Skip This
मुख्यमन्त्री थापाको शपथ ५ बजे, सभामुखबाट राजीनामा दिएका गौतम पनि मन्त्री बन्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o८o श्रावण १७ बुधबार ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री थापाको शपथ ५ बजे, सभामुखबाट राजीनामा दिएका गौतम पनि मन्त्री बन्दै

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार ११:४३:oo

कोसी प्रदेशमा दोस्रोपटक छैटाैँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका उद्धव थापाले आज अपराह्न ५ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन्।

उनले राजीनामा दिएर बहुमतको सरकार गठन गर्न सहयोग गरेका निवर्तमान सभामुख बाबुराम गौतमलाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

प्रदेश प्रमुखको कार्यालय विराटनगरका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार आज अपराह्न ५ बजे प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको जानकारी गराए।

मुख्यमन्त्री थापाले पुनर्जीवित गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट आजै एक–एकजना मन्त्री नियुक्त्त गर्ने तयारी गरेका छन्। पुनर्जीवित गठबन्धनबाट २१ असारमा मुख्यमन्त्री बनेका थापालाई सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गराएको अरोपमा सर्वोच्च अदालतले ११ साउनमा पदमुक्त गरेको थियो। 

अदालतकै आदेशअनुसार प्रदेश प्रमुखले फेरि बहुमत पुर्‍याएर आएका थापालाई १६ साउनमा पुन: मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। गठबन्धनको बहुमतको सरकार गठनका लागि  कोसी प्रदेश सभाका सभामुख बाबुराम गौतमले १६ साउनमै पदबाट राजीनामा दिएर सरकार गठनका लागि सघाएका थिए। 

कोसीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको ४७ जना सांसद रहेको झिनो बहुमतको सरकार गठन भएको छ। ९३ जना सांसद रहेको कोसी प्रदेशमा  बहुमतको सरकारका लागि जम्मा ४७ जना सांसद आवश्यक पर्छ। 

यहाँ एमालेको ४० र राप्रपाका ६ जना सांसद छन्। पुनर्जीवित गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजादीका चार र जसपाका एकजना सांसद छन्। 

कोसी प्रदेश सभाको दोस्रो कार्यकालमा माओवादी, राप्रपा र जसपाको गठबन्धनबाट २४ पुस ०७९ मा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। तर, कोसी प्रदेश नामकरणको विवादपछि माओवादी केन्द्र र जसपा गठबन्धनबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले १५ असारमा विश्वासको मत गुमाएका थिए।