सभामुख देवराज घिमिरेले एमसिसी र बिआरआईबाट नेपालले देशको हित हुने गरी लाभ लिन सक्नुपर्ने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसिसी) र चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’(बिआरआई)बाट देशको हित हुने गरी लाभ लिन सक्नुपर्ने बताए।
उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए। उनले एमसिसीका बारेमा धेरै चर्चाहरू चलिरहेको र बिआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनताको हितमा प्रयोग गर्न आग्रह गरे। उनले भौगोलिक विकटताका बाबजुद पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताए। उनले नेपालले बाह्य ऋणबाट मुक्त गर्नुपर्ने बताए। सभामुख घिमिरेले राजनीति बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताए।
उनले भने, ‘आज विश्वका शक्ति राष्ट्रहरू युएसएले एमसिसीलगायतका कार्यक्रमहरू विस्तार गरेर नेपालजस्ता पछि परेका मुलुकहरूलाई सहयोग गर्ने कोसिस गरिरहेको छ। त्यसरी नै बिआरआई प्रोग्रामअन्तर्गत जनताको जीवनलाई सरल बनाउने र त्यस्ता मुलुकलाई सहयोग गर्ने ढंगबाट चीनले प्रोग्रामहरू लिएर आइरहेको छ। नेपालले यी दुईवटै प्रोग्रामबाट नेपाली जनताको हितमा कसरी जाने? नेपाल राष्ट्रका राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी लिन सक्छ? यो एउटा प्रतिस्पर्धात्मक अवस्थामा हामीले गम्भीरताका साथ लिनुपर्ने वेला आएको छ। एमसिसीको बारेमा धेरै चर्चाहरू चलिरहेका छन्, बिआरआईको बारेमा त्यस हिसाबको चर्चा नचले पनि हामीले बिआरआई प्रोग्रामलाई राष्ट्र र जनतको हितमा कसरी प्रयोग गर्ने यो एउटा सोच्नुपर्ने वेला आएको छ।’
सभामुख घिमिरेले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताए। उनले पञ्चायती व्यवस्थालाई अन्त्य गरी अहिलेको लोकतान्त्रिक, संघीय समावेशी संविधान ल्याएको र संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो। उहाँले उत्पादनमा वृद्धि गरी देशको अर्थ व्यवस्था उच्च बनाउनुपर्ने बताए।