दार्चुलाको दोगेडाकेदार– ६ सलेनाकी ७५ वर्षीया बिस्ना भाटलाई सामाजिक सुरक्षा भक्ता थाप्न दुई दिन पैदल हिँड्नुपर्छ । सामाजिक सुरक्षा भत्ता बुझ्न उनले हरेक तीन महिनामा यस्तै सास्ती खेपेर गोकुलेश्वरस्थित ग्लोबल आइएमई बैंकमा आइपुग्नुपर्छ ।
बैंकमा भेटिएकी बिस्नाले भत्ता लिन दुई दिन हिँड्नुपरेको बताइन् । ‘एकै दिनमा बैंकसम्म पुग्न सक्दिनँ,’ उनले भनिन्, ‘बाटोमा वास बसेर भत्ता बुझ्न आएकी हुँ ।’
दोगेडाकेदार– ६ कै ८० वर्षीया नन्दादेवी भाटलाई भत्ता लिन उनका छोरा नारायणले बोकेर ल्याएका थिए । ‘बिहान ५ बजे घरबाट हिँडेर भत्ता लिन गोकुलेश्वर पुगेँ,’ उनले भने, ‘वृद्धा आमालाई बोेकेरै ल्याउनुपरेको छ । गाउँसम्म सडक पहुँच र बैंक नहुँदा यो समस्या भएको हो ।’
शैल्यशिखर नगरपालिकामा पनि दोगेडाकेदारका वृद्धवृद्धाकै जस्तो सास्ती छ । शैल्यशिखर– ४ की ७२ वर्षीया मानमति भट्टलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा सात घन्टा पैदल हिँड्नुपर्छ । सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र गोकुलेश्वर पुग्न मिर्मिरेमै बाटो तताउनुपर्छ । घरबाट गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म पुग्न ओरालो तीन घन्टा हिँड्नुपर्छ भने घर फर्किंदा उकालो काट्न चार घन्टा लाग्छ । बर्खाका वेला चिप्लो बाटोमा आवतजावत गर्न समस्या छ । कहिले समयमै काम भए पनि कहिले समय लाग्छ ।
समयमै काम नभएर ढिला भए साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्छिन् उनी । कहिले त धेरै नै ढिला हुँदा तल गाउँमै बसेर भोलिपल्ट बिहान घर फर्किन्छिन् । बाटोमा खानेपानीसमेत छैन । बाटोसमेत राम्रो छैन । हरेक तीन महिनामा यसरी धाएको उनले लामो समय भइसक्यो । बुढेसकालका कारण समय बित्दै जाँदा क्रमशः हिँडडुल गर्न उनलाई समस्या हुने गरेको छ । ‘बुढेसकालले अब त उकालो चढ्न सक्दिनँ । कति दिन यसरी हिँड्नु ? विगतमा घरमै आएर भत्ता दिँदा सजिलो हुने गरेको थियो । अहिले भने गाउँमा बैंक नआउँदा कठिन भएको छ,’ उनले भनिन्, ‘बैंकमा काम ढिला हुँदा कहिले घर आइपुग्न टर्चको सहारा लिनुपर्छ, कहिले झमक्कै रात परेपछि बाटोतिरै वास बस्नुपर्छ ।’
शैल्यशिखर– ४ कै ७० वर्षीया दामा भट्टको समस्या पनि उस्तै छ । भत्ता लिन जान अब कठिन हुँदै गएको उनको भनाइ छ । ‘बैंकमा खाता खोलिएको छ, चेक साट्नुपरे पुग्नै पर्यो । खातामै राख्यो भने घरमा नुनतेल केले गर्ने भन्ने समस्या हुन्छ,’ उनले भनिन् । शैल्यशिखर नगरपालिकाको सबैभन्दा विकट वडा नम्बर ४ हो । यो वडासम्म सडक पहुँच पुगेको छैन ।
मालिकार्जुन गाउँपालिकाभरिका ज्येष्ठ नागरिकलाई पनि अहिले सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या छ । माछापुच्छ्रे बैंक गाउँपालिकामा छ, तर कतिपयलाई त्यहाँ पुग्नै ५–६ घण्टा लाग्छ । ‘सुरुमा बैंक स्थापना हुँदा बैंकले वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सहमति गर्यो,’ वडाध्यक्ष गोकर्णसिंह धामीले भने, ‘अहिले बैंकले ज्येष्ठ नागरिकलाई भत्ताका लागि बैंकमै बोलाउँछ । ९० वर्षभन्दा माथिका वृद्धवृद्धालाई कसरी चार पाँच घन्टा हिँडेर जाऊ भन्नु ।’ ९५ वर्षीय गुमानसिंह थापालाई वडाले सिफारिस गरेर उनकी श्रीमतीलाई भत्ता उपलब्ध गराउन पत्रचार गर्दा पनि बैंकले दिन नमानेको वडाध्यक्ष धामी बताउँछन् । ‘घरनजिकको सरकार भने पनि जनताले झन् बढी दुःख पाउने गरेका छन्,’ उनले भने ।
सुरक्षा भत्ता बैंकमार्फत दिन थालेपछि झन् सकस
सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थालेपछि हरेक स्थानीय तहका केन्द्रमा बैंकका शाखा खुलेका छन् । तर, पहाडी जिल्लाका दुर्गम गाउँमा बसोवास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घन्टौँ पैदल हिँड्नुपर्ने बाध्यता परेको छ । बुढेसकालमा लौरोको सहारामा घन्टौँ हिँड्दा हैरान खेप्नुपरेको वृद्धवृद्धा गुनासो गर्छन् । ‘उमेरले डाँडा काटेपछि हिँड्डुल गर्न कठिन हुन्छ । बुढेसकालको सहारा बनेको भत्ता थाप्न लौरो टेकेर हिँड्नैपर्ने बाध्यता छ,’ शैल्यशिखर– ४ की पार्वती भट्टले भनिन् ।
स्थानीय तह आउनुभन्दा अघि वडासचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए । कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो । यसरी बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको स्थानीय सुनाउँछन् ।
शैल्यशिखर– ४ का वडाध्यक्ष रामसिंह ठगुन्ना वृद्धवृद्धालाई सास्ती नहोस् भनेर कतिपय वेला चेकमा दस्तखत गराएर सम्बन्धित वृद्धवृद्धाको नजिकको मान्छेलाई सिफारिस पठाएर पनि चेक साट्न लगाएको बताउँछन् । ‘हामीले सक्ने प्रयास गरेका छौँ । तर, भौगोलिक विकटता र सडक पहुँच नहुँदा अझै केही समय वृद्धवृद्धालाई हिँड्डुलमा समस्या हुने अवस्था देखिएको छ । बैंकहरूलाई दुर्गम क्षेत्रमा घुम्ती रूपमा भत्ता वितरणका लागि नगरपालिकासँग पहल भइरहेको छ,’ उनले भने ।