१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १४:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देशको प्रतिरक्षा र कूटनीतिक सम्बन्धबारे बोल्दा संयमता अपनाउन परराष्ट्रमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:१७:oo

परराष्ट्रमन्त्री एनपी साउदले विभिन्न देशहरूसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

‘माननीय सदस्यहरूले सम्मानित सदनमा व्यक्त गर्नुभएका विचारहरू सरकारका लागि मार्गनिर्देशन हुने कुरा स्पष्ट गर्न चाहन्छु,’ मन्त्री साउदले भने, ‘तर, विभिन्न देशहरूसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाजस्ता विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गर्दछु।’

नेपालले परिपक्वताका साथ असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको स्पष्ट पार्दै उनले सबै देशसँग नेपालको सम्बन्ध समधुर रहेको बताए। गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्वतन्त्र धारणा बनाउने नेपालको कूटनीतिक प्रयास भएको उनको भनाइ थियो। ‘गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा बनाउने, मतदान गर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई न्यायपूर्ण, निष्पक्ष, उत्तरदायी र सहयोगात्मक बनाउने दिशामा नेपालको कूटनीतिक प्रयास उन्मुख छ,’ मन्त्री साउदले भने।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री विमला पौड्याल राईले ‘नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि’ भन्ने जिज्ञासा राखेकी थिइन्।

त्यसको जवाफमा परराष्ट्रमन्त्री साउदले भने, ‘परराष्ट्र नीति सञ्चालनका मूलभूत आधार नेपालको संविधानले निर्दिष्ट गरेको छ र असंलग्नता ती आधारहरूमध्ये एक प्रमुख आधार रहिआएको छ। नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकीलगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्दै आएको छ।’

ad
ad