Skip This
आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o६:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o६:२५:oo

खड्कालाई एक वर्ष तीन महिना कैद, नौ करोड १९ लाख ६ हजार रुपैयाँभन्दा बढी बिगोबमोजिम जरिवाना, घरजग्गा, बैंक मौज्दात, सेयरसमेतका सम्पत्ति जफत, खड्काकी श्रीमती शर्मिला तथा अमिता लामा सोदेम्बाको नाममा रहेको सम्पत्ति पनि जफत

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ ।  विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनलाई एक वर्ष तीन महिना कैद हुने सजाय सुनाएको छ । खड्कासमेत चारलाई प्रतिवादी बनाउँदै अख्तियारले २३ पुस ०७५ मा दायर गरेको मुद्दा शुक्रबार फैसला आएको हो ।

विशेषका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले गोपाल खड्काको नाममा रहेको नौ करोड १९ लाख ६ हजार रुपैयाँभन्दा बढी बिगोबमोजिम जरिवाना हुने फैसला भएको बताए । उनका अनुसार खड्काको समेत घरजग्गा, बैंक मौज्दात, सेयरसमेतका सम्पत्ति पनि जफत हुने फैसला छ । 

यसबाहेक मुद्दामा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी गोपालकी श्रीमती शर्मिला खड्का तथा अमिता लामा सोदेम्बाको नाममा रहेको सम्पत्ति जफत हुने भएको छ । ‘प्रतिवादीकी श्रीमती शर्मिला खड्काका नाममा रहेको कित्ता नं. १४२२ र १४२३ मा रहेको घरजग्गा पनि जफत हुनेछ । अर्की प्रतिवादी अमिता लामाको नाममा रहेका वादी पक्षले मागदाबी लिएबमोजिमका जग्गाजमिनसमेतका सम्पत्ति जफत हुने फैसलामा छ,’ योगीले भने । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति रहेको देखाउँदै मुद्दा चलाएको थियो । उल्लिखित रकम बिगो कायम गर्दै विशिष्ट श्रेणीबाट अवकाश पाएको हुँदा भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको थियो । 

अमिता लामाका नाममा सात करोड ५४ लाख रुपैयाँभन्दा बढीको घरजग्गा भेटिएको थियो । काठमाडौंको हात्तीगौँडामा सिजी डेभलपर्सले निर्माण गरेको तीन करोड २५ लाख मूल्यमा खरिद गरिएको घर भेटिएको थियो भने लामाकै नाममा बुढानीलकण्ठमा तीन कित्ता जग्गाको कुल मूल्य ४० लाख ११ हजार रुपैयाँभन्दा बढी रहेको अख्तियारको अनुसन्धानले देखाएको थियो । 

काठमाडौंकै साबिक महाँकाल गाविस– ४ मा घर खरिद गर्न लामाले तीन करोड पाँच लाख भुक्तानी गरिसकेकी थिइन् । खड्काले साढे ८४ लाख पर्ने गाडीसमेत लामाको नाममा राखेको अख्तियारको दाबी थियो । लामाको नाममा रहेका दुई बैंकहरूको खातासमेत खड्काले नै सञ्चालन गर्ने गरेको दाबी लिँदै अभियोगपत्र दर्ता भएको थियो । 

खड्का सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २ चैत ०६९ सम्मको आय–व्ययको अनुसन्धान गरिएको थियो । जस क्रममा पुख्र्यौली घरबाहेक नै उनले तीनवटा घर निर्माण र खरिद गरेको भेटिएको थियो । साथै थप दुईवटा घर खरिद गर्न भुक्तानी दिएको अनुसन्धानले देखाएको थियो । 

खड्काले काठमाडौंका साथै ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा गरी ११ कित्ता जग्गा खरिद गरेको देखिएको थियो । उनको नाममा विभिन्न ५५ वटा बैंक र वित्तीय संस्थामा मौज्दात रकम रहेको भेटिएको थियो ।

यसअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि चितवन, सर्लाही, झापासहितका विभिन्न स्थानमा जग्गा खरिद गर्दासमेत भ्रष्टाचार भएको घटनामा पनि खड्काको नाम जोडिएको थियो । आयल निगमका तत्कालीन अध्यक्ष प्रेम राई र महाप्रबन्धक खड्काले ती जग्गा खरिदका लागि प्रक्रिया अघि बढाएका थिए । 

सरकारले ०७३÷७४ को नीति तथा कार्यक्रममा ९० दिनको माग धान्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्न भनी भण्डारगृह बनाउने उल्लेख थियो । यसका लागि सरकारी जग्गा प्रयोग गर्न संसद्को वाणिज्य तथा उपभोक्ता सम्बन्ध समितिले निर्देशन दिँदादिँदै पनि निजी जग्गा खरिद भएको थियो । त्यस क्रममा मूल जग्गाधनीबाट सस्तो मूल्यमा खरिद गरी निगमलाई दोब्बरभन्दा बढी मूल्यमा बिचौलियाले बिक्री गरेको भेटिएको थियो । 

यस विषयमा छानबिन गर्न गठित संसदीय समितिले गरेको अनुसन्धानअनुसार ९ कात्तिक ०७३ मा निगमले खड्काको संयोजकत्वमा जग्गा खरिदका लागि समिति बनाएको थियो । पछि निगम अध्यक्ष राईले २४ माघ ०७३ मा जग्गा खरिदको अन्तिम निर्णय प्रबन्ध–निर्देशक रहेका खड्कालाई दिने निर्णय गराएका थिए । जस क्रममा एक अर्ब ६ करोड रुपैयाँको भ्रष्टाचार भएको संसदीय समितिको अनुसन्धानले देखाएको थियो । 

प्राधिकरणका उपप्रबन्धक चौधरीलाई एक महिना कैद
नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरी पनि गैरकानुनी सम्पत्ति मुद्दामा दोषी ठहर भएका छन् । १८ माघ ०७५ मा उनीसहित उनकी श्रीमती प्रियंकाकुमारी चौधरीमाथि मुद्दा दायर भएकोमा आरोप दाबी ठहर हुने फैसला भएको हो । 

विशेषका उपरजिस्ट्रार योगीका अनुसार चौधरीलाई एक महिना कैद र १७ लाख ७९ हजार रुपैयाँभन्दा बढी रकम बिगोबमोजिम जरिवाना हुने आदेश भएको छ । विशेषका न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले शुक्रबार यस्तो फैसला गरेको हो । 

साथै श्रीमती प्रियंकाको नाममा रहेको मागदाबीबमोजिमको सम्पत्ति जफतसमेत हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको साढे चार वर्षपछि यस्तो फैसला आएको हो । 

सार्वजनिक सेवामा रहँदा चौधरीले दुई करोड १४ लाख रुपैयाँभन्दा बढी रकम अवैध रूपमा आर्जन गरेको दाबीसहित विशेषमा अभियोगपत्र पेस भएको थियो । उक्त रकमबाट खरिद गरिएको सम्पत्ति श्रीमती प्रियंकाको नाममा रहेको दाबी अभियोजन पक्षको थियो । 
 

ad
ad