१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१३:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाली खेलाडी भन्छन्–एसिया कपलाई यादगार बनाउनेछौँ

पाकिस्तान र भारतसँगको खेलमा ब्याटिङको स्ट्रोक, विपक्षीका क्याच र मैदानमा हुने प्रत्येक क्षणलाई स्मरणीय बनाउन प्रतीक्षारत रहेको कप्तान रोहित पौडेलको भनाइ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१३:oo

१६औँ एसिया कपको डेब्यु राष्ट्र नेपाल हो । पहिलोपटकको सहभागितामै नेपालले एकदिवसीय विश्वकपका पूर्वच्याम्पियन भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । आइसिसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँगको उद्घाटन खेलसँगै नेपालको एसिया कपमा यात्रा सुरु हुनेछ ।

नेपाली टोलीले कराँचीमा चार दिनको अभ्यास गर्दै आइतबार मुल्तान पुगेको थियो । मुल्तानकै रंगशालामा बुधबार नेपालले पाकिस्तानसँग खेल्नेछ । प्रतियोगिता जति नजिक आइरहेको छ, त्यति नै खेलाडी उत्साहित छन् । उनीहरू प्रत्येक खेलका क्षण स्मरणीय बनाउन चाहन्छन् । नेपालका कप्तान रोहित पौडेल पनि एसिया कपलाई स्मरणीय बनाउने बताउँछन् । 

पाकिस्तान पुगेपछि पहिलोपटक रोहितले सोसल मिडियामा आफ्नो भावना बाँडेका छन् । १३ भदौमा पाकिस्तानसँग खेल्नुअघि उनले सोसल मिडियामा लेखेका छन्, ‘हरेक चुनौती अँगाल्न, सपना पछ्याउन र जोसका साथ खेल्ने यात्रामा छौँ ।’ उनले खेल दौरान ब्याटिङको प्रत्येक स्ट्रोक, विपक्षीका क्याच र मैदानमा प्रत्येक क्षण कैद गर्न एक कदम नजिक रहेको जनाए । 

‘हामी पाकिस्तान र भारतसँगको खेलमा प्रत्येक क्षण स्मरणीय बनाउछौँ, हामी क्रिकेटमा नयाँ विरासत बनाउने आशाका साथ अगाडि बढ्छौँ ।’ उनले आफूहरूप्रति पूरा राष्ट्रले आशा गरेको जनाए । ‘यतिवेला हामीमाथि पूरै राष्ट्रले आशा गरेको छ, त्यसलाई तोड्नुहुन्न,’ उनले लेखेका छन्, ‘समर्पण, टिम एकता र सदाझैँ साथ र समर्थनले हामी एकाग्र भएर अघि 
बढेका छौँ ।’ 

रिजवानले बढाए हौसला
वर्तमान समयकै उत्कृष्ट विकेट किपर तथा ब्याट्सम्यान मोहम्मद रिजवानले नेपाली खेलाडीलाई भेटेका छन् । पाकिस्तानी खेलाडी रिजवानले नेपाली खेलाडीलाई एसिया कपमा राम्रो प्रदर्शन गर्न हौसला बढाएका हुन् । उनले एसिया कप खेल्न नेपाल योग्य भएको जनाए । नेपाली टोलीलाई शुभकामना दिँदै कुनै कुराको आवश्यकता परे सहयोग गर्ने उनले बताए । रिजवान पाकिस्तानी टी–२० फम्र्याटकै मुख्य ब्याट्सम्यान हुन् । अहिले उनी र कप्तान बाबर आजमको जोडीले ओपनिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दुई वर्षअघि आइसिसी टी–२० विश्वकपमा भारतलाई पहिलोपटक १० विकेटले हराउँदा पाकिस्तानका लागि रिजवानले महत्वपूर्ण ७९ रनको योगदान गरेका थिए । 

पाँच क्रिकेटर बिग बासको ड्राफ्टमा
नेपालका पाँच क्रिकेटर अस्ट्रेलियाको बिग बास लिगको ड्राफ्टमा परेका छन् । अस्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीपसहित देव खनाल, विकेट किपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख ड्राफ्टमा परेका हुन् । लामिछानेसँग बिग बास खेलेको अनुभव छ । देव नेपालका यू–१९ कप्तान हुन् । अर्जुन विकेट किपर ब्याट्सम्यान हुन् ।

आसिफ सिनियर टोलीका विकेट किपर तथा ओपनर ब्याट्सम्यान हुन् । १३औँ संस्करणको बिग बासमा २९ देशबाट तीन ७६ खेलाडी ड्राफ्टमा छन् । बिग बासको ड्राफ्ट ३ सेप्टेम्बरमा हुनेछ । बिग बास आगामी ७ डिसेम्बरदेखि सुरु हुनेछ । ड्राफ्टमा छनोट भएका विदेशी खेलाडीलाई प्रत्येक सहभागी टोलीले राख्न सक्छन् । प्रत्येक टोलीले विदेशी खेलाडीमा धेरैमा तीनजना राख्न पाउने प्रावधान छ । 

हारजितभन्दा सिक्ने हो : सन्दीप

नेपालका मुख्य स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान गएका छन् । काठमाडौं जिल्ला अदालतले उनको मुद्दा २१ भदौमा सारेपछि उनी प्रतियोगिता खेल्न त्यसतर्फ उडेका हुन् । त्रिभुवन विमानस्थलमा सन्दीपले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै एसिया कपमा नेपाली टोलीले दिल खोलेर खेल्ने प्रतिक्रिया दिएका छन् ।

एसिया कपमा भारत र पाकिस्तानसँगको खेलमा नतिजा जस्तो आए पनि खेलाडीले धेरैभन्दा धेरै सिक्न अवसर पाउने उनको विश्लेषण रह्यो । ‘भारत–पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीका लागि गर्वको कुरा हो, यसमा हार वा जितभन्दा पनि सिक्ने कुरा हो,’ उनले भने, ‘हामी दिल खोलेर खेल्नेछौँ ।’ 

अदालतमा उनको पेसी आइतबार रहेका कारण उनी नेपाली टोलीसँगै पाकिस्तान जान पाएनन् । अदालतले हेर्न नभ्याइने भन्दै अर्को पेसी तोकिएको छ । त्यसपछि उनले एसिया कपका लागि पाकिस्तान जाने निर्णय गरेका हुन् । पाकिस्तान र श्रीलंकामा राम्रो प्रदर्शन हुने विश्वास उनले दिलाएका छन् ।

प्रतियोगिताका लागि आफूले सक्दो अभ्यास र तयारी गरेको उनको भनाइ छ । ‘यो खुसीको पर्व हो, सधैँ भारत र पाकिस्तासँग खेल्न पाइँदैन, एकपटक खेलेपछि यी राष्ट्रसँग निरन्तर कसरी खेल्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ,’ उनले भने । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले विमानस्थलमा सन्दीपलाई बिदाइ गरेका थिए । घिसिङले नेपाली टोलीबाट ठूलो भरोसा र अपेक्षा राखेको बताए । 

एसिया कपमा सर्वाधिक रन र विकेट लिने खेलाडी
 १६औँ एसिया कप बुधबारदेखि पाकिस्तान र श्रीलंकामा हुँदै छ । मुल्तानमा नेपाल र पाकिस्तानबीचको उद्घाटन खेलसँगै आधिकारिक रूपमा एसिया कप सुरु हुनेछ । प्रतियोगितामा नेपाल डेब्यु राष्ट्र हो । भारत सर्वाधिक सातपटकको विजेता हो । पूर्वविजेताको भारत र पाकिस्तानको समूहमा नेपाल रहेको छ । प्रतियोगिता दुईपटक टी–२० फम्र्याटमा भएको थियो ।

एसिसीको तथ्यांकअनुसार प्रतियोगितामा सर्वाधिक रन र विकेट लिने खेलाडी श्रीलंकाली हुन् । श्रीलंकाका पूर्वकप्तान सनथ जयसूर्या सर्वाधिक रन बनाउने र मथैया मुरलीधरण धेरै विकेट लिने बलरमा पर्छन् । सर्वाधिक रन बनाउने खेलाडीमा श्रीलंका र भारतका समान दुई खेलाडी छन् । पाकिस्तानका एक खेलाडी मात्र सूचीमा समावेश छन् ।

जयसूर्या : सर्वाधिक रन बनाउने 
जयसुर्याले सन् १९९० देखि २००८ सम्म एसिया कप खेल्दा एक हजार दुई सय २० रन बनाए । २५ खेलमा उनले औसत ५३.०४ र १०२.५२ स्ट्राइकर रेटमा ब्याटिङ गरेका थिए । उनको नाममा ६ शतक र तीन अर्धशतक बनेका छन् । कुमार सांगाकारा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् । ओपनर सांगकाराले सन् २००४ देखि २०१४ सम्म एसिया कपमा २४ खेल खेले । यसक्रममा उनले एक हजार ७५ रन जोडे । एसिया कपमा उनले चार शतक र आठ अर्धशतकीय इनिङ्स खेले । 

भारतका पूर्वकप्तान सचिव तेन्दुलकर तेस्रो पंक्तिमा आउँछन् । उनले सन् १९९० बाट सन् २०१२ सम्म एसिया कपमा २३ खेलमा नौ सय ७१ रन जोडे । उनले दुई शतक र सात अर्धशतक जोडे । एसिया कपमा सचिनको औसत रन ५१.१० थियो । 

पाकिस्तानका अल राउन्डर सोएब मलिक चौथो स्थानमा छन् । सोएबले सन् २००० देखि २०१८ सम्म १७ खेलमा सात सय ८६ रन बनाए । तीन सतक र तीन अर्धशतक बनाएका उनले औसत ६५.५० रन बनाएका हुन् । सर्वाधिक रन बनाउने सूचीको पाँचौँ नम्बरमा भारतका कप्तान रोहित शर्मा छन् । उनले अहिलेसम्म २२ खेलमा सात सय ४५ रन बनाएका छन् । उनले ६ अर्धशतकीय इनिङ्स खेलेका छन् । 

मुरलीधरण : धेरै विकेट लिने
एसिया कपको सर्वाधिक पाँच विकेट लिने सूचीमा अहिले सहभागी कुनै पनि टोलीका बलर छैनन् । धेरै विकेट लिनेमा श्रीलंकाली खेलाडीकै दबदबा छ । स्पिनर मुरलीधरण शीर्ष स्थानमा छन् । सन् १९९५ देखि ०१० सम्म मुरलीधरणले एसिया कप खेल्दा सर्वाधिक ३० विकेट लिए । उनले २४ खेलबाट यो सफलता हात पारेका थिए । उनको इकोनोमिक ३.७५ छ । 
तीव्रगतिका बलर लथिस मलिंगा दोस्रो स्थानमा छन् ।

मलिंगाले सन् २००४ देखि ०१८ सम्म १४ खेलमा २९ विकेट लिएका थिए । श्रीलंकाली अजन्था मेन्डिस तेस्रो स्थानमा छन् । उनले सन् २००८ देखि ०१४ सम्म आठ खेलमा २६ विकेट लिए । चौथो स्थानमा पाकिस्तानका अजमल छन् । अजमलले सन् २००८ देखि ०१४ सम्म १२ खेल खेल्दा २५ विकेट लिएका थिए । श्रीलंकाका भास पाँचाँै स्थानमा छन् । उनले सन् १९९५ देखि २००८ सम्म १९ खेल खेल्दा २३ विकेट लिएका हुन् ।

ad
ad