१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाललाई टाइब्रेकरमा मैत्रीपूर्ण उपाधि

बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै महिला फुटबल टोलीले दुई मैत्रीपूर्ण खेलको शृंखला जित्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५८:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै दुई मैत्रीपूर्ण खेलको शृंखला जितेको छ । फिफा डेमा आयोजना भएको मैत्रीपूर्ण खेलको दुईवटै खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका थिए । पहिलो खेल १–१ को बराबरी भयो । आइतबार दोस्रो खेलको निर्धारित ९० मिनेटमा समेत नतिजा नआएपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको हो । ढाकास्थित कमल मैदानमा टाइब्रेकरमा उपाधि हात पार्दा नेपालकी गोलरक्षक अञ्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । 

उनी नेपालकी दोस्रो रोजाइकी गोलरक्षक हुन् । खेलको अन्तिम इन्जुरी समयमा उनी मैदान प्रवेश गरेकी थिइन् । अञ्जनाले कप्तान तथा नियमित गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई विस्थापन गरेकी थिइन् । टाइब्रेकरमा उनले बंगलादेशका मारिया मण्डा र सेइली अजिमको प्रहार बचाएपछि नेपालको उपाधि लगभग पक्का भएको थियो । बंगलादेशबाट साम्सुनार र मोनिका चक्माले मात्रै गोल गरे । 

नेपालबाट सावित्रा भण्डारी, हिराकुमारी भुजेल, दीपा शाही र अनिता केसीले गोल गरेका थिए । नेपालका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिलाको कप्तानीमा अनिता केसी, अनिता बस्नेत र रश्मिकुमारी घिसिङलाई पहिलो ११ मा अवसर दिएका थिए । नियमित कप्तान रेनुका नगरकोटे, प्रीति राई र अमिषा कार्की बेन्चमा रहे । उपाधि जितेपछि प्रशिक्षक थापाले दुई मैत्रीपूर्ण खेलबाट खेलाडीले राम्रो अनुभव बटुलेको बताएका छन् । ‘बंगलादेशलाई घरेलु मैदानमा हराउँदै उपाधि जित्न सफल भएका छौँ,’ थापाले भने, ‘दुई खेलबाट निकै राम्रो अनुभव बटुल्न पायौँ ।’ 

थापाले ६ असोजमा चीनमा हुने १९औँ एसियन खेलकुद प्रतियोगिताका लागि मैत्रीपूर्ण खेलले धेरै सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । ‘१९औँ एसियन खेलकुदका लागि हामीले राम्रो तयारी गरेका छौँ,’ उनले भने, ‘साफ च्याम्पियन टोलीलाई हराएका छौँ ।’ गत वर्षको असोजमा काठमाडौंमा भएको दक्षिण एसियाली महिला फुटबल (साफ)को फाइनलमा बंगलादेशसँग बेहोरेको हारको बदला पूरा भएको प्रशिक्षक थापाले बताए । ‘साफ फाइनलमा बेहोरेको हारको बदला लिन सक्यौँ, अझ योभन्दा राम्रो तयारी हुँदा अर्काे साफ च्याम्पियनसिपमा हामीले उपाधि दाबेदारी दिन सक्छौँ ।’ 

६ खेलपछि जित
९ महिनाअघि नेपालले दशरथ रंगशालामा साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई हराएको थियो । साफपछिको नौ महिनामा नेपालले ६ खेलपछि जित निकालेको छ । साफपछि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । गत फागुनको पहिलो साता भएको भारतसँगको खेलमा नेपालले बराबरी नतिजा निकालेको थियो । पहिलो खेल २–२ गोलको बराबरीमा सकिँदा नेपालले भारतलाई दोस्रो खेल गोलरहित बराबरीमा रोकेको थियो । नेपालले चैतमा दशरथ रंगशालामा भियतनामसँग दुई खेल खेल्यो । ओलम्पिक छनोटका लागि भएको दुवै खेलमा नेपाल पराजित भयो । पहिलो खेल ५–१ ले हारेको नेपालले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्दै २–० को सम्माजनक हार बेहोरेको हो । 

ad
ad