
जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकता लिएकामध्ये १८ जनाले नागरिकता त्याग गरेका छन् । लमजुङ स्थायी घर भई कामको सिलसिलामा विभिन्न देशमा पुगेका १८ जना नेपाली नागरिकले नागरिकता त्याग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले ०७४ र ०७८ सालमा पाँच–पाँचजनाले नागरिकता त्यागेका छन् ।
त्यसैगरी, जिल्लामा ०७३ सालमा दुईजना, ०७५ सालमा एकजना, ०७९ सालमा दुईजना र ८० सालको हालसम्म तीनजनाले नागरिकता त्याग गरेको मिश्रको भनाइ छ । लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले नागरिकता त्याग गरेको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७९/८० मा ६ हजार चार सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । गत वर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या पाँच हजार आठ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले बताए ।
अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा चार हजार पाँच सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सोबाहेक सात हजार पाँच सय ५८ जनाले वंशजको आधारमा नयाँ नागरिकता लिएको र चारजनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।