१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ४ सोमबार
  • Friday, 09 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८o भदौ ४ सोमबार १३:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेलम्बुको विपतमा संघ र प्रदेश सरकार मूकदर्शक

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८o भदौ ४ सोमबार १३:१९:oo

दुई वर्षअघि १ असार ०७८ मा मेलम्ची खोलामा पहिलोपटक विनाशकारी बाढी आयो। दोस्रोपटक त्यही वर्ष १६ र १७ साउनमा अर्को ठूलो बाढी आयो। त्यसयता हेलम्बु र मेलम्ची नदी तटीय क्षेत्र बिरामी अवस्थामा छन्।

यहाँका स्थानीय पुनर्स्थापित हुन नपाउँदै फेरि यही वर्ष २८ साउनमा बाढी आयो। डेढ वर्ष लगाएर २० करोडमा बनेका नदी नियन्त्रणका तारजाली, पक्की वाल र ठाउँठाउँमा लगाइएको ढलान बगायो। बर्खेझरी अझै रोकिएको छैन। मेलम्ची खोला दिनहुँ धार फेर्दै ‘उत्ताउलो’ बनेर बगिरहेको छ।

एक सातायता हेलम्बुवासी सास्ती खेपिरहेका छन्। ठाउँठाउँमा सडक बगाएकाले उनीहरू गाउँमै थुनिएका छन्। नागरिकको यस्तो विपत्तिमा संघ र प्रदेश सरकार भने मूकदर्शक बनेका स्थानीयवासी बताउँछन्। सडक खुलाउन केन्द्र सरकारले न पैसा पठायो न त उपकरण र जनशक्ति नै परिचालन गर्‍याे। २८ गतेको बाढी आएपछि थाहा भयो संघ र प्रदेशले विनियोजन गरेर निर्माण गरिएका सबै संरचना क्षणभरमा बाढीसँगै बग्यो। कमिसनको खेलमा गुणस्तरहीन काम गरेकाले कुनै संरचना नटिकेको स्थानीयहरूको दाबी छ।

बाढी पसेर जताततै सडकमा क्षति गरेपछि हेलम्बु गाउँपालिकाको परिस्थिति निकै प्रतिकूल बन्यो। हेलम्बुको यो पछिल्लो विपतमा सहयोगका लागि कुनै सरकारी निकाय आएनन्। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल हेलम्बु पुगे पनि तत्काल गर्नुपर्ने कुनै सहयोग नगरी फर्के।

२ असारमा मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथाङ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची क्षेत्रलाई भवितव्य बजेट छुट्याउने वचन दिएका थिए। बाढीले खानेपानी आयोजनाको हेडवर्क्स सबै बगायो। मुहानस्थल पुग्ने सडक बग्यो। तर, प्रधानमन्त्री त के संघीय सरकारका कुनै प्रतिनिधि हेलम्बु पुगेनन्। हेलम्बु सरकारको एक्लो प्रयासले खोलाको किनारैकिनार सडक खुलेको छ। तर, निकै जोखिमपूर्ण छ। धार फेर्दै बगिरहेको खोलाले कतिवेला नयाँ ट्रयाक बगाउँछ निश्चित छैन।

एक सातादेखि मेलम्चीघ्याङ, तार्केघ्याङ, शेर्माथाङ, तिम्बु र नाकोतेका स्थानीय गाउँमै थुनिएका छन्। बाढीले सडक बगायो। पहिरोले गोरेटो बाटो पनि पुर्‍याे। मेलम्ची खोलाको मुहानस्थल भेमाथाङमा यसपटक  पहिरो गएको छैन। तर, मेलम्चीघ्याङ पछाडिको डाँडा पहिरोमा परिणत भएको छ। ‘नयाँ पहिरो गएकाले खोलामा ठूलो बाढी आएको हो,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने। भेमाथाङ जलाधार क्षेत्रको नियन्त्रण र सुरक्षा नगरी मेलम्ची खोला तटीय क्षेत्र सुरक्षित नहुने उनले प्रस्ट्याए। सरकारले भूगोलविद् पठाएर अध्ययन गरे तापनि जमिन भास्सिने र पहिरो  नियन्त्रण गर्ने उपायविना मेलम्ची खोलामा पहिरोसहितको बाढी नरोकिने उनको बुझाइ छ।

यता पाँचपोखरी थांपाल गाउँपालिका जाने मेलम्ची भोताङ सडक पहिरोको चपेटामा परेकाले जनजीवन प्रभावित बनेको छ। मेलम्चीसम्मको सडकको अवस्था चुस्तदुरुस्त रहेको मेलम्ची नगरका मेयर आइतमान तामाङले बताए। हेलम्बु र पाँचपोखरी थांपाल जाने सडक बाढीपहिरोले बन्द  भएकाले दुई पालिकाको केन्द्रबाट घर फर्कँदा मेलम्चीमै वास बस्नुपर्ने बाध्यता छ।