१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१४:oo

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका टंकबहादुर धामी निर्वाचित भएका छन्। उनी साझा प्रजातान्त्रिक समूहका ललितकुमार रौनियारलाई आठ सय ४७ मत अन्तरले पराजित गरी संघको अध्यक्षमा निर्वाचित भएका हुन्। 

धामीले दुई हजार चार सय ५६ मत पाउँदा रौनियारले एक हजार पाँच सय ६६ मत प्राप्त गरेको निर्वाचिन अधिकृत माधव शर्माले जानकारी दिए। २ भदाैमा भएको निर्वाचनमा एमाले–माओवादी केन्द्र र राप्रपाको समावेशी प्यानल र कांग्रेस–एकीकृत समाजवादीको साझा प्रजातान्त्रिक समूह चुनावी मैदानमा थिए। 

उपाध्यक्ष उद्योगतर्फ समावेशी प्यानलका चिरञ्जीवी ओली आठ सय ७२ मत अन्तरले विजयी भएका छन्। उनले दुई हजार एक सय ५ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी साझा समावेशी प्यानलका सफिक बेहनाले एक हजार दुई सय ३३ मत पाए। अर्का स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार जोशीले तीन सय १६ मतमा चित्त बुझाए।  

वाणिज्यतर्फको उपाध्यक्षमा पनि समावेशी प्यानलका हरिलाल न्यौपाने निर्वाचित भएका छन् । उनले एक हजार सात सय ७६ मत पाए भने निकटतम् प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिक प्यानलका विष्णुप्रसाद श्रेष्ठले एक हजार चार सय ६७ मत पाएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए। 

उपाध्यक्ष महिलातर्फ पनि समावेशी प्यानलकी मन्दिरा पाण्डे निर्वाचित भएकी छन् । उनले एक हजार आठ सय ७७ र अर्का उम्मेदवार करिश्मा योगीले एक हजार चार सय ९४ मत पाइन्। 

महासचिवमा पनि समावेशी प्यानलका भीमबहादुर रानाभाट विजयी भएका छन्। समावेशी प्यानलका उनी एक हजार नौ सय २६ मत पाएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी टंकप्रसाद शर्माले एक हजार नौ सय २० मत पाए।  

उपमहासचिवमा साझा प्रजातान्त्रिक प्यानलका टेकबहादुर खड्का निर्वाचित भएका छन्। उनले निकटतम् प्रतिद्वन्द्वी मदनराज शर्मालाई पराजित गरेका हुन्। कोषाध्यक्षमा पनि साझा प्रजातान्त्रिक प्यानलका मख्खनबहादुर धामी निर्वाचित भएका छन्। उनले समावेशी प्यानलका सलाउद्दिन जसगढलाई पराजित गरेका हुन्। 

सदस्यतर्फ समावेशी प्यानलका सात र साझा प्रजातान्त्रिक समूहका तीनजना विजयी भएका छन्। १० जना सदस्यका लागि भएको प्रतिस्पर्धामा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, शिवप्रसाद दाहाल, तोपबहादुर थापा, सुदन केसी, टीकामणि उपाध्याय, बुद्धिबहादुर विके, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन्।

विजयी शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल नेपाली कांग्रेस–एकीकृत समाजवादी गठबन्धन साझा प्रजातान्त्रिक समूहका उम्मेदवार हुन्। विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टीकामणि उपाध्याय, बुद्धिबहादुर विके एमाले–माओवादी–राप्रपा गठबन्धनको समावेशी प्यानलका उम्मेदवार हुन्।

संघको एसाेसियट सदस्यमा कमल कार्की र प्रदीप गुप्ता विजयी भएका छन्। कार्कीले एक सय ११ मत तथा गुप्ताले ८८ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। उनीहरूका प्रतिद्वन्द्वी पुरुषोत्तम अग्रवालले ५८ र सञ्जय अग्रवालले ४२ मत पाए।

मतगणनास्थलमा तालाबन्दी

महासचिव पदको मतगणनामा चित्त नबुझेपछि साझा प्रजातान्त्रिक प्यानलले पुनः मतगणना गर्न माग गरेको छ। उसले मत गणनामा धाँधली भएको भन्दै पुनः गणनाको माग गरेको हो। 

निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा गरेपछि साझा प्रजातान्त्रिक प्यानलले मतगणनास्थलमा तालाबन्दी गरेको छ। तालाबन्दीपछि निर्वाचन समितिका सम्पूर्ण सदस्य नेपालगन्ज रंगशालाको कभर्ड हलमा थुनिएका छन्। 
 

ad
ad