१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २० बिहीबार १९:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

मधेस सरकार छैटौँपटक पुनर्गठन, अझै पूर्णता पाउन सकेन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:५o:oo

मधेस सरकार छैटौँपटक पुनर्गठन भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले सोमबार दुई मन्त्रीलाई नियुक्त गरेसँगै मधेस सरकार छैटौँपटक पुनर्गठन भएको हो। 

६ दलीय गठबन्धनबीच मन्त्रालयको विवाद हुँदा पटक-पटक पुनर्गठन भए पनि लामो समयदेखि मधेस सरकारले पूर्णता पाउन सकेको छैन। मधेसमा कांग्रेस, जसपा, माओवादी, जनमत, लोसपा र एकीकृत समाजवादीको गठबन्धन सरकार छ।

सोमबार सप्तरीबाट निर्वाचित कांग्रेसका सांसद मोहम्मद समिम गृह सञ्चार तथा कानुन र जनमत पार्टीका समानुपातिक सांसद चन्दन सिंह श्रम तथा यातायातमन्त्री नियुक्त भए। सोमबारै उनीहरूले पद तथा गोपनीयताको शपथ लिए। नवनियुक्त मन्त्रीहरूलाई प्रदेशप्रमुख मिश्रले पद तथा गोपनीयताको शपथ गराए।

विनाविभागीय राज्यमन्त्री रहेका शेष अबुल कलाम अजादले सोमबारै ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। प्रदेश सरकारमा सुरिता साह अझै विनाविभागीयमन्त्री छिन्। उनी यसअघि सामाजिक विकास राज्यमन्त्री थिइन्। केही दिनअघि मात्रै उनलाई मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरिएको थियो। 

सोमबार नै जनमत पार्टीबाट सरकारमा सामेल विना विभागीयमन्त्री वसन्त कुश्वाहा र राज्यमन्त्री संजय यादवले राजीनामा दिएका थिए। कुशवाहा र यादवलाई सुरुमा भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो। तर सत्ता समीकरण फेरिएपछि उनीहरूलाई विनाविभागीय बनाइएको थियो। 

यसैबीच, मुख्यमन्त्री यादवले मन्त्रालय टुक्र्याएर भए पनि साहलाई जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाइ छ। सुरुमा विनाविभागीयमन्त्री बनाइएकी साहलाई श्रम तथा यातायात मन्त्रालय दिने मुख्यमन्त्रीले तयारी गरेका थिए। तर, जनमत पार्टीले सहमतिअनुसार दुईवटा मन्त्रालय आफूहरूले पाउनुपर्ने अडान राखेपछि श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सिंहलाई तोकिएको हो।

स्रोतका अनुसार शिक्षा तथा समाजकल्याण र श्रम तथा यातायात मन्त्रालयलाई फुटाएर थप एक मन्त्रालय बनाउने सरकारको तयारी छ। 

ad
ad