१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २९ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o असार २९ शुक्रबार १८:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मनहरीका १८ विद्यालयका प्रअले दिए सामूहिक राजीनामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २९ शुक्रबार १८:३३:oo

मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेहरूमा मनहरी गाउँपालिकाभित्र रहेका १७ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका १८ जना प्रधानाध्यापक छन्। प्रधानाध्यापकले दिएको सामूहिक राजीनामा साउन १ गतेबाट लागू हुने गरी दिइएको पत्रमा उल्लेख गरिएको छ।

‘हामी कार्यरत प्रअहरूको कस्तो दोष र कसुरमा दण्डित हुनुपर्ने हो ? सहमतिविपरीतको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूलाई काम गर्ने मनोबलसमेत कमजोर भइरहेको परिस्थिति छ,’ राजीनामापत्रमा उल्लेख छ।

विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले विनाकारण प्रधानाध्यापकहरूको सरुवा गर्न खोजेपछि सामूहिक रूपमा राजीनामा दिन बाध्य भएको एक प्रधानाध्यापकले बताए। 

उनले पालिकाले विद्यालय सुधारका लागि योग्य, सक्षम र क्षमतावान् शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न सकोस् भनेर आफूहरूले राजीनामा दिएको बताए।

प्रधानाध्यापकहरूले लिखित रूपमा हस्ताक्षरसहित राजीनामा दिएका छन्। उनीहरूले पालिकाले विद्यालयको गुणस्तर सुधारका लागि गर्नुपर्ने अन्य कामभन्दा प्रधानाध्यापकहरूको सरुवा गर्नतिर लागेको आरोप लगाएका छन्।

‘विद्यालयका शिक्षकहरूको क्षमता विकास, शिक्षण सिकाइमा प्रविधिको प्रयोगतर्फ पालिकाले काम गर्नुपर्ने थियो, तर पालिका अनावश्यक राजनीति गर्नतिर लागेको छ । यसले पालिकाको शैक्षिकस्तर झनै ओरालो लाग्छ,’ नाम नबताउने सर्तमा एक शिक्षकले भने।

उनले प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने नछाड्ने बताए। ‘हामीले प्रअबाट मात्रै राजीनामा दिएका हौँ। पढाउन छोडेका छैनौँ। त्यसकारण पालिकाले जुन विद्यालयमा सरुवा गरे पनि आफूहरूको काम पढाउने भएकाले त्यहाँ गएर पढाउँछौँ,’ उनले भने।

यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए। उनले शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे।

‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो। हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ। प्रधानाध्यापकहरूलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ । उहाँहरूले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ,’ अध्यक्ष कालाखेतीले स्पष्ट पारे।

पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकहरूलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कृत र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पुर्‍याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए। 

‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ। यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो। सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ। तर, कसैले मान्दिनँ भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौँ,’ अध्यक्ष कालाखेतीले भने।