१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २८ बिहीबार
  • Friday, 09 May, 2025
२o८o असार २८ बिहीबार २१:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाको संख्या घटाउने सरकारको कुनै सोच छैन : उपप्रधानमन्त्री खड्का

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २८ बिहीबार २१:३५:oo

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको संख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पारेका छन् । 

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०८० को छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भने, ‘मुलुकको आवश्यकता, तत्कालीन परिस्थिति, मुलुक र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको संख्या निर्धारण भएको हो । भविष्यमा पनि सोही सिद्धान्तका आधारमा संख्या निर्धारण हुनेछ ।’

रक्षामन्त्री खड्काले हाल नेपाली सेना विभिन्न काममा पूर्ण रूपमा जिम्मेवारीका साथ सक्रिय रूपमा लागेको स्पष्ट पारे । नेपाली सेनाको संख्यालाई उच्चतम उपयोग गरी मुलुकको विकास र उन्नति तथा प्रगतिमा खटाइएको उनको भनाइ छ । 

‘नेपाली सेना, संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सीमा सुरक्षा एवं भौगोलिक अखण्डता रक्षाका कार्यमा सदैव क्रियाशील रहेकोप्रति सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘कुनै पनि देशको सेनाको संख्या उक्त देशको भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेश र समय–समयमा मुलुकको आवश्यकताअनुसार निर्धारण हुने गर्छ ।’

उनले नेपाली सेनाको संख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारको निर्णयबमोजिम निर्धारण हुनेसमेत स्पष्ट पारे । साथै, नेपाली सेनाले संविधान तथा अन्य कानुनले दिएको जिम्मेवारी, सरकारले समय–समयमा दिने जिम्मेवारी, अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनाका गर्ने कार्यलगायत विभिन्न जिम्मेवारीका पनि प्रभावकारी र जिम्मेवारपूर्वक निर्वाह गरेको बताए । 

उनले भने, ‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ । त्यो वेलासम्म हाम्रो मुलुकको रक्षाका लागि, भौलोगिक अखण्डताका लागि, सीमा रक्षाका लागि नेपालीसँगै नेपाली सेना पूर्ण रूपमा प्रतिबद्ध छ । प्रतिकूल अवस्थालाई अनुकूलतामा परिणत गर्दै नेपाली सेनाले आफ्नो भूमिका अत्यन्तै अनुशासित रूपमा निर्वाह गर्दैै आएको छ ।’

उनले हाल नेपाली सेनाको दरबन्दी ९६ हजार चार सय ७७ भए पनि हाल ८१ हजार दुई सय ७७ संख्या कायम रहेको बताए । जसमध्ये ७४ हजार पाँच सय पाँच पुरुष र ६ हजार सात सय ७२ महिला छन् ।