१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
यम बम काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मनसुनको सवा दुई महिना : धानको ७२% उत्पादन धान्ने तराई–मधेसमा कम वर्षा

Read Time : > 2 मिनेट
यम बम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o६:oo

बाँकेको नरैनापुरमा बल्ल रोपाइँ 

लामो खडेरी चिर्दै गत शनिबार वर्षा भएपछि बाँकेको नरैनापुर गाउँपालिकाका किसानले बल्ल रोपाइँ गरेका छन्, एक साताअघिसम्म खेत बाँझै थिए

साउन अन्त्यसम्ममा धनुषामा ५५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । ५० हजार हेक्टर धान रोपाइँ हुने यो जिल्लामा यसपटकको बर्खामा निकै कम पानी परेपछि किसानले रोपाइँ गर्न पाएनन् । 

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साह भन्छन्, ‘बर्खा पूरै सुक्खा थियो, धेरै किसानले धान नै रोप्न पाएनन् । केही दिनअघिको पानीले केही ठाउँमा रोपाइँ भएको छ ।’ पानी नपरेर बर्खामै चापाकलसमेत सुक्न थालेपछि जिल्ला विपत् व्यवस्थापन समितिले त सुक्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो । सालाखाला एक लाख ५० हजार टन धान उत्पादन हुने धनुषामा यसपालि रोपाइँ नै झन्डै ४५ प्रतिशतले घटेपछि किसान चिन्तित छन् । 

जल तथा मौसम विज्ञान विभागको वर्षासम्बन्धी तथ्यांकअनुसार बर्खाका साढे दुई महिना (१८ जेठदेखि ३१ साउन)सम्म जम्मा ४०६.२ मिलिमिटर अर्थात् ४६.३ प्रतिशत मात्र पानी परेको छ । जब कि ३० वर्षको औसत वर्षालाई हेर्दा यहाँ यो अवधिमा ८७७.३२ मिलिमिटर पानी परिसक्नुपर्ने हो । यहाँ जुलाईमा १० दिन मात्र वर्षा भएको थियो । ९०–११० मिलिमिटरलाई औसत वर्षा मानिन्छ ।

धनुषा मात्र होइन, तराई–मधेसका धेरैजसो जिल्लामा पछिल्लो सवा दुई महिनामा निकै कम पानी परेको छ । जनकपुरसहित वीरगन्ज, सिमरा, लहान, गौर, धरान, भैरहवा, दाङ, नेपालगन्ज र धनगढीमा औसतभन्दा कम पानी परेको तथ्यांकले देखाउँछ । 

धानको कुल उत्पादनको ७२ प्रतिशत हिस्सा तराई–मधेसका जिल्लाले धान्ने गर्छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वार्षिक औसतमा ५१ देखि ५५ लाख टन धान उत्पादन हुन्छ । 

मौसम विभागका अनुसार मधेसका जिल्लामा औसतमा ३०–४५ प्रतिशतसम्म कम पानी परेको छ, जसको असर रोपाइँमा परेको छ । धान रोपाइँ हुने क्षेत्रफल १४ लाख ८८ हजार हेक्टर रहे पनि साउन मसान्तसम्म १४ लाख १७ हजार हेक्टरमा मात्र धान रोपाइँ भएको छ । साउन २७–२९ सम्म परेको वर्षाका कारण धान रोपाइँ केही बढेको हो । २६ साउनसम्म १२ लाख ९१ हजार (८७ प्रतिशत) मात्र धान रोपाइँ भएको थियो । पानी परेपछि बाँकेको नरैनापुरका किसान अहिले धान रोपाइँमा लागेका छन् । जनकपुर क्षेत्रमा पनि अहिले रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख साहले बताए । 

कतै अनावृष्टि, कतै अतिवृष्टि
वर्षा मापनका २० वटा मुख्य स्टेसनलाई आधार मानेर हेर्दा सवा दुई महिनामा नौ सय १० मिलिमिटर अर्थात् मनसुनका चार महिनाको औसत वर्षाको ६१.८ प्रतिशत पानी परेको छ । मनसुनका चार महिनामा एक हजार चार सय ७२ मिलिमिटर वर्षालाई औसत मानिए पनि धेरै वर्षा हुने समय असार–साउन हो । सवा दुई महिनामा जनकपुर, सिमरा, दाङ भैरहवा, नेपालगन्ज, लुम्ले, धनगढी, दिपायल र धरानमा निकै कम वर्षा भएको छ । तर, २७–२९ साउनको झरीले जिरी, काठमाडौं, पोखरा, विराटनगर, जुम्ला, सुर्खेत, ताप्लेजुङ र डडेल्धुराको वर्षा भने औसत हाराहारी पुर्‍याएको छ । तराई–मधेसले खडेरी खेप्दा जोमसोममा औसतको १२८ प्रतिशत र ओखलढुंगामा ११९ प्रतिशत पानी परेको छ ।

जुनमा औसत २८५ मिलिमिटर पानी पर्नुपर्नेमा २४८ (८७.१ प्रतिशत) मात्र पर्‍यो । यो मनसुन अवधिको १६.९ प्रतिशत मात्र वर्षा हो । ‘औसतभन्दा एक दिनपछि १५ जुनमा मनसुन भित्रिए पनि देशभर फैलन समय लाग्यो, २३ जुनमा मात्र देशभर फैलियो । तैपनि कोसी, बागमतीबाहेकमा कम पानी पर्‍यो,’ मौसमविद् सुदर्शन हुमागाईं भन्छन्, ‘यो वेला तराई–मधेसमा खडेरीको अवस्था रह्यो, अझ बढी मधेस प्रदेशमा । दुई सातासम्म पश्चिम नेपालमा पश्चिमी वायुको प्रभावले मनसुन सक्रिय हुन पाएन ।’ जुनमा वर्षा कम हुँदा नवलपरासीको दुम्कौलीमा ४४.८७ डिग्रीसम्म तापक्रम मापन भएको छ । यही महिना कपिलवस्तु, रूपन्देही, नवलपरासी, चितवन, पर्सा,बारा, सर्लाही, धनुषा महोत्तरी र सिराहामा लु चलेको थियो ।

तर, लमजुङको खुदीमा २४ घन्टामै २१९ मिलिमिटर वर्षा भयो, जुनमा सबैभन्दा धेरै वर्षा ८६७.५ मिलिमिटर पनि खुदीमै भयो । तर, लमजुङमा भने अन्य वर्षको तुलनामा यस वर्ष जुनमा निकै कम १६.४ मिलिमिटर मात्रै वर्षा भयो । 

मनसुनको एकतिहाइ कम्तीमा ४८३.५ मिलिमिटर पानी पर्ने जुलाईमा हो । तर, जुलाई दोस्रो साताबाहेक मनसुन ट्रप (मनसुनी रेखा औसतभन्दा दक्षिणतिर गएको, जसले वर्षा घटाउँछ) भयो । जसका कारण कोसी र सुदूरपश्चिममा सरदर वर्षा हुँदा मधेसका धेरै क्षेत्र, कर्णालीको दक्षिणी, बागमती र लुम्बिनीका केही क्षेत्रमा निकै कम वर्षा भएको थियो । कास्कीको लुम्लेमा भने एक महिनामा ११५६ मिलिलिटर पानी परेको थियो । तर, महोत्तरीमा भने एक महिना ६५.६ मिलिमिटर मात्र वर्षा रेकर्ड भयो । 

कम पानी पर्दाको असरस्वरूप अधिकतम तापक्रम गुलरियामा ३९.५, जाजरकोटमा ३५.५ र गोरखामा ३५.५ डिग्री सेल्सियस पुगेर यसअघिका रेकर्ड ब्रेक भए । ‘एलनिनोको अनुमानसहित हामीले अझ कम वर्षाको अनुमान गरेका थियौँ, जुन–जुलाईमा त्यो अनुमान मिले पनि अगस्टमा तीन–चार दिन पानी पर्दा औसततिर गइरहेको छ,’ मौसमविद् हुमागाईंले भने ।
 

ad
ad