१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बंगलादेशलाई हराउने नेपालको योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४४:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार घरेलु टोली बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । ढाकाको मुस्तफा कमल रंगशालामा नेपालले गत असोजमा सामना गरेको हारको बदला लिने लक्ष्य राखेको छ । बंगलादेशले नेपालमाथिको दबदबा कायम राख्ने योजनाका साथ प्रतिस्पर्धा गर्नेछ ।

गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाल नौ महिनाअघि दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिप फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो । नेपालका मुख्य प्रशिक्षक अनन्तराज थापाले खेलाडीहरूको नियमित प्रशिक्षणका कारण बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने बताए । 

पाँच महिनादेखि प्रशिक्षण 
प्रशिक्षक थापाले लगातार पाँच महिनादेखि खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । मैत्रीपूर्ण खेलअघि बुधबार आयोजना भएको पत्रकार सम्मेलनमा थापाले राम्रो तयारीका साथ आएको बताए । ‘यसपटक हामी राम्रो तयारीका साथ बंगलादेश आएका छौँ,’ उनले भने, ‘नियमित प्रशिक्षणका कारण खेलाडीमा आत्मविश्वास छ ।’ मुख्य स्ट्राइकर सावित्रा भण्डारीको आगमनले टोलीको मनोबल उच्च भएको उनले बताए । ‘सावित्राको आगमनले पनि खेलाडीमा उत्साह बढेको छ,’ थापाले भने, ‘यद्यपि, बंगलादेश कमजोर टोली होइन, तर हामी नतिजा हाम्रो पक्षमा ल्याउने प्रयासमा छौँ ।’ 

कप्तान एन्जिलाले बंगलादेशलाई कमजोर रूपमा नलिएको बताइन् । ‘यसअघिको नतिजालाई बिर्सेर अगाडि बढ्नुपर्छ,’ उनले भनिन्, ‘अहिले हामीसँग सावित्रा पनि छ ।’ घरेलु टोलीविरुद्ध राम्रो फुटबल खेल्ने उनले बताइन् । साफ च्याम्पियनसिपको फाइनलमा सावित्रा डेंगुबाट ग्रसित हुँदा सेमिफाइनल गुमाएकी थिइन् । बंगलादेशसँगको फाइनलमा दोस्रो हाफमा मैदान प्रवेश गरेकी सावित्राले केही गर्न सकिनन् । सावित्रा भियतनाम र भारतसँग भएका पछिल्लो दुवै खेलमा उपलब्ध थिइन् । 

तीन खेलाडीको पुनरागमन
नेपाली टोलीमा रक्षक गीता राना र मिडफिल्डर प्रीति राईले पुनरागमन गरेका छन् । यसअघि यी दुवै खेलाडी चोटका कारण टोलीमा थिएनन् । गीताले भारतसँगको दुई मैत्रीपूर्ण खेलमा चोट बोकेपछि बाहिर रहिन् । प्रीति घुँडाको शल्यक्रियापछि फर्किएकी हुन् । अन्जिला वाइबाले नेपाली सेनाको मिसन सकाएर पाँच वर्षपछि स्थान बनाइन् । एन्जिला र सावित्रासँगै गोलरक्षक अञ्जना रानामगर र उषा नाथ छन् । रक्षकमा अमृता जैसी, गीता, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, अञ्चला र समीक्षा घिमिरेले स्थान बनाएका हुन् । मिडफिल्डरमा सरु लिम्बू, रेनुका नगरकोटे, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सविता रानामगर र अनिता केसी हुँदा नेपाल बलियो देखिन्छ । स्ट्राइकरमा सावित्रासँगै रश्मि कुमारी, अमिषा कार्की र रेखा पौडेलले स्थान पक्का गरेका छन् ।

नेपाललाई हल्का नलिने 
बंगलादेश मुख्य स्ट्राइकर सविना खातुनको कप्तानीमा खेल्नेछ । साफ जित्ने टोलीका प्रशिक्षक गोलान रोबान्नी छोटानले टोली छाडेका छन् । स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकी खातुन टोलीमा छैनन् । नयाँ प्रशिक्षक मोहबुबुर रहमन लिटुले नेपाल बलियो रहेको र हल्का रूपमा नलिने बताएका छन् । ‘साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भए पनि बलियो टोली थियो,’ उनले भने, ‘यसपटक नेपाल हारको बदला लिने प्रयासमा हुनेछ ।’

नेपालको तयारी राम्रो भएको उनले जनाए । ‘नेपालले मैत्रीपूर्ण खेलका लागि राम्रो तयारी गरेको छ, यसकारण हामीले हल्का रूपमा लिन हुँदैन,’ प्रशिक्षक लिटुले भने, ‘हामी उत्कृष्ट खेल प्रस्तुत गर्नेछौँ ।’ कप्तान सविनाले पहिला र अहिलेको टोलीमा धेरै फरक रहेको बताइन् । ‘साफपछि हामीले आठ महिना खेल्न पाएनौँ,’ उनले भनिन्, ‘नेपाली खेलाडीले निरन्तर रूपमा प्रशिक्षण र खेल खेलिरहेका छन्, यसकारण उनीहरू बलिया नै छन् ।’ 

ad
ad