मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ४ सोमबार
  • Tuesday, 21 January, 2025
मियामी
२o८o भदौ ४ सोमबार o६:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मियामीमा मेसीलाई पहिलो सिजनमै उपाधि 

Read Time : > 1 मिनेट
मियामी
नयाँ पत्रिका
२o८o भदौ ४ सोमबार o६:१o:oo

डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीले लिग्स कपको फाइनलमा नास्भिलविरुद्ध टाइब्रेकरमा १०–९ को जित निकाल्यो

इंग्लिस फुटबलर डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मिलामी क्लब लिग्समा कप उपाधिविहीन थियो । युरोपमा नाम चलेका खेलाडी अनुबन्ध गरे पनि मियामीले लिग कपसँगै घरेलु लिगसमेत जित्न सकेको थिएन । डेढ महिनाअघि सातपटकको बालोन डिअर र विश्वकप विजेता खेलाडी लियोनल मेसीलाई अनुबन्ध गरेसँगै मियामीको भाग्य परिवर्तन भएको छ । वर्तमान समयकै उत्कृष्ट खेलाडी मेसीको उपस्थितिमै मियामीले लगातार सात खेलमा जित निकालेको छ । मेसीले लगातार खेलमा गोलसमेत गरेका छन् । 

आइतबार बिहान मियामीले निकालेको जित विशेष थियो । लिग कपको फाइनलमा मियामीले नास्भिल एससीलाई टाइब्रकेरमा १०–९ ले स्तब्ध पार्दै पहिलोपटक उपाधि चुम्यो । उपाधि भिडन्तको निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । फाइनलमा मेसीले नै मियामीलाई अग्रता दिलाए । टाइब्रेकरमा मियामीले उपाधि जितेसँगै मेसीले करिअरकै ४४औँ ट्रफी उचाले । प्रतियोगितामा उनी नै उत्कृष्ट खेलाडी घोषित भए । मेसीले इतिहासमै सबैभन्दा बढी ट्रफी उचाल्ने खेलाडीमा ब्राजिलका ड्यानी अल्भेसको रेकर्ड तोडेका हुन् ।

थप एक उपाधिनजिक 
पेनाल्टी सुटआउटमा दुवै टिमका ११–११ खेलाडीले पेनाल्टी हानेका थिए । पेनाल्टीमा मेसीले नै सुरुवाती गोल गरे । रोमाञ्चक र नाटकीय पेनाल्टीको ११औँ प्रहार नास्भिलका गोलरक्षक इलियट प्यानिकोले गरेका थिए । मियामीका गोलकिपर ड्रेक कालेन्डरले उनको प्रहार छेक्दै उपाधि दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरे । ३६ वर्षीय मेसीले फाइनलमा डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । दोस्रो हाफमा फाफा पिकाउल्टले नास्भिललाई १–१ को बराबरीमा पु¥याए । यस सिजनमा मियामीले जोर्डी अल्बा र सर्जियो बुस्केटलाई अनुबन्ध गरेको थियो । 

बार्सिलोनाका पूर्वतीन खेलाडीको आगमनमा मियामी लगातार सात खेलमा अपराजित रह्यो । सन् २०२० पछि मियामीको यो पहिलो उपाधि हो । अब मियामीलाई अर्को प्रतियोगिताको फाइनल पुग्ने अवसर छ । आगामी बुधबार युएस ओपन कपको सेमिफाइनलमा मियामीको भेट सिन्सिनाटीविरुद्ध हुनेछ । 

मेसीको आगमनमा फेरिएको मियामी
मियामीका सह–मालिक बेकह्यामले स्टार खेलाडीहरूको खुलेर प्रशंसा गरेका छन् । ‘अहिले मलाई यो एउटा फिल्मजस्तो लागेको छ, एक महिनाअघि हामी कहाँ थियौँ र अहिले हामी कुन उचाइमा फुटबल खेलिरहेका छौँ,’ मेसीसँगै दुई बार्सिलोनाका खेलाडी आएपछिको अवस्थाबारे बेकह्यामले भने, ‘वास्तवमै फुटबलको मजा यही नै हो, खेलको स्तर कहिले माथि र तल झर्ने रहेछ ।’ 

बुस्केटले मियामीले दिनप्रतिदिन खेलमा सुधार गरेको प्रतिक्रिया दिए । ‘हामी अहिले संगठित रूपमा छौँ, सबैले जितको भावनाका साथ प्रतिस्पर्धा गरिरहेका छन्,’ उनले भने, ‘सबैभन्दा बलियो पक्ष हामीसँग विश्वकै उत्कृष्ट खेलाडीको साथ छ, जसको उपस्थितिले खेललाई सहज बनाएको छ ।’ 

अमेरिकाको एमएलएस र मेक्सिकोको शीर्ष डिभिजनको लिग खेल्ने क्लबबीच हुने लिग्स कप प्रतियोगितामा ४७ टोलीबीच प्रतिस्पर्धा भएको थियो । मियामीको यो नै पहिलो मुख्य उपाधि हो ।