Skip This
हामी र हाम्रा आफन्तको अपराधमा संलग्नता भए जेल जान तयार हुनुपर्छ : वर्षमान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १५ सोमबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १५ सोमबार १२:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हामी र हाम्रा आफन्तको अपराधमा संलग्नता भए जेल जान तयार हुनुपर्छ : वर्षमान

सुन तस्करीको छानबिनका लागि संसदीय समिति गठन गर्न प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार १२:३३:oo

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका छन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर बोल्दै पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति हुन नहुने बताए। 

सरकारको भ्रष्टाचारविरोधी अभियान सही रहेको भन्दै उनले त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको उल्लेख गरे। पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारे।

सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रूपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको टिप्पणी उनले गरे।

आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी सहिद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रस्टीकरण पुनले दिए। ‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो,’ पुनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्रहत्या हो।’ 

पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको तथा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिनको माग गरे। 

उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरू नेता पनि तयार हुनुपर्ने बताए । त्यस प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन माग गरे।

 ‘अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाए हुन्छ यो प्रकरणको छानबिन हुनैपर्छ,’ पुनले भने, ‘हामी नेताहरू, हाम्रा आफन्तहरू  वा जस–जसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ।’

यस्ता प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुने पुनको भनाइ थियो। ‘तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन,’ उनले भने, ‘देशद्रोहमा संलग्न जोकोही भए पनि उन्मुक्ति दिन हुँदैन, म नै किन नहोउँ।’ 

पुनले पार्टीबाहिर वा भित्र अमूक व्यक्ति वा एक निकायको नाम जोडिँदैमा अर्को पक्षले अपराधीकरण गर्ने प्रवृत्ति सह्य नहुने बताए। पुनपछि बोलेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले तस्करी र भ्रष्टाचारका सबै घटनाको निष्पक्ष छानबिन हुने जवाफ दिए। 

सुन तस्करी प्रकरणमा आफ्नो कार्यालयमातहतको राजस्व अनुसन्धान विभाग र प्रहरीको अपराध अनुसन्धानमा पोख्त टिमले छानबिन गरिरहेको भन्दै उनले यो अभियानलाई निष्कर्षमा पुर्‍याउन पार्टीका सबै नेता, कार्यकर्ता र आमजनताको सहयोग जरुरी रहेको उल्लेख गरे। 

भ्रष्टाचार र अनियमितताविराेधी अभियान निष्कर्षमा पुर्‍याउन पार्टीभित्र आन्तरिक एकता मजबुत हुनुपर्ने उनको भनाइ थियो।