१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०८० असार २० बुधबार ०६:३८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रावललाई भूमिका दिन नेतृत्व अझै अनिर्णीत 

Read Time : > 2 मिनेट
२०८० असार २० बुधबार ०६:३८:००

दशौँ महाधिवेशनपछि पार्टीमा निष्क्रिय रहेका पूर्वउपाध्यक्ष भीम रावललाई जिम्मेवारी दिने सवालमा एमाले नेतृत्व अझै अनिर्णीत देखिएको छ । आफ्ना अभिव्यक्ति र गतिविधिमा नेतृत्वले नजर लगाएको महसुस गरेका रावल ‘सम्झौता’को मनस्थितिमा छैनन्, जसले उनको जिम्मेवारी अनिश्चित बनाइरहेको छ । 

भूमिका सुनिश्चित गर्ने विषयमा पार्टीद्वारा गठित वार्ता टोली र पूर्वउपाध्यक्ष रावलबीच एक चरण संवाद भए पनि त्यसपछि संवादहीनताको अवस्था छ । पार्टी उपाध्यक्ष विष्णु पौडेल एक चरण छलफल भए पनि विभिन्न कारणले थप छलफल हुन नसकेको बताउँछन् । जब कि रावल नेतृत्वले छलफलका लागि नबोलाएको सुनाउँछन् ।

३ वैशाखमा उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्ण थापाको वार्ता टोलीले रावलसँग छलफल गरेको थियो । त्यसलगत्तै अध्यक्ष केपी ओलीले छलफलको प्रगतिबारे ‘ब्रिफिङ’ लिएका थिए । जिम्मेवारीलगायत विषयमा नेतृत्वसँगै निर्णायक संवाद गर्ने रावलको प्रस्ताव टोलीले ‘ब्रिफिङ’ गरे पनि अढाई महिनादेखि अध्यक्ष ओलीले उनलाई बोलाएका छैनन् । 

वार्ता टोलीका संयोजक उपाध्यक्ष पौडेलले रावलसँग एक चरण कुराकानी भए पनि विभिन्न कारणले थप कुराकानी हुन नपाएको बताए । उनले रावलको पछिल्लो प्रस्ताव र उनलाई पार्टीले दिन चाहेको जिम्मेवारीबारे थप केही खुलाएनन् । ‘रावल कमरेडसँग मसहित वार्ता टोलीले एक चरण कुराकानी गरेको हो, त्यसपछि विभिन्न कारणले थप कुराकानी हुन पाएको छैन,’ पौडेलले नयाँ पत्रिकासँग भने । 

अध्यक्ष ओलीनिकट स्रोतले भने रावललाई बोलाएर कुराकानी गर्न र नयाँ जिम्मेवारी दिने सवालमा कुनै समस्या नरहेको दाबी गरेको छ । तर, त्यसका लागि रावल जिम्मेवार हुनुपर्ने ओलीको सर्त छ । ‘वार्ता टोली बन्ने क्रममा अध्यक्षले बोलाएर एकपटक उहाँसँग छलफल गर्न खोज्नुभएको हो । तर, त्यतिवेला व्यस्तताले समय व्यवस्थापन हुन सकेको थिएन,’ ओलीको सचिवालय स्रोतले भन्यो, ‘केन्द्रीय सदस्य र सल्लाहकार बन्न उहाँले अस्वीकार गर्नुभो । सीधै स्थायी समिति सदस्य बनाउन विधानले नै दिँदैन भन्नेमा उहाँ आफैँ जानकार हुनुहुन्छ । यति हुँदाहुँदै पनि जिम्मेवारी दिनुपर्छ भन्ने सवालमा अध्यक्ष सकारात्मक नै हुनुहुन्छ ।’

सचिवालयका अनुसार पार्टीले कुराकानीसमेत गरेर नयाँ जिम्मेवारी दिएपछि पहिले जस्तो व्यक्तिगत हिसाबले चल्ने, संसद्मा उल्लंघन गरेजस्तै पार्टीको निर्देशन नमान्नेजस्ता कमजोरी भने रावलले दोहोर्‍याउन नहुने पक्षमा ओली देखिएका छन् । ‘उहाँलाई जिम्मेवारी दिने विषयमा समस्या छैन, तर जिम्मेवारीअनुसार काम त गर्नुपर्‍यो । पार्टी नीतिबाहिर रहेर व्यक्तिगत रूपमा बोल्ने, चल्ने त गर्नुभएन भन्नेमा अध्यक्ष प्रस्टै हुनुहुन्छ,’ ओलीको सचिवालय भन्छ ।

पूर्वउपाध्यक्ष रावलले पहिलो चरणमा पार्टीको वार्ता टोलीसँग सामान्य कुराकानी भएपछि थप छलफलका लागि बोलाउने भनिए पनि अझै खबर नआएको बताए । ‘उहाँहरू (वार्ता टोली)सँग पार्टी कार्यालयमा सामान्य कुराकानी भएको हो, पहिलो चरणको छलफलपछि खबर गर्छौँ भन्नुभएको थियो, तर अहिलेसम्म खबर आएको छैन,’ उनले भने, ‘अहिले त्यो प्रक्रिया जारी छ कि छैन, मलाई जानकारी छैन । वार्ता यसो गरिहेरौँ न त भनेर घटनाक्रम देखाउन मात्रै गरिएको थियो कि अरू नै के थियो मलाई थाहा भएन ।’ रावलले अहिले पनि आफू एमालेमै रहेकाले पार्टीका इमानदार नेता तथा कार्यकर्ताको मागबमोजिम नै अगाडि बढ्ने बताउँदै आएका छन् ।

वेलाबखत उनले एमाले नै छोड्ने चर्चा चले पनि रावलले आफूले लामो समय पार्टी निर्माणमा योगदान पुर्‍याएकाले जुनसुकै भूमिकामा भए पनि एमालेमै बसेर काम गर्ने प्रस्ट्याउँदै आएका छन् । वेलाबखत गृहजिल्ला अछाम र सुदूरपश्चिम प्रदेशमा पुगेर पार्टी नेता–कार्यकर्तासँग भेटघाट गर्दै आएका रावल पार्टीले आयोजना गरेको कार्यक्रममा भने अझै औपचारिक भूमिकामा देखिएका छैनन् । 

एमालेले चलाएको दुईमहिने मिसन ग्रासरुट अभियानमा पनि रावल औपचारिक भूमिकामा देखिएनन् । मिसन ग्रासरुट अभियानका क्रममा केही समयअघि एमाले उपाध्यक्ष पौडेल रावलको गृहजिल्ला अछाम पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अछाममा उनले रावलको आलोचना गरेपछि सभामै उनीपक्षीय कार्यकर्ताले प्रतिवाद गरेका थिए ।

सो घटनापछि एमालेले १८ चैतमा पार्टीको केन्द्रीय सचिवालय बैठकबाट रावलसँग वार्ता गर्ने उद्देश्यले पौडेलकै नेतृत्वमा वार्ता समिति बनाएको थियो । वार्ता समितिले छलफल गरेपछि सहमतिउन्मुख भएको भन्दै सबै नेताले उत्साहपूर्ण प्रतिक्रिया दिएका थिए । तर, त्यसयता केन्द्रीय कमिटी बैठक र सचिवालय बैठक बसे पनि अझै रावललाई दिने जिम्मेवारीका विषयमा एमालेले टुंगो लगाएको छैन । वार्ता टोलीका सदस्य कर्ण थापाले भने बोलाएर रावलसँग छलफल गर्ने र जिम्मेवारी दिने काम नेतृत्वको भए पनि त्यसबारे भइरहेको प्रगतिबारे आफू जानकार नरहेको बताउँदै आएका छन् । 

रावलाई जिम्मेवारीसहित पार्टीमा सक्रिय बनाउन ‘मध्यस्थ’ भूमिका खेल्दै आएका एमाले केन्द्रीय सदस्य तथा सांसद दयालबहादुर शाहीले मिल्ने र पार्टीलाई बलियो बनाएर लैजाने कुरा अगाडि बढिसकेपछि पुराना तीतामीठा कोट्याएर अल्झिने र अल्झाउने काम कतैबाट पनि हुन नहुने बताए ।