विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला रंगशाला दुई अर्बको लागतमा निर्माण हुने भएको छ । दुई वर्षभित्र रंगशालाले पूर्ण आकार पाउने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बताएका हुन् । ‘दुई वर्षको लागतमा गिरिजाप्रसाद कोइराला रंगशाला निर्माण हुनेछ,’ उनले भने । सरकारबाट रंगशाला निर्माणका लागि तीन करोड बजेट विनियोजन भइसकेको छ । रंगशालाको डिपिआर कार्यपछिको दुई वर्षभित्र नै निर्माण सम्पन्न हुने लक्ष्य राखेको उनले बताएका छन् ।
‘दुई वर्षभित्र यहाँ अत्याधुनिक रंगशाला निर्माण हुनेछ,’ मन्त्री लिम्बूले भने । गिरिजाप्रसाद कोइराला रंगशालामा मुख्य गरी क्रिकेट मैदान हुनेछ । स्विमिङ पुल, कभर्डहल, फुटबल मैदानसमेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रंगशाला विशेष किसिमको हुने उनको भनाइ छ । रंगशाला बन्दा यस क्षेत्रका जनताको रोजगारी बढ्ने र जमिनको मूल्य बढ्नाका साथै जीवनस्तरमा पनि सुधार आउने उनको विश्वास रह्यो ।
पूर्वप्रधानमन्त्री कोइरालाको नाममा निर्माण हुन लागेको रंगशालामा बजेट सम्बन्धमा आलोचना नगर्न उनले जनाए । ‘अहिले रंगशालाको शीर्षकमा बजेट थोरै भयो भनी आलोचना नगर्नुस्, निर्माणमा लाग्ने बजेट विनियोजन हुने र यो अत्याधुनिक हुनेछ,’ उनले भने । चीनमा हुने १९औँ एसियाली खेलकुदमा भाग लिन प्रशिक्षणमा रहेका नेपाली खेलाडीले आशा गरेझैँ पदक ल्याउने उनले बताए ।