
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशकुमार यादवलाई नियन्त्रणमा लिएको छ ।
घुससम्बन्धी विषयमा अनुसन्धानका लागि बुधबार साँझ यादवलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
३१ साउनमा गाउँपालिकाका लेखापाल टेकबहादुर यादव र कम्प्युटर अप्रेटर वीरेन्द्र यादव पक्राउ परेका थिए । सोलारसम्बन्धी एक योजनाका लागि घुसको रूपमा दुई लाख नगद र तीन लाख रुपैयाँको चेक लिँदै गर्दा उनीहरूलाई राजविराजस्थित गजेन्द्रचोकबाट आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।
सोही प्रकरणमा सोधपुछ र बयानका लागि पालिका अध्यक्ष यादवलाई नियन्त्रणमा लिइएको प्रवक्ता दाहालले बताए । अख्तियारले नियन्त्रणमा लिएपछि बिरामी परेका अध्यक्ष यादवलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।