Skip This
हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Friday, 26 July, 2024
२o८o श्रावण १६ मंगलबार १३:२o:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार १३:२o:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग उठेको छ।

मकवानपुरस्थित कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको संयुक्त जिल्लास्तरीय समितिले हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग अघि सारेको हो। सोमबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै समितिले गरेको दुई महिनाको अध्ययनका आधारमा आफूहरू यस्तो निर्णयमा पुगेको समितिका संयोजकसमेत रहेका कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले बताए।

उनले हेटौँडा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्दै लैजानुपर्ने ठाउँमा प्रतिष्ठानको मातहतमा लगेर अस्पतालको अस्तित्व नै संकटमा पार्न खोजिएको दाबी गरे ।

‘विगतमा नेपाल सरकारबाट भएको निर्णय कार्यान्वयन गर्दै हेटौँडा अस्पताललाई तीन सय बेडमा स्तरोन्नति गरी दरबन्दी कायम गर्नुपर्ने ठाउँमा प्रतिष्ठानमातहतमा लगेर यसको अस्तित्व नै संकटमा पार्न खोजिएको देखियो । त्यसकारण प्रदेश सभाबाट पास गरिएको प्रतिष्ठानको ऐनमा हेटौँडा अस्पतालसँग जोडिएका विषयहरू सबै खारेज गर्न हामी प्रदेश सरकारसँग माग गर्दछौँ,’ उनले भने।

सचिव महतले मदन भण्डारी विज्ञान प्रतिष्ठानको आफ्नै अस्पताल निर्माण नहुँदासम्म हेटौँडा अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न भने सकिने बताए । उनले यसका लागि प्रदेश सरकारलाई प्रतिष्ठानका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउनेदेखि पूर्वाधार निर्माणमा समेत सहयोग गर्न सुझाव दिए।

‘प्रतिष्ठानलाई आवश्यक पर्ने जग्गा, पूर्वाधारको विकासमा प्रदेश सरकारको सहयोगका लागि हामी पनि आग्रह गर्छौँ । यथाशीघ्र प्रदेश सरकारले ती कुरालाई पूरा गर्नुपर्छ । प्रतिष्ठानले पूर्णता पाउँदा हेटौँडावासीलाई नै फाइदा पुग्ने भएकाले यस विषयमा पनि हामी गम्भीर छौँ,’ सचिव महतले भने।

समितिका सदस्य एवं एकीकृत समाजवादीका जिल्ला सचिव ध्रुव भुजेलले समितिमार्फत प्रतिष्ठान र अस्पतालका विषयमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान र स्वास्थ्यमन्त्री उत्तम जोशीलाई जानकारी गराइसकिएको बताए।

उनले बागमती प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ता भइसकेपछि स्थापना भएको मधेसमा एमबिबिएस पढाइ सञ्चालन भइसकेको उल्लेख गर्दै बागमती प्रदेशमा ढिलाइ हुनुका कारणबारे प्रश्न गरेका थिए। उनले प्रतिष्ठानलाई आफ्नो उद्देश्यअनुरूपको काम अगाडि बढाउन आग्रह गर्दै हेटौँडा अस्पताललाई भने स्वतन्त्र छोड्नुपर्ने सुझाव दिए।

कांग्रेसका सचिव महत संयोजक रहेको जिल्लास्तरीय समितिमा माओवादी केन्द्रका सचिव भीम पाख्रिन, एकीकृत समाजवादीका सचिव ध्रुव भुजेल र विज्ञ सदस्यको रूपमा हेटौँडा अस्पतालका निवर्तमान अध्यक्ष प्रकाश पौडेल रहेका छन्।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पालामा प्रतिष्ठान स्थापना गरी हेटौँडा अस्पताललाई प्रतिष्ठानमातहतमा सञ्चालन गरिएको थियो।