१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सुन तस्करी अनुसन्धानमा सरकारी निकायलाई नै सशक्त बनाउनुपर्ने कांग्रेस संसदीय दलको निर्णय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२o:oo

सुन तस्करीलगायत घटना छानबिनका लागि पार्टीकै केही नेताले गरेको उच्चस्तरीय विशेष समिति गठनको मागलाई कांग्रेसले खारेज गरेको छ । कांग्रेस संसदीय दलको सोमबार सम्पन्न बैठकले सुन तस्करीलगायत छानबिनमा सरकारी निकायलाई नै सशक्त बनाउनुपर्ने निष्कर्ष निकालेको हो । 

‘त्रिभुवन विमानस्थलजस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट नै अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको छ । यस्ता घटना विगतमा पनि भएका छन् । पटकपटक हुने यस्ता घटनाले थप चिन्तित बनाएको छ । यस्ता गैरकानुनी कार्य निस्तेज एवं पूर्ण रूपले नियन्त्रण हुनुपर्छ । यस्ता कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानबिनको दायराभित्र ल्याई कानुनी कारबाही गर्नुपर्छ,’ बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘यस्ता प्रकृतिका अपराधजन्य कार्य अनुसन्धान, छानबिन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्युरोलगायत सरकारी निकायहरूले छानबिन, अनुसन्धान गरिरहेका छन् । नेपाली कांग्रेस संसदीय दलको यो बैठक नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गर्दछ ।’

संस्थापनइतर सांसदहरू डा. शेखर कोइराला, प्रदीप पौडेल, रामहरि खतिवडालगायतले सुन प्रकरण र अन्य चर्चित भ्रष्टाचारको हकमा विशेष संसदीय छानबिन समिति बनाएर छानबिनको माग गरेका थिए । यो विषयमा संस्थापननिकट सांसद भने मौन रहँदै आएका थिए । ‘कांग्रेस कुनै पनि घटनाको कानुनबमोजिम स्वतन्त्र, निष्पक्ष, पूर्वाग्रहरहित छानबिन, अनुसन्धान हुनुपर्दछ भन्ने पक्षमा छ । कुनै पनि दोषी नउम्किऊन् र कोही निर्दोष नफसून् भन्ने नीतिमा कांग्रेस रहिआएको छ । सबै प्रकारका भ्रष्टाचार, अनियमितता र बेथितिहरूलाई नियन्त्रण गरी मुलुकमा सुशासनको सुनिश्चितता गर्न माग गर्दछ,’ संसदीय दलको निर्णयमा भनिएको छ । 

कांग्रेसले गठबन्धनको स्थिरता र स्थायित्वका लागि वर्तमान सरकारको निरन्तरताको विकल्प नरहेकोसमेत निष्कर्ष निकालेको छ । राजनीतिक स्थिरताका लागि गठबन्धनलाई सशक्त बनाएर बढ्ने बैठकको निर्णय छ । ‘सरकारमा सहभागी दलहरूको गठबन्धन नेपाली कांग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको हो । सोहीअनुसार वर्तमान सरकारले निरन्तरता पाएको छ । राष्ट्रको सर्वोत्तम हितका लागि राजनीतिक स्थिरता आवश्यक छ । गठबन्धनको स्थितरता र स्थायित्वका लागि प्रभावकारी रूपमा काम गर्न आवश्यक छ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपले काम गर्ने निर्णय गर्दछ,’ गठबन्धनबारे निर्णयमा भनिएको छ ।

कांग्रेसले संसद्मा विचाराधीन सबै विधेयक पारित गर्न, बजेटमा देखापरेका कमी–कमजोरी सुधार र बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई अनुरोध पनि गरेको छ । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेर रिहा भएका सांसद सुनील शर्माको विषयमा भने निर्णयमा केही उल्लेख छैन । बैठक २६ साउनबाट सुरु भएर तीन दिनसम्म चलेको थियो । 

सुन तस्करी रोक्न आयात सहज बनाउनुपर्छ : देउवा
बैठकमा सभापति शेरबहादुर देउवाले सुनको आयातलाई सहज बनाउनुपर्ने बताएका थिए । सांसद रामहरि खतिवडाका अनुसार बैठकमा बोल्दै देउवाले करको दायरामा ल्याएर सुन आयातलाई सहज बनाउन सके तस्करी नियन्त्रण हुने आशय व्यक्त गरेका थिए । ‘मागअनुसारको आयात नहुँदा तस्करी भएको हो । नियन्त्रण गर्न सुन आयातलाई करको दायरामा ल्याएर सहज बनाउनुपर्छ । कर तिरेर सुन (आयात) खुला गर्नुपर्छ । अन्तर्राष्ट्रिय रूपमा कहीँ तस्करी भन्ने उल्लेख छैन, रोकेको पनि छैन,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै खतिवडाले भने ।

अनुकूलतामा फाइल खोल्ने अवस्था आउनुहुँदैन : महामन्त्री थापा
महामन्त्री गगन थापाले अनुकूलता हेरेर भ्रष्टाचार प्रकरणलाई अघि सार्ने अवस्था आउन नहुने बताएका छन् । आफूमाथि छानबिन हुने भएपछि प्रतिक्रियामा अर्को फाइलको कुरा ल्याउने र अनुसन्धानलाई छायामा पार्न खोज्ने प्रवृत्ति घातक भएको बताए । यस्तो अवस्था बदल्न सबै प्रकरणका फाइल अनुकूलता नहेरी अघि बढाउनुपर्ने थापाको भनाइ छ । उनले दोषी जोसुकै भए पनि छुट पाउन नहुने पनि बताए । ‘केही दिनअघि डा. बाबुराम भट्टराईले शिविर घोटालाको छानबिन गरौँ भन्नुभयो । ललितानिवास प्रकरणमा उहाँमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो भनाइ आएको हो । हिजोआज शीर्ष नेताहरूको यस्तै भनाइ सुनिन्छ । कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने ? तिम्रो नाम जोडिएको काण्ड के हो त ? कुनै दलको कुनै नेता अनुसन्धानको क्रममा पक्राउ प¥यो भने ए हाम्रो नेता पक्राउ गर्ने, तिम्रो नेता खै ? यस्तै–यस्तै सुनिन्छ,’ उनले भने, ‘अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी जुनसुकै दलको नेता होस्, सांसद होस्, मन्त्री होस् कसैले पनि छुट पाउनुहुँदैन ।’

ad
ad