
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा आउँदो मंसिर ९ गतेदेखि १५ गतेसम्म एक साता ‘थाहा फिल्म महोत्सव’ आयोजना हुने भएको छ । थाहा कला केन्द्रको आयोजनामा हुने फिल्म महोत्सवको बारेमा शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवद्र्धन र दामन पालुङ क्षेत्रलाई मिनी फिल्म सिटीको रूपमा विकास गर्न महोत्सव गर्न लागिएको जानकारी दिए ।
महोत्सवमा सन्देशमूलक चलचित्रहरू प्रदर्शन गर्नुका साथै नेपाली चलचित्र क्षेत्रका दिग्गज निर्माता, निर्देशक तथा कलाकारलाई थाहा नगरपालिमा विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण तथा अन्तरक्रिया गराइने उनले बताए ।
आयोजक संस्था थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले महोत्सव आयोजनका लागि अनुमानित ३० लाख रुपैयाँ खर्च लाग्ने बताए । महोत्सव आयोजनाका लागि थाहा नगरपालिकासहित बागमती प्रदेशको पर्यटन तथा सहकारी मन्त्रालय र पर्यटन बोर्ड नेपालले समेत सहयोग गर्ने जानकारी उनले दिए ।