१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Sunday, 22 September, 2024
शिल्पा कर्ण काठमाडौं
२o८o भदौ १ शुक्रबार २o:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री कृषि परियोजनामा भ्रष्टाचार गर्ने तीन दोषी ठहर

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार २o:३६:oo

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार गर्ने तीनजनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । शुक्रबार न्यायाधीशहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला सुनाएको हो । 

विशेषका अनुसार चितवनमा सञ्चालित परियोजनाका कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेलाई तीन महिना कैद सजाय सुनाइएको छ । साथै, यस मुद्दामा चार लाख १२ हजार चार सय ७४ रुपैयाँ बिगोबमोजिम जरिवाना भराउने इजलासको फैसलामा उल्लेख छ । 

परियोजना कार्यान्वयन एकाइ तरकारी जोन, पार्वतीपुर चितवनबाट आर्थिक वर्ष ०७३/७४ मा प्राविधिक शिक्षालयका नाममा पाँच लाख रुपैयाँ निकासा गरी लक्ष्मी माध्यमिक विद्यालय हाताभित्र आधुनिक नर्सरी निर्माण गर्नुपर्नेमा उक्त रकम अन्तै पठाइएको भेटिएको थियो । घिमिरेले सम्झौताअनुसार नर्सरी निर्माण नगरी चार लाख १२ हजार रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो । 

आधुनिक नर्सरीका नाममा आएको रकममध्ये साढे ८७ हजार रुपैयाँबराबरको काम मात्र भएको स्थलगत रूपमा देखिएपछि २९ पुस ०७७ मा मुद्दा दायर भएको थियो । बाँकी रकमबराबको झुटा बिल भर्पाइ पेस गरी रकम भुक्तानी भएको अख्तियारको दाबी थियो । 

यसै मुद्दामा अन्य दुईजनालाई बिगोबमोजिम जरिवाना भराउने आदेश विशेषले गरेको छ । विद्यालयका लागि पठाउनुपर्ने रकम नारायणी एग्रोको खातामा पठाइएको भेटिएको थियो । उक्त एग्रो सञ्चालक बालिकाकुमारी गिरीलाई पनि यस मुद्दामा दोषी ठहर गरिएको छ । 

साथै, कम्पनीका संस्थापक सदस्य गोपीनाथ भुसाल पनि दोषी करार भएका छन् । लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक नरहेका समयमा निमित्त प्रधानाध्यापकलाई दबाब दिई सम्झौताअनुसार काम नगरी आफ्नै कम्पनीको खातामा रकम पठाउन लगाएका थिए । 

गिरी र भुसाल दुवैलाई बिगो रकमको दामासाहीले हुन आउने रकम भराउने आदेश भएको छ । दुवैजनाले दुई लाख ६ हजार रुपैयाँभन्दा बढी रकम जनही बिगो भराउने आदेश भएको हो ।