१६औँ योजनामार्फत अर्थतन्त्रको संरचनागत सुधार गर्न रूपान्तरणकारी योजना ल्याउने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बताएका छन् । मंगलबार राष्ट्रिय योजना आयोगमा १६औँ योजना तयारी सम्बन्धमा सञ्चारकर्मीसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘१४औँ योजनाको प्रगतिलाई आधार मानेर १५औँ योजना महत्वाकांक्षी बनाइएको थियो । तर, कोभिड र रुस–युक्रेन युद्धका कारण अर्थतन्त्रको संरचनागत समस्या पहिचान गर्न पायौँ । अब यी संरचनागत समस्या समाधन गर्दै रूपान्तरणकारी योजना ल्याउनेमा १६औँ योजना केन्द्रित हुनेछ ।’
नेपालमा ०१३ देखि हालसम्म १५ वटा आवधिक योजना कार्यान्वयनमा आए । पध्रौँ योजनाको अवधि आर्थिक वर्ष ०७६/७७–०८०/८१ थियो । ०७९ पुसमा यसको मध्यावधि मूल्यांकनसमेत गरिएको थियो । अब बन्ने सोह्रौँ योजना आर्थिक वर्ष ०८१/८२–०८५/८६ सम्मको पाँच वर्षको रहनेछ ।
हाल योजना तर्जुमाका लागि निर्देशक समिति, विषय क्षेत्रगत समिति र प्राविधिक समितिहरूले काम गरिरहेका छन् । निर्देशक समितिमा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधिहरूका साथै सहकारी र निजी क्षेत्रसमेतको संलग्नता छ । यसले सोह्रौँ योजनाको अवधारणापत्र तथा पूर्ण दस्तावेज छलफल गरी परिमार्जन र स्वीकृति दिने काम गर्छ । आयोगका सदस्यको संयोजकत्वमा सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसँग सम्बन्धित प्रतिनिधि रहेका पाँचवटा विषय क्षेत्रगत समिति छन् । जेठ अन्तिम साताबाट सुरु भएर ०८० माघ मसान्तसम्म सकिने गरी काम भइरहेको छ ।
१५औँ योजनाबाट पाठ सिकाइ
आयोगका उपाध्यक्ष श्रेष्ठले १३औँ योजनासम्मका अधिकांश योजना असफल भए पनि १४औँ योजनालाई भने सफल मानेका छन् । उनले भने, ‘१३औँ योजनामा लक्ष्य र प्राप्तिमा ठूलो अन्तर भयो । तर, १४औँ योजनामा लक्ष्यभन्दा बढी आर्थिक वृद्धि हासिल गर्यौँ । ७.२ प्रतिशत वृद्धिदरको लक्ष्य राखेकोमा ७.४५ प्रतिशत हासिल भयो । हामीले मातृशिशु मृत्युदर, शिक्षाको स्तरमा धेरै प्रगति गर्यौँ । अन्तर्राष्ट्रिय निकायले यसमा हामीलाई पुरस्कृत पनि गर्यो ।’
१४औँ योजना सफल हुनुमा ०७२ सालको भूकम्पलाई उनी प्रमुख आधार मान्छन् । उनका अनुसार भूकम्पपछि नोक्सानी परिपूर्ति गर्नमा स्रोतको अधिकतम परिचालन भयो र यसले लक्ष्यभन्दा ठूलो आर्थिक वृद्धि हासिल गर्नमा सघाउ पुग्यो । जसरी १३औँ योजनाको कमजोरीबाट सिकेर बनाइएको १४औँ योजना सफल भयो । त्यसरी नै १५औँ योजनाको असफलबाट शिक्षा लिएर १६औँ योजना सफल बनाउन सकिने उनले बताए ।
१५औँ योजनाको असफलबीच आयोगले अर्थतन्त्रका संरचनागत चुनौती पहिचान गरेको उनले बताए । उनले दिगो विकासका लक्ष्य (एसडिजिज् गोल्स) प्राप्तिलाई ध्यानमा राखेर १६औँ योजना बनाउनेसमेत बताए । उनले भने, ‘१६ योजनाका लक्ष्य पूरा हुँदा एसडिजिज्को लक्ष्यसमेत पूरा हुने अवस्था छ । एसडिजिज्का लक्ष्य पूरा हुने भनेर काम गर्दा पनि एसडिजिज्को लक्ष्य पूरा हुनेछ ।’ साथै, नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न यो छुट्टै ट्रान्जिसन स्ट्राटेजी अन्तिम चरणमा रहेको उनको भनाइ छ ।