१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
जय पाठक (जेपी)
२o८१ बैशाख २० बिहीबार १३:५९:oo
Read Time : > 5 मिनेट
ad
ad
ब्लग डिजिटल संस्करण

म भरतपुर अस्पतालको मेसु भए...

Read Time : > 5 मिनेट
जय पाठक (जेपी)
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:५९:oo

भरतपुरलाई ‘मेडिकल सिटी’को उपनामले समेत चिनिन्छ। यसरी मेडिकल सिटीको रूपमा आजको यस अवस्थासम्म विकास गराउन भरतपुर अस्पताल प्रेरणाको मूल स्रोत हो। नेपालको मध्यभागमा अवस्थित यस अस्पताल यहाँको भौगोलिक अवस्थिति, यहाँ रहेका दुई ठूला मेडिकल कलेज, अन्य साना–ठूला अस्पतालहरू, यहाँको जनचेतनाको स्तर र पूर्वाधारको विकास आदि कारणहरू मेडिकल सिटी बन्नुमा सहयोगी बनेका छन्।

पृष्ठभूमि तथा परिचय
चितवन जिल्लाको भरतपुर महानगरपालिका– १० मा रहेको यस भरतपुर अस्पतालको स्थापना २०१३ सालमा ‘राप्ती दुन उपत्यका विकास समिति’ र अमेरिकी सरकारको संयुक्त प्रयासमा सामान्य स्वास्थ्य केन्द्रबाट सुरू भएको पाइन्छ। पछि गएर २०२० सालमा ‘महेन्द्र आर्दश चिकित्सालय’को रुपमा नामकरण भएको थियो। वि.सं २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि यस अस्पतालको नाम महेन्द्र आदर्श चिकित्सालयबाट परिवर्तन भई भरतपुर अस्पताल रहन गएको हो। २०३९ सालमा ‘अस्पताल विकास तथा सहयोग समिति’को गठन भएसँगै अस्पतालमा स्थानीय र समुदायको संलग्नता बढेको देखिन्छ।
 
१५ शय्याबाट सुरु भएको यो अस्पताल २०६७ सालमा ४१५ शय्या हुँदै हाल करिब ६ सय शय्याभन्दा बढिमा सञ्चालन छ। यसअन्तर्गत नेपाल सरकारको ३ सय शय्या र अस्पताल विकास समितिअन्तर्गत ३ सय शय्या सञ्चालनमा छ।

विकासको सम्भावना बोकेको अस्पताल
यस अस्पतालले आफ्नो ३१ विघा जमिनमा व्यवस्थित पूर्वाधार निर्माण गरी नेपालकै एक नमुना केन्द्रीय अस्पतालको रुपमा विकास गर्न सकिने सम्भावना बोकेको छ। राजा महेन्द्रका पालामा बनेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको लामो सडकखण्ड चितवन र यस आसपासका जिल्लाहरुमा पर्नु, पूर्व तथा पश्चिमका जिल्लाहरुबाट राजधानी प्रवेशको मुख्य मार्ग यही हुनु र तीव्र रूपमा शहरीकरण हुँदै जानुका कारणले पनि चितवन एकचहलपहल हुने जिल्लाका रूपमा चिनिएको छ। यसरी मानिसको चहलपहल बढ्नाले मेडिकल सिटीको रूपमा विकास गर्नुका साथै आफ्नो परिचय स्थापित गर्नसमेत सहयोग गरेको छ।

स्वास्थ्य क्षेत्र निकै महत्त्वपूर्ण एवं संवेदनशील क्षेत्र हो । नेपालकै मध्यभागमा अवस्थित यस भरतपुर अस्पताल देशकै नमुना अस्पतालको रूपमा विकास हुँदै गएको छ । यस अस्पतालले सबैको ध्यान केन्द्रित गरिरहेको छ । देशको मध्यभागमा रहेको यस सरकारी अस्पताल गरिब, अशक्त, असहाय, निमुखा, राज्यको मूलप्रवाहबाट बहिष्करणमा परेका समुदायको निःशुल्क उपचार हुने मुख्य केन्द्र पनि यही नै हो । त्यसैले पनि यस अस्पतालप्रति जनताको अपार माया, सदभाव, भरोसा अनि चासो बढिरहेको पाइन्छ।

हाल अस्पतालमा भएका विकास निर्माणका कामलाई उच्च सम्मान एवं आत्मसात् गर्दै यस अस्पतालको समग्र विकास, सेवा–सुविधा छिटो, छरितो र गुणस्तरीय बनाउन केही योजना बुँदागत रूपमा यसरी प्रस्तुत गर्ने अनुमति चाहन्छु :

➢ कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्ने खालका नियमित तालिम तथा छलफल कार्यक्रम राख्ने, जसका लागि आवश्यक परेमा तालिम दिन बाहिरबाट दक्ष जनशक्ति मगाउने ।

➢ कर्मचारीसँग नियमित रूपमा अन्तरक्रिया तथा छलफल कार्यक्रम राख्ने । यसले सेवाप्रवाहमा देखापरेको समस्या पत्ता लगाउन, त्यसलाई समाधान गर्न तथा नयाँ–नयाँ योजना बनाउन, सेवाप्रवाहलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सहयोग गर्दछ ।

➢ यस अस्पतालका कर्मचारीले बिरामी र उनीहरूका आफन्तलाई सहानुभूति दिने, बिरामीको अवस्थाबारे जानकारी दिने र संवेदनशीलतालाई बुझी सोहीअनुसार काम तथा व्यवहार ल्याउन जोड दिन नियमित प्रशिक्षण कार्यक्रमहरू गर्ने । 

➢ अस्पतालमा कार्यरत सबै कर्मचारीलाई अनिवार्य पोसाक लगाउने व्यवस्था गर्ने र त्यसको नियमित अनुगमन गर्ने । 

➢ बिरामी र स्वास्थ्यकर्मीको अनुपात मिलाउन अब सो दरबन्दीलाई छिट्टै नयाँ सर्भेअनुसार गरी नेपाल सरकारको स्वीकृत दरबन्दीमा वृद्धि गर्ने । 

➢ यस अस्पताललाई सरकारी मेडिकल कलेजको रूपमा विकास गर्न पहल गर्ने, जसको लागि आवश्यक प्रक्रिया मिलाउने ।

➢ आकस्मिक सेवालाई चुस्त–दुरुस्त बनाउन शय्या (बेड) संख्याको अनुपातमा कर्मचारी पर्याप्त व्यवस्था गर्ने, जसले गर्दा समयमा उपचार नपाएर कोही मर्न नपरोस् ।

➢ ट्रमा र नन–ट्रमालाई दुई भागमा वर्गीकरण गरी इमर्जेन्सी सेवा सञ्चालन गर्ने । 

➢ ओपिडीको भिडभाड हुने समयमा बिरामीलाई सहयोग गर्न आवश्यकताअनुसार सोधपुछको साथै सहजकर्ताको समेत व्यवस्था गर्ने, जसले गर्दा बिरामीलाई सेवा लिँदा हुने झन्झट तथा अलमल कम गर्न सकिन्छ ।

➢ ओपिडीको टिकट काउन्टर अझै थप्ने तथा अनलाइन टिकटबारे जनचेतना फैलाउने र क्युआर कोडको व्यवस्था गर्ने, यसले टिकट काट्दा हुने भिडभाड कम गर्न सकिन्छ ।

➢ प्रत्येक भवनमा भर्ना गर्ने, शुल्क तिर्ने तथा डिस्चार्ज गर्न मिल्ने काउन्टरको विस्तार गर्ने, यसले सेवाप्रवाहमा सहज हुनुका साथै एकै ठाउँमा भिडभाड हुँदैन ।

➢ कर्मचारी समयमा आए–नआएको र पूरा समय सेवा गरे–नगरेको तथा नियमित हाजिर तथा कार्यस्थलमा अनुगमन गर्ने ।

➢ उपकरणहरूको नियमित परीक्षण गरी त्यसको अभिलेख राख्ने व्यवस्था गर्ने । विशेष गरी ल्याब, सिटीस्क्यान, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपीजस्ता रोग निदान गर्ने तथा स्वास्थ्य परीक्षण गराउने उपकरणहरूको नियमित परीक्षण गरी त्यसबाट प्राप्त नतिजाको गुणस्तरीय र विश्वसनीयताको ग्यारेन्टी गर्ने ।

➢ कुनै उपकरण बिग्रिएमा त्यसको विकल्पको व्यवस्था गर्ने । विकल्प दिन नसकिने उपकरण भएमा त्यसका लागि यथाशीघ्र छिटो बनाउने व्यवस्था मिलाउने ।

➢ अस्पतालमा ढल तथा नालाको उचित व्यवस्था गर्ने । 

➢ अस्पतालमा कार्यरत कर्मचारीका लागि आवश्यक प्रोत्साहन भत्ताको व्यवस्था मिलाउने ।

➢ कर्मचारीका लागि पर्याप्त र सुविधायुक्त आवासको व्यवस्था गर्ने ।

➢ कर्मचारी स्थायी गर्नका लागि कोटा तथा मन्त्रालयसँग आवश्यक समन्वय गर्ने । 

➢ जोखिमपूर्ण काम गर्ने कर्मचारीका लागि सुरक्षाका साधनको उचित व्यवस्था गर्ने ।

➢ अस्पतालमा ठाउँ–ठाउँमा शुद्ध पिउने पानीको व्यवस्था गर्ने । बढी भिडभाड हुने स्थानमा विशेष व्यवस्था गर्ने ।

➢ अस्पतालको सबै गेटमा लाइटबोर्ड, अस्पतालभित्र तथा आसपासको क्षेत्रमा रातको समयमा आवतजावत गर्न सहज हुने गरी पर्याप्त लाइट (प्रकाश)को व्यवस्था गर्ने । ठाउँ–ठाउँमा सिसिटिभीको व्यवस्था गर्ने । बढी भिडभाड तथा आवतजावत भइरहने स्थानमा विशेष ध्यान दिने ।

➢ अस्पतालको नियमित सरसफाइ गर्न आवश्यक कर्मचारीको पर्याप्त व्यवस्था गर्ने । सरसफाइ भए–नभएको नियमित अनुगमन गर्ने । धेरै भिडभाड रहने ठाउँका शौचालय र अन्य ठाउँको सरसफाइमा विशेष जोड दिने ।

➢ अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्ने, जसले वातावरण प्रदूषण तथा सरुवा रोगको जोखिमबाट बच्न सकियोस् ।
➢ अस्पतालबाट प्रदान गरिने विभिन्न सेवा–सुविधाबारे स्थानीय सञ्चारमाध्यमबाट पर्याप्त सूचना प्रवाह गर्ने ।

➢ अस्पतालका विभिन्न विभागहरू पत्ता लगाउन सहज होस् भनी संकेतसहित ठाउँ–ठाउँमा उचित मार्गदर्शनको व्यवस्था गर्ने । यसले सेवाकर्तालाई सेवा लिन सहज हुनेछ । निकै भिडभाड हुने स्थानमा पर्याप्त बस्ने ठाउँ तथा पंखाको व्यवस्था गरिदिने ।

➢ हाल अस्पतालको आफ्नै नाममा रहेको ३०–११–०६ बिघा जग्गा भए तापनि उपलब्ध जम्मा करिब ११ बिघा मात्रै रहेकाले यसको विस्तारमा समस्या हुन सक्ने हुँदा सिटिइभिटी, मेडिकल कलेज, आँखा अस्पताल र जनस्वास्थ्य कार्यालयलाई दिइएको प्रयोगविहीन जमिन यथाशक्य छिटो फिर्ता गर्ने र त्यस ठाउँमा अस्पतालका लागि आवश्यक भवन निर्माण गर्ने ।

➢ अस्पताल सफ्टवेयरलाई सबै ठाउँमा एकै खालको बनाई त्यसलाई इन्टरलिंक गरी छिटो–छरितो र सेवाप्रवाहलाई सहज बनाउने ।

➢ समुदायस्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने । जनशक्ति व्यवस्थापन गरेर निःशुल्क फार्मेसीलाई २४सै घन्टा खोल्ने व्यवस्था गर्ने ।

➢ ‘समुदायस्तरमा रोग नै लाग्न नदिन के गर्न सकिन्छ ?’ भन्ने विषयमा छलफल तथा सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्ने ।
➢ अस्पतालमा छुट्टै सुत्केरी भवन तयार गर्ने । त्यहाँ आवश्यक एनआइसियु, सिएसका लागि शल्यक्रिया (अप्रेसन) कोठा तयार गर्ने ।

➢ कुरुवा भवनको क्षमता वृद्धि गरी राम्रो र व्यवस्थित बनाउने। बिरामी र कुरुवाको सुरक्षामा ध्यान दिने ।

➢ अस्पतालभित्र सञ्चालनमा रहेको चमेनागृहमा उचित मूल्य, सरसफाइ, गुणस्तरीय र सन्तुलित खानेकुराको सुनिश्चितता गर्ने ।

➢ बिरामीको गुनासो सुन्ने राम्रो संयन्त्र तयार गर्ने तथा गुनासो समयमै सम्बोधन गर्ने ।

➢ अस्पतालभित्र आवश्यक विद्युत् तथा इन्टरनेट चुस्त–दुरुस्त बनाउने । पार्किङको व्यवस्था राम्रो गर्ने ।

➢ अस्पतालमा देखा पर्न सक्ने समस्यालाई समाधान गर्न र्‍यापिड टिम तयार गर्ने, जसले कुनै पनि समस्या देखा पर्ना साथ तुरुन्त समाधान गर्न सकियोस् । 

➢ सरुवा रोगका लागि छुट्टै भवन तयार गरी त्यसलाई व्यवस्थित गर्ने । अस्पतालमा अति आवश्यक सघन उपचार कक्षको क्षमता वृद्धि गरी व्यवस्थित गर्ने ।

➢ कुनै पनि समयमा देखिन सक्ने महामारी व्यवस्थापन गर्न सचेत र सजग रहने । त्यस्ता आउन सक्ने महामारी नियन्त्रण तथा उपचारको विकल्पबारे पूर्व तयारी गर्ने ।

यसरी तयार पारिएको योजनामा हाल कार्यरत मेडिकल सुपरिटेन्डेन्टले नै धेरै व्यवस्था गरिसक्नुभएको छ । त्यस्ता भइसकेका कामलाई निरन्तरता र व्यवस्थित गर्दै हुन बाँकी योजनालाई पूरा गर्दै अस्पताललाई थप व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यकता देखिन्छ ।
 
अन्त्यमा,
नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवन जिल्लासहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, बारा, तनहुँ, लमजुङ, रुपन्देहीसहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । यस जिल्लाका स्थानीय जनता, राजनीतिक पार्टी, नागरिक समाज, बुद्धिजीवी, आमनागरिक मात्र होइन सरकार तथा उसका विभिन्न निकायहरूले पनि यस अस्पतालको विकास र समृद्धिका लागि निकै चासो दिनुपर्ने देखिन्छ । भरतपुर अस्पताल तपाईं–हाम्रो साझा अस्पताल हो । यसको विकास तथा विस्तार गर्ने पनि तपाईं–हाम्रै साझा दायित्व हो।

(भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले आयोजना गरेको निबन्ध प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल निबन्धको अंश)

ad
ad