१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:३६:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय टोलीबाट ज्ञानेन्द्रको सन्न्यास

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३६:oo

सन् २००५ मा यू–१५ क्रिकेट यात्रा सुरु गरेका ज्ञानेन्द्रले युवाहरूलाई मौका दिनुपर्ने जनाउँदै शुक्रबार राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरे

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय क्रिकेट टोलीबाट सन्न्यास लिएका छन् । विगत १८ वर्षदेखि उनी उमेर समूह हुँदै राष्ट्रिय टोलीमा थिए । उनले शुक्रबार बिहानै सबैलाई विशेष उपस्थितिका लागि आग्रह गरेका थिए । नक्सालमा आयोजित पत्रकार सम्मेलनमा लगभग सबैले उनले सन्न्यासको घोषणा गर्ने अनुमान गरिसकेका थिए । कालो टिसर्ट र निधारमा रातो टीका लगाएर हलभित्र छिरेका उनले उपस्थित पत्रकारलाई नमस्कारसँगै सन्चो–बिसन्चोबारे जानकारी लिए । 

त्यसपछि मल्लले लेखिल्याएको विज्ञप्ति पढ्न सुरु गरे । आफ्नो क्रिकेट यात्रा पढ्दै जाँदा उनको अनुहार हँसिलो नै थियो । जब राष्ट्रिय टोलीबाट सन्न्यास लिने लाइनमा उनी पुगे, एकपटक रोकिए । हाँस्दै विज्ञप्ति पढेका उनले भावुक हुँदै भने, ‘आजबाट सन्न्यासको घोषणा गरेँ ।’

सन् २००६ मा आइसिसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध सिनियर टोलीबाट डेब्यु गरेका मल्लले सन्न्यासको उचित समयको प्रतीक्षा गरेको जनाए । ‘मैले राष्ट्रबाट धेरै समय क्रिकेट खेलेँ, सही समय आएको थिएन, आज प्रतीक्षा गरेको क्षण यही नै थियो,’ गम्भीर हुँदै उनले भने । वास्तवमा आसन्न एसिया कपपछि उनले सन्न्यासको योजना बनाएका रहेछन् । तर, पछिल्लोपटक अन्तर्राष्ट्रिय खेलमा खासै राम्रो प्रदर्शन गर्न नसक्दा उनी सिनियर टोलीमा भित्र र बाहिर हुन थाले ।

‘एसिया कपपछि सन्न्यास घोषणा गर्ने योजना थियो, त्यहाँसम्म कुर्न मन लागेन,’ ठट्टा गर्दै उनले भने, ‘आजको समय ठीक लाग्यो र सन्न्यास घोाषण गरेको हुँ । शुक्रबारै उनी लन्डन हिँडेका छन् । नेपाली समुदायले आयोजना गरेको प्रतियोगितामा विशेष अतिथिका रूपमा उनी रहनेछन् । लन्डन जान लागेका कारण नै घरमा टीका थापेर आएको उनले जनाए । ‘लन्डनमा जानुअघि घरमा सगुन लिएँ, यहाँ रातो टीका लगाएरै उपस्थित भएको हुँ,’ उनले भने । 

डिभिजनदेखि एकदिवसीयसम्म
आइसिसीले एसोसिएट राष्ट्रहरूको क्षमताअनुसार डिभिजन खेल आयोजना गरिरहेको छ । नेपालले एकदिवसीय मान्यता प्राप्त गर्नुअघि यही डिभिजनको यात्रा पार गरेको थियो । नेपाल आइसिसी डिभिजन ५ देखि ३ सम्म च्याम्पियन हुँदा उनी महत्वपूर्ण मध्यक्रमका ब्याट्सम्यानका रूपमा थिए । मल्लले आफ्नो क्रिकेट यात्रामा राजु खड्का, विनोद दास, पारस खड्का, सन्दीप लामिछाने र रोहित पौडेलसँग सहकार्य गरेका थिए । टोलीमा निकै सिनियरदेखि भर्खरका जुनियर खेलाडीसम्म घुलमिल हुन सक्ने खुबी भएका मल्लले टी–२० विश्वकप र एकदिवसीय राष्ट्र बनेको क्षण अविस्मरणीय भएको बताउँछन् । 

‘करिअरमा धेरै उतारचढावको सामना गरेँ, यसबीचमा नेपालले बंगलादेशमा सन् २०१४ मा भएको टी–२० विश्वकप खेल्ने र सन् २०१८ मा एकदिवसीय मान्यता पाउँदाको क्षण कहिल्यै पनि बिर्सन सक्दिनँ,’ गौरवपूर्ण क्षणको स्मरण गर्दै उनले भने, ‘आगामी दिनमा ती पलहरू यादका रूपमा रहनेछन् ।’ खेलाडीका रूपमा टेस्ट खेल्ने सपना पूरा नहुँदा दुःख लागेको बताए । ‘मेरो टेस्ट राष्ट्र भएको हेर्ने चाहना थियो, त्यो सफलता प्राप्त गर्न सकिनँ,’ उनी भन्छन्, ‘अब बाँकी समय पनि क्रिकेटभित्रै कुनै न कुनै भूमिकामा देखिनेछु ।’ उनले १० वर्षजति टोलीको उपकप्तानी जिम्मेवारी सम्हाले । 

औसत प्रदर्शनमा खुसी 
राष्ट्रिय टोलीबाट उनको ४ जुलाई २०२३ मा आयरल्यान्डविरुद्धको एकदिवसीय नै अन्तिम रह्यो । उनले ३७ एकदिवसीय खेलमा सात अर्धशतकसहित आठ सय ७६ रन बनाएका छन् । ‘औसतमा मैले कम रन बनाएको हुँ, अन्तर्राष्ट्रिय एकदिवसीयमा शतक बनाउन सकिनँ,’ उनले भने, ‘यो प्रदर्शनबाट सन्तुष्ट छु ।’ सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीयमा उनले ५१ रनको इनिङ्स खेले । नेपालबाट एकदिवसीय खेलमा पहिलोे अर्धशतक बनाउने उनी पहिलो ब्याट्सम्यान हुन् । अन्तर्राष्ट्रिय टी–२० मा ४५ खेल  खेल्दा एक शतक र दुई अर्धशतकसहित उनले आठ सय ८३ रन बनाए । 

सन् २०१९ डिसेम्बरमा कीर्तिपुर मैदानमा भुटानविरुद्ध एक सय सात रन बनाएका थिए । नेपालबाट टी–२० मा उनले मलेसियाविरुद्ध २० बलमै अर्धशतक बनाएका थिए । सन् २००९ मा हङकङविरुद्ध डेब्यु गरेका ज्ञानेन्द्रले सन् २०२२ मा केन्याविरुद्ध अन्तिम खेल खेलेका थिए । पछिल्लो समय भने ज्ञानेन्द्र वैकल्पिक खेलाडीका रूपमा रहे । 

युवा टोलीलाई मौका
जब अन्तर्राष्ट्रिय खेलमा उनको ब्याटिङ चल्न सकेन, त्यसवेला आलोचकहरूले सन्न्यास लिनुपर्ने र युवालाई मौका दिनुपर्ने दबाब दिए । यद्यपि, नेपाली टोलीमा उनका समकक्षी र अनभुवी सिनियर खेलाडी नहुँदा उनी मात्र एक्लो थिए । तर, युवा पुस्तासँगै सहकार्य गर्दै आफ्नो करिअरलाई उनले अगाडि बढाए । यद्यपि, भित्री रूपमा युवा खेलाडीलाई मौका दिनुपर्ने र सहजै क्रिकेट छाड्नुपर्ने दबाबको सामना उनले नगरेका होइनन् । पत्रकार सम्मेलनमा मल्लले युवाहरूलाई मौका दिनुपर्ने जनाउँदै सन्न्यास लिएको बताए । ‘अहिले प्रतिभावान् युवा खेलाडीको बढ्दो आगमन भइरहेको छ, उनीहरूलाई मौका दिनुपर्‍यो,’ हाँस्दै भने, ‘सम्भवतः राष्ट्रिय टोलीमा मेरो ड्युटी पनि पूरा गरेजस्तो लाग्छ ।’ मल्लले कप्तान पौडेल, प्रशिक्षक मोन्टी देसाईसँगै नेपाल क्रिकेट संघ (क्यान)लाई सन्न्यासको जानकारी गराएका छन् । यी पक्षलाई पूर्ण रूपमा जानकारी दिँदै उनले पत्रकार सम्मेलन गरेका हुन् । 

संयोग १९ साउन
१९ साउन कस्तो संयोग रह्यो भने आजकै दिनमा पारस खड्काले पनि सन्न्यास लिएका थिए । ०७८ साल १९ साउनमा खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । ‘पारसले सन्न्यास लिएको दिन नै घोषणा गर्नु भन्ने थिएन, यो केवल संयोग मात्र मिलेको हो,’ नयाँ पत्रिकासँग उनले मुस्कुराउँदै भने । पत्रकार सम्मेलनपछि खड्काले पनि लामो समयदेखिका पूर्वसहकर्मीलाई अँगालो हाल्दै बधाई दिए । खड्काले सन्न्यास लिँदा उनी उपकप्तान थिए । त्यसपछि उनको कप्तानीमा नेपालले १२ खेलमा नौ जित र तीन हार सामना गरेको थियो । एकदिवसीयमा नेपालले १० खेल खेल्दा ६ जित र चार हार नतिजा निकालेको छ । ०७८ मंसिर २८ मा खेलाडी वर्गीकरणमा असन्तुष्ट जनाउँदै मिडियामा बोलेका कारण क्यानले उनलाई कारबाही गर्दै कप्तानबाट हटाएको थियो । 

 

ad
ad