१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:२६:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

शिक्षा र स्वास्थ्यमा उदाहरणीय बन्दै गोदावरी : आफ्नै इन्जिनियरिङ कलेज, हरेक वडामा चिकित्सकीय सेवा 

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२६:oo

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पुराना शिक्षक हटाएर गणित, विज्ञान र अंग्रेजी पढाउने नयाँ शिक्षक नियुक्ति

ललितपुरको गोदावरी नगरपालिकाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा तुलनात्मक रूपमा उदाहरणीय काम गरिरहेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पुराना शिक्षक हटाएर गणित, विज्ञान र अंग्रेजी पढाउन नयाँ शिक्षक नियुक्ति, आफ्नै इन्जिनियरिङ कलेज स्थापना, बज्रबाराही अस्पतालको स्तरोन्नति, ठेचो हेल्थपोस्ट ल्याब सञ्चालन, वडैपिच्छे चिकित्सकीय सेवा, कम्प्युटर माध्यमबाट पठनपाठनलगायत अनुकरणीय काम गर्दै आएको छ । 

अघिल्लो आर्थिक वर्षको कामलाई निरन्तरता दिँदै नगरपालिकाले ०८०/८१ को बजेटमा पनि शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता विषयलाई केन्द्रमा राख्ने जनाएको छ । ठेचोमा नगर अस्पताल निर्माण गर्नेदेखि शिक्षा र स्वास्थ्यको पहुँच घर–घरमा पुर्‍याउने योजना अघि सारेको छ । ५० शय्याको नगर अस्पताल निर्माणका लागि नौ रोपनी जग्गा र करिब २० करोड खर्च हुने अनुमान छ । नगरपालिकाले १५–१५ शय्याका दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रका लागि लेले र बाडेगाउँको भवन निर्माण गर्दै छ । यस्तै, नगरभित्रका सबै दीर्घरोगीलाई ३६ हजारका दरले औषधि उपचार खर्च दिएको छ ।

गजेन्द्र महर्जन, मेयर, गोदावरी नगरपालिका
शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई बजेटको केन्द्रमा राखेका छौँ । भएका अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित गर्ने र नगरवासीको उपचारका लागि छुट्टै अस्पताल निर्माण जारी छ । इन्जिनियरिङ पढाउने छुट्टै कलेज भवन बन्दै छ । पुराना शिक्षकलाई ससम्मान बिदाइ गरेर नयाँ शिक्षक राखेका छौँ । आर्थिक वर्ष ०८०/८१ को बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा पारेको छ ।

रोग लाग्नै नदिन जनचेतना प्रवाह, हरेक वर्ष कम्तीमा एकपटक निःशुल्क मिर्गाैला परीक्षण, मधुमेय र उच्च रक्तचाप परीक्षणजस्ता कार्यक्रममा अभियानका रूपमा चलाएको मेयर गजेन्द्र महर्जनले बताए । उनले भने, ‘स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउँदै छौँ, यसबाहेक नगरवासीको उपचारका लागि छुट्टै अस्पताल बनाउने योजना छ ।’ 

आगामी बजेट दुई अर्ब ३७ करोडको
आव ०८०/८१ का लागि नगरपालिकाले दुई अर्ब ३७ करोडको बजेट ल्याउने तयारी गरेको छ । ललितपुरमा अहिले ठूलो सरकारी अस्पताल भनेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । यो अस्पतालले बिरामीको चाप थेग्न सकिरहेको छैन । ललितपुर महानगरले पाटन अस्पतालको चाप कम गर्ने गरी योजना अघि नसारे पनि गोदावरी नगरपालिकाले भने शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने प्रभावकारी योजना अघि सारेको छ । नगरपालिकाले ठेचो हेल्थपोस्टमा गोदावरीस्तरीय ल्याब पनि निर्माण गरेको छ । 

गुणस्तर सुधार्न नयाँ शिक्षक
सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले पुराना शिक्षकलाई कार्यकाल बाँकी छँदै ससम्मान बिदाइ गरेको छ । ५८ वर्ष पुग्न ८–१० वर्ष बाँकी रहेका शिक्षकलाई उनीहरूले पाउनुपर्ने सुविधा दिएर बिदाइ गरिएको मेयर महर्जनले बताए । ‘सामुदायिक विद्यालय सुधार गर्न शिक्षकमा सुधार गर्नुपर्ने देखियो, त्यसकारण पुरानालाई बिदाइ गरेर उहाँहरूको सट्टामा नयाँ राख्यौँ,’ उनले भने । नगरपालिकाले यो वर्ष २४ जना शिक्षकलाई यसरी बिदाइ गरेको छ भने २९ जना नयाँ शिक्षक भर्ना गरेको छ । 

इन्जिनियरिङ कलेज निर्माण सुरु 
गोदावरी–२, विशंखुमा नगरपालिकाले प्राविधिक कलेज निर्माण सुरु गरिसकेको छ । १२ करोड लागतमा बनिरहेको उक्त भवनको एकतला निर्माण भइसकेको छ । ०७९/८० मा भवन निर्माणका लागि पाँच करोड विनियोजन भएको थियो भने बाँकी बजेट ०८०/८१ मा विनियोजन गरिनेछ । दुई वर्षभित्र भवन निर्माण सकिनेछ ।

गोदावरी नगरपालिकाभित्र बज्रबाराही अस्पताल सञ्चालन हुँदै आइरहेको छ । यहाँ आठजना चिकित्सक छन् भने यसलाई स्तरोन्नति गर्ने नगरपालिकाको योजना छ । चालू आर्थिक वर्षमा नयाँ भवन निर्माणका लागि साढे तीन करोड बजेट प्रदेश सरकारबाट विनियोजन भएको थियो । हाल टेन्डर आह्वान भएर भवन निर्माणको काम सुरु हुने चरणमा छ ।

बन्द रहेको फार्मेसी चलाउने प्रयास
गोदावरीले आफ्नै फार्मेसी भने बन्द गरेको छ । तीन तहको सरकार भइसकेपछि बज्रबाराही अस्पताल प्रदेश सरकारभित्र परेकाले आफ्नै फार्मेसी हटाइएको मेयर महर्जनको भनाइ छ । उनका अनुसार १० वर्ष चलेर करिब ६ वर्षअघि उक्त फार्मेसी बन्द भएको हो । आफ्नै फार्मेसी सञ्चालन हुँदा औषधिमा एकरूपता, बिमा र निःशुल्क रूपमा उपलब्ध गराउने औषधिमा बिरामीलाई सहजता थियो । 

१० लाखसम्म अनुदान
नगरपालिकाले कृषकलाई लक्षित गर्दै अत्यावश्यक कृषि औजारमा ५० प्रतिशतसम्म छुट दिँदै आइरहेको छ । यस्तै, बिउबिजन पनि निःशुल्क प्रदान गरिरहेको छ । खेतीपाती गर्न चाहने किसानलाई विनाब्याज १० लाख रुपैयाँ अनुदानमा उपलब्ध गराउँदै आएको छ । कृषि क्षेत्रमा सहभागिता घट्दै गइरहेकाले त्यसमा आकर्षण गर्न र सहजता प्रदान गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको नगर प्रमुख महजर्नले बताए । 

२५ करोड राजस्व संकलन 
नगरपालिकाले चालू आर्थिक वर्षको १५ जेठसम्म झन्डै २५ करोड राजस्व संकलन गरेको छ । २२ करोड राजस्व संकलनको लक्ष्य राखिए पनि त्यसभन्दा बढी राजस्व संकलन भएको हो । भूमि, घरबहाल, नवीकरण, रजिस्ट्रेसनलगायतबाट राजस्व संकलन गरिएको नगरपालिकाले जनाएको छ । 

साझासँग मिलेर विद्युतीय बस सञ्चालन गरिँदै 
काठ क्षेत्रबाट ओहोरदोहोर गर्नेहरूका लागि यातायातको निकै दुःख छ । हाल ठूला बस रिङरोडबाहिर कमै मात्र सञ्चालनमा छन् । साझाले गोदावरी र बुढानीलकण्ठ क्षेत्रमा दुई–दुईवटा बस सञ्चालन गर्दै आइरहेको छ । ललितपुरको चापागाउँ क्षेत्रमा पनि सार्वजिनक यातायातको अत्यन्तै कठिन छ । यो क्षेत्रबाट दक्षिण ललितपुरसम्मका लागि बस, माइक्रो र स्कार्पिओ सञ्चालन भए पनि दैनिक कामकाजले ओहोरदोहोर गर्नेलाई सिटी बस छैन । अब भने नगरपालिकाले साझासँगको सहकार्यमा दुईवटा बिजुली बस सञ्चालनको तयारी गरिसकेको छ । नगरपालिकाले साझासँग पाँचवटा बस माग गरे पनि दुईवटा मात्रै दिने सहमति भएको नगर प्रमुख महर्जनको भनाइ छ । यी बस चापागाउँदोबाटो–सुनाकोठी–लेलेलगायत रुटमा सञ्चालन हुनेछन् । 

ad
ad