक तय गरिसकेको छ । सोही बैठकबाटै नीति अधिवेशन गर्ने यसअघि नै कांग्रेसले निर्णय लिइसकेको छ । कांग्रेस विधानमा महाधिवेशनसँगै महासमिति सदस्यको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । 

छानबिनमा कारबाहीको निर्णय गरेका पार्टी सदस्य महासमिति सदस्य बन्न पाउँदैनन् । छानबिनपछि अनुशासनको विषय टुंग्याएर महासमिति सदस्य निर्वाचन गर्ने बाटो खुला गर्ने कांग्रेसको योजना छ । कांग्रेसको १४औँ महाधिवेशनले सभापति शेरबहादुर देउवासहितको केन्द्रीय नेतृत्व चयन गरे पनि नीति भने थाती राखिएको थियो । पार्टीको सोही नीति तय गर्न अधिवेशन गर्न लागिएकाले यसलाई कांग्रेसभित्र महत्वपूर्ण मानिएको छ । 

जगन्नाथ श्रेष्ठ, अधिवक्ता

७७ जिल्ला कार्यसमितिलाई महासमिति सदस्यको निर्वाचन हुन नसकेका र विभिन्न कारणले रिक्त रहेका स्थानबारे जानकारी गराउन साथै भदौ मसान्तभित्र महासमिति सदस्यको निर्वाचन सक्न परिपत्र गर्दै छौँ । अनुशासन समितिले गरेको निर्णयका आधारमा हामीले निर्वाचन गर्नुपर्ने हुन्छ ।

निर्वाचन समिति सदस्य अधिवक्ता जगन्नाथ श्रेष्ठले भदौ मसान्तभित्र महासमिति सदस्यको निर्वाचन सम्पन्न गराउने गरी समितिले तयारी गरिरहेको बताए । ‘७७ जिल्ला कार्यसमितिलाई महासमिति सदस्यको निर्वाचन हुन नसकेका र विभिन्न कारणले रिक्त रहेका स्थानबारे जानकारी गराउन साथै भदौ मसान्तभित्र महासमिति सदस्यको निर्वाचन सक्न परिपत्र गर्दै छौँ । अनुशासन समितिले गरेको निर्णयका आधारमा हामीले निर्वाचन गर्नुपर्ने हुन्छ,’ उनको भनाइ छ । 

अनुशासन समितिले कार्यविधि नै बनाएर वषौँदेखि थन्किएका उजुरीमाथि ‘फास्टट्र्याक’ कारबाहीको नीति लिएको छ । अनुशासन समितिले कार्यविधि ११ भदौमा बनाएको थियो । कार्यविधिमा व्यक्तिगत रूपमा परेका उजुरी र पार्टीका निकायबाट कारबाही सिफारिस भएका उजुुरी छानबिनको प्रक्रिया, निर्णयको मापदण्ड र पुनरावेदनको प्रक्रिया समान रहने व्यवस्था छ । समितिले १२ भदौबाट उजुरी खोलेको थियो । २९ साउन ०७९ मा आनन्द ढुंगानालाई अनुशासन समिति संयोजक बनाइएको थियो । तर, गत ५ भदौमा मात्र समिति सदस्यमा ईश्वरी न्यौपाने, धु्रव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरिएको थियो । समितिले पूर्णता पाएसँगै छानबिन अगाडि बढेको कांग्रेसले जनाएको छ ।

विधानमा महासमिति सदस्य चयनको व्यवस्था
कांग्रेस विधानमा केन्द्रीय सभापति र महामन्त्री केन्द्रीय महासमितिको सभापति र महामन्त्री रहने व्यवस्था छ ।  केन्द्रीय सभापति, उप–सभापति, महामन्त्री, कोषाध्यक्ष, सह–महामन्त्री र केन्द्रीय सदस्य पदेन सदस्य रहन्छन् । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित सातजना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू, मुस्लिम समुदायबाट चारजना प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, समानुपातिक आधारमा निर्वाचित गर्नुपर्ने हुन्छ । 

निवर्तमान केन्द्रीय सभापति, उप–सभापति, महामन्त्री, कोषाध्यक्ष, सह–महामन्त्री र केन्द्रीय सदस्य एक अवधिका लागि स्वतः महासमिति सदस्य रहने व्यवस्था छ । साथै, केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गरेका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको केन्द्रीय अधिवेशनले निर्वाचित गरेका केन्द्रीय अध्यक्षसहित तीन÷तीनजना महासमिति सदस्य रहने व्यवस्था गरेको छ । विदेशस्थित जनसम्पर्क समितिले निर्वाचित महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचन गरी पठाएका अध्यक्षसहितका महासमिति सदस्य रहनेछन् ।

ad
ad