मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ५ मंगलबार o७:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसियाले अनुदानसहित एक पूर्वाधार परियोजना बनाइदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार o७:५o:oo

रसियाले अनुदान सहयोगमा नेपालमा रेलमार्ग, सुरुङ, मेट्रो रेल, सडकमध्ये कुनै एक परियोजना बनाइदिने प्रस्ताव गरेको छ । नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितका प्रतिनिधिसँग विशेष छलफलमा यस्तो प्रस्ताव राखेका हुन् । त्यसका लागि आयोजनाहरू प्रस्ताव गर्नसमेत रसियाले आग्रह गरेको छ । 

प्रस्तावित आयोजनामध्येबाट कुनै एक परियोजना छनोट गरेर अनुदानसहितको लगानीमा निर्माण गर्ने रसियन पक्षको भनाइ छ । साना आयोजना भएमा पूर्ण अनुदानमा र ठूला आयोजना भए मिश्रित लगानी (सहुलियत ऋण र अनुदान) गर्ने प्रस्ताव आएको मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले बताए । यद्यपि, त्यसमा रसियन पक्षले कतिसम्म अनुदान वा सहुलियत ऋण दिने सीमा तोकेको छैन । आयोजना छनोट भएपछि यसबारे छलफलमार्फत नै टुंगो लगाउने प्रस्ताव गरिएको छ । तर, त्यस आयोजनाको निर्माणको ठेक्का भने रसियन कम्पनीले पाउनुपर्ने सर्त पनि प्रस्ताव गरिएको छ ।

सहसचिव थापाले रसियाबाट स्वतःस्फूर्त रूपमा अनुदानसहितमा परियोजना बनाउने प्रस्ताव आएको बताए । ‘हामीसँग प्रस्तावित परियोजनाको कमी छैन । थुपै्र आयोजना अध्ययन, निर्माणाधीन तथा ‘रेडी टु गो’ अवस्थामा छन् । त्यसमध्येबाट विभिन्न आयोजना रसियालाई पेस गर्नेछौँ,’ उनले भने, ‘त्यसपछि द्विपक्षीय छलफलमार्फत कुनै एक आयोजना छनोट गरेर निर्माण अघि बढाउँछौँ ।’

अबको करिब एक महिनामा रुसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदै छन् । उनको भ्रमणअघि पूर्वाधारका विषयमा छलफल गर्न रसियन टोली मन्त्रालयमा पुगेको थियो । सोही भ्रमणकै वेला नै यसबारे सम्झौता गर्ने रसियन पक्षको योजना छ । सोहीअनुसार यसमा आवश्यक तयारी गर्न संयुक्त टोलीसमेत बनाइएको छ । बैठकमा मन्त्री ज्वालाले नै काठमाडौं उपत्यकामा मेट्रो रेल र पूर्व–पश्चिम रेलका विषयमा केन्द्रित भएर छलफल गरेका थिए ।