१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:३४:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ग्लोबल विश्वकप छनोट : कस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन ?

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३४:oo

जिम्बावेमा एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा सहभागी भएर नेपाली टोली शुक्रबार फर्केको छ । पहिलोपटक ग्लोबल छनोटमा पुगेको नेपाल १० राष्ट्रको सहभागी प्रतियोगितामा आठौँ स्थानमा रह्यो । यसक्रममा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डजस्ता टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर पायो । नेपालले समूह चरणमा अमेरिका र प्ले अफमा युएईलाई मात्र हराएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले जिम्बावेमा लक्ष्य प्राप्त नभएको प्रतिक्रिया दिएका छन् । ‘हामी जिम्बावेमा जुन लक्ष्य प्राप्तिका लागि गएका थियौँ, त्यो हासिल भएन,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भने, ‘तर, त्यहाँ हामीले धेरै कुरा सिक्न पायौँ ।’ टेस्ट राष्ट्रसँग खेल्दा नेपाली टोलीले राम्रो ‘एक्सपोजर’ पाएको रोहितको भनाइ छ । 

‘टेस्ट टोलीविरुद्ध प्रतिस्पर्धा गर्न पाउँदाको क्षण एकदमै राम्रो थियो, उनीहरू अरूजस्तो प्रतिद्वन्द्वी होइनन्, बलिया टोलीलाई जित्न सबै पक्षमा राम्रो गर्नुपर्छ,’ अनुभव बाँड्दै उनले भने, ‘हामीले हरेक खेलमा एक वा दुई गल्ती गरेका थियौँ ।’ जिम्बावेसँगको खेलमा ओपनर कुशल ९९ रनमा आउट हुँदा सबै निराश बनेको उनले बताए । ‘कुशल ९९ रनमा आउट हुँदा नराम्रो अनुभव भयो, उनले शतक बनाउलान् भनी हामी ताली बजाउने प्रतीक्षामा थियौँ, त्यो योर्कर फ्याँकेपछि केही सोच्न पाएनौँ,’ उनले भने, ‘उसको ऐतिहासिक क्षणलाई हामी सबैले मिस गर्‍यौँ ।’ आयरल्यान्डसँगको खेलको नतिजा नेपालकै पक्षमा आइसकेको उनले जनाए । ‘सो खेलमा हामीले महत्वपूर्ण समयमा क्याच लिन सकेनौँ, हारको कारण त्यही थियो,’ उनले भने । समग्रमा आइसिसीको तथ्यांकअनुसार नेपाली खेलाडीले गरेको प्रदर्शन यस्तो छ :

गुल्सन झा

खेल : ६, इनिङ्स : ६, विकेट : ८, उत्कृष्ट : ५२/३
नेपाली खेलाडीमध्ये ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गर्नेमा गुल्सन सबैभन्दा अगाडि पर्छन् ।

विपक्षी टोलीविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गर्नु मुख्य जिम्मेवारी भए पनि गुल्सनले ब्याटिङमा समेत आफूलाई प्रमाणित गरेका छन् । बलिङमा उनले ६ खेलमा आठ विकेट लिए ।

अमेरिकासँगको खेलमा उनले ५२ रन खर्चेर तीन विकेट लिए । पाँच इनिङ्स ब्याटिङ गरेका उनले एक सय ३९ रन बटुले । उनी एकपटक नटआउट रहे । आयरल्यान्डसँगको प्रतिस्पर्धामा उनले ५७ रन बटुले । 

भीम सार्की
खेल : ६, इनिङ्स : ६, रन : १२२, चौका : ९

मध्यक्रममा भीमले आफूलाई विस्फोटक ब्याट्सम्यानका रूपमा परिचित गराएका छन् । उनको यो छवि जिम्बावेमा समेत रह्यो । ६ खेलमा भीमले एक सय २२ रन बनाए ।

नेपाली खेलाडीमध्ये व्यक्तिगत धेरै रन बनाउनेमा उनी पाँचौँ स्थानमा छन् । प्रतियोगितामा उनले नौ चौका र एक छक्का प्रहार गरे ।

समूह ‘ए’मा उनले अमेरिकाविरुद्ध सर्वाधिक ७७ रनको योगदान गरे । उनले आयरल्यान्डविरुद्ध २० रन र नेदरल्यान्ड्सविरुद्ध २२ रन जोडे । 

ललित राजवंशी
खेल : ३, इनिङ्स : ३, विकेट : ४, उत्कृष्ट : ५२/३

आइसिसीले ग्लोबल छनोटमा एकदिवसीय मान्यताप्राप्त खेलको मात्र तथ्यांक समावेश गर्दा ललितले तीन खेलमा चार विकेट लिए ।

कुल २४ ओभर बलिङ गरेका उनले वेस्ट इन्डिजसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस खेलमा उनले तीन विकेट लिन ५२ रन खर्चेका थिए ।

अमेरिकासँगको प्रतिस्पर्धामा उनले २० रन खर्चेर एक विकेट हात पारे । नेदरल्यान्ड्सको खेलमा विकेटविहीन रहँदा उनले ३४ रन खर्चे ।

कुशल भुर्तेल
खेल : ६, इनिङ्स : ६, रन : २१३, चौका : २६

एकदिवसीय ग्लोबल छनोटमा ओपनर कुशलले जिम्बावेविरुद्धको खेलमा दमदार प्रदर्शन गरे । नेपाली क्रिकेट इतिहासमा एकदिवसीय खेलमा दुई शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यानबाट उनी एक रनले चुके ।

टेस्ट राष्ट्र जिम्बावेसँगको खेलमा उनी ९९ रनमा बोल्ड भए । उनी उत्कृष्ट फर्ममा रहेको संकेत आयोजक राष्ट्रविरुद्धबाट देखाएका थिए । छनोटमा नेपाली ब्याट्सम्यानमध्ये सर्वाधिक रन प्रहार गर्नेमा उनी शीर्ष स्थानमा रहे ।

समग्रमा धेरै रन बटुल्ने खेलाडीको सूचीमा उनी २३औँ स्थानमा छन् । नेपालबाट खेलेका ६ वटै इनिङ्समा ब्याटिङ गरेका कुशलले दुई सय १३ रन जोडे । उनले ७७.४५ को स्ट्राइकमा ब्याटिङ गरे । 

सन्दीप लामिछाने
खेल : ६, इनिङ्स : ६, विकेट : ७, उत्कृष्ट : २३/३

सन्दीप सुरुवाती क्रममा विकेटविहीन भए । वेस्ट इन्डिजसँगको खेलपछि उनले विकेट लिँदै गए । ग्लोबल छनोटमा ६ खेलमा सात विकेट लिए पनि उनी नेपाली बलरमध्ये खर्चिलो देखिए । सन्दीपले समग्रमा ती विकेट लिन तीन सय १० रन खर्चेका थिए ।

कुल ६० ओभर गरेका सन्दीपको प्रतिओभर ५.१६ रनरेट रह्यो । प्ले अफमा युएईविरुद्ध उनले २३ रन खर्चेर तीन विकेट लिए । प्रतियोगितामा यही खेलमा मात्र उनी औसत देखिएका थिए । प्ले अफमा उनले पुछारमा ब्याटिङ गरी उत्कृष्ट साझेदारीसमेत गरे ।

आयरल्यान्डसँग ३२ रन तथा युएईविरुद्ध २३ रनको महत्वपूर्ण इनिङ्स खेले । सन्दीप र दीपेन्द्रसिंहबीचको साझेदारीका कारण नै नेपालले युएईलाई प्ले अफमा हराउन सफल भयो । चारपटक ब्याटिङ गरेका उनले ८३ रन जोडे । 

दीपेन्द्रसिंह ऐरी
खेल : ६, इनिङ्स : ६, रन : १६१, चौका : १४

जिम्बावेमा दीपेन्द्रसिंहले अलराउन्ड प्रदर्शन गर्न सफल भए । यद्यपि, आइसिसी विश्वकप लिग–२ मा जस्तो फर्ममा उनी देखिएनन् । पहिलोपटक ग्लोबल छनोटमा प्रतिस्पर्धा गरेका दीपेन्द्रले त्यसको भरपूर सदुपयोग गरे । ब्याटिङतर्फ उनी नेपालबाट धेरै रन प्रहार गर्ने दोस्रा खेलाडीमा पर्छन् ।

६ खेलमा ब्याटिङ गरेका उनले एक सय ६१ रन बटुले । उनले दुईपटक विश्व च्याम्पियन बनिसकेको वेस्ट इन्डिजविरुद्ध महत्वपूर्ण २३ रन जोडेका थिए । समूह ‘ए’मा नेपालले अमेरिकामाथि जित निकाल्दा उनले ३९ रनको योगदान दिए ।

आयरल्यान्डसँगको खेलमा उनी शून्य रनमा आउट भए । प्रतियोगिताभरि ३५ ओभर बलिङ गरेका दीपेन्द्रले चार विकेट लिए । यसक्रममा उनले एक सय ८४ रन खर्चे । अमेरिकासँगको खेलमा उनले १५ रन खर्चेर दुई विकेट हात पारेका थिए । 

रोहितकुमार पौडेल
खेल : ६, इनिङ्स : ६, रन : १४३, चौका : १६

युवा कप्तान रोहित मध्यक्रममा राम्रा मानिन्छन् । यसपटक जिम्बावेमा उनको प्रदर्शन औसत नै रह्यो । अक्सर नेपालको ब्याटिङ खराब रहँदा राम्रो गर्ने जिम्मवोरी उनको रहन्थ्यो ।

तर, यसपटक रोहितले आफूलाई न्याय दिन सकेनन् । ६ खेलमै ब्याटिङ गरेका उनले एक सय ४३ रन जोडे । यसक्रममा उनले १६ चौका र दुई छक्का प्रहार गरे ।

नेदरल्यान्ड्ससँगको प्रतिस्पर्धामा उनले सर्वाधिक ३३ रन बनाए । उनले आयरयान्डसँग २९ रन र वेस्ट इन्डिजविरुद्ध ३० रनको योगदान गरे । 

करण केसी
खेल : ६, इनिङ्स : ६, विकेट : १२, उत्कृष्ट : ३३/४

सोमपाल कामी पहिलो खेलमै घाइते भएपछि प्रारम्भिक बलिङ आक्रमणको जिम्मेवारी करणले पाए । दायाँ हाते तीव्रगतिका बलरका करणले छनोट प्रतियोगितामा आफूलाई नेपालकै नम्बर एक बलरका रूपमा प्रस्तुत गरे ।

उनले समग्रमा ६ खेलमा १२ विकेट लिए । ग्लोबल छनोटमा धेरै विकेट लिने सूचीमा उनी नवौँ स्थानमा रहेका छन् । प्रतियोगितामा उनले दुईपटक चार विकेटको प्रदर्शन गरे ।

समूह ‘ए’मा अमेरिकाविरुद्ध ३३ रन र आयरयान्डसँगको खेलमा ५८ रन खर्चेर उनले समान चार विकेट आफ्नो नाममा लेखाए । युएईसँगको प्ले अफमा उनले ३६ रन खर्चेर तीन विकेट हात पारे । उनले वेस्ट इन्डिजविरुद्ध २८ रन बनाए । 

कुशल मल्ल
खेल : ५, इनिङ्स : ५, रन : ११२, चौका : ८, छक्का : ७

नेपाली टोलीमा बायाँ हाते कुशल आकर्षक हिटरका रूपमा परिचित छन् । विशेष गरी विश्वकप लिग २ र एसिसी प्रिमियर कपमा उनको ब्याटिङ खुबै चल्यो । यद्यपि, यही क्रमलाई उनले ग्लोबल छनोटमा दोहोर्‍याउन सकेनन् ।

नेपाली ब्याट्सम्यानमध्ये व्यक्तिगत धेरै रन बनाउनेमा कुशल छैटौँ स्थानमा छन् । उनले पाँच खेलमा अवसर पाएका उनले एक सय १२ रन बनाए ।

यसक्रममा उनले आठ चौका र सात छक्का प्रहार गरे । जिम्बावे र आयरल्यान्डजस्तो टेस्ट राष्ट्रविरुद्ध उनको ब्याटिङ चलेको थियो । उनले आयरल्यान्डविरुद्ध ४४ रन र जिम्बावेसँगको खेलमा ४१ रन जोडे । 

ad
ad