अहिलेसम्मकै धेरै परिमाणमा बरामद, कारोबारमा विदेशी नागरिक
नेपालमा क्लब तथा रेस्टुरेन्टमा रसायनबाट बन्ने लागुऔषध एलएसडी (लिसेरजिक एसिड डिथिलामाइड) कारोबार हुन थालेको छ । विदेशी नागरिकहरू एलएसडीको कारोबारमा नेपालमा सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरीले एलएसडी लागुऔषधको कारोबारमा संलग्न दुई विदेशीसहितको गिरोहलाई पक्राउ गरेको छ । उनीहरूबाट १० हजार एक सय ३१ वटा एलएसडी लागुऔषध बरामद भएको र यो नेपालमा अहिलैसम्मकै ठूलो बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोले विशेष अप्रेसन चलाई काठमाडौं र पोखराबाट गिरोहका सदस्यहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरूले ठमेलका नाइट क्लब तथा विभिन्न होटल–रिसोर्टमा ट्रान्स पार्टीका लागि यस्तो लागुऔषध बिक्री हुँदै आएको ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाले बताए ।
गोविन्द थपलिया, एसएसपी, लागुऔषध नियन्त्रण ब्युरो
नेपालमा अहिलेसम्मकै धेरै एलएसडी ड्रग बरामद भएको छ । यो गिरोहको नाइकेमा विदेशी नागरिक छन् । एलएसडी ड्रग ट्रान्स पार्टीका लागि ल्याइएको देखिन्छ । यसतर्फ पनि हामीले अनुसन्धान अघि बढाएका छौँ । नेपालीहरू पनि यस्तो लागुऔषधको लतमा छन् ।
प्रहरीले विदेशबाट एलएसडी ल्याएर बिक्री गर्ने इटालियन नागरिक डेभिट मिनाडियोलाई समेत ठमेलबाट पक्राउ गरेको छ । उनले एजेन्टहरू बनाएर काठमाडौैं तथा पोखरामा समेत यस्तो लागुऔषध बिक्री गर्दै आएका थिए । उनका सहयोगीहरू राज गौतम र चेक रिपब्लिककी मार्टिना सेर्नालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । काठमाडौंमा भने उनीहरूको मुख्य एजेन्ट मुखिया गुरुङ हुन् । गुरुङले पनि सुगम मैनालीलाई समेत एजेन्ट बनाएर ठमेलका क्लब तथा रेस्टुरेन्टमा यस्तो लागुऔषध बिक्री गर्दै आएका थिए ।
इटालियन नागरिकबाट मात्र १० हजार ९८ वटा एलएसडी लागुऔषध बरामद भएको ब्युरोका एसपी चक्रराज जोशीले बताए । एउटा एलएसडीको नेपालमा उनीहरूले तीन हजारदेखि चार हजार रुपैयाँसम्म बिक्री गर्दै आएका थिए । जसअनुसार बरामद लागुऔषधको अवैध बजार मूल्य करिब चार करोड रुपैयाँ पर्दछ ।
बैंककबाट भारत हुँदै नेपालमा सो लागुऔषध ल्याएको प्रहरीको आकलन छ । कागजमा टाँसेर कारोबार हुने भएकाले यस्तो लागुऔषध बरामद गर्न पनि कठिन हुने प्रहरी अधिकारी बताउँछन् ।
सो समूहले खासगरी ट्रान्स पार्टीका लागि यस्तो लागुऔषध बिक्री गर्दै आएको प्रहरी अधिकारी बताउँछन् । काठमाडौं, चित्लाङलगायत ठाउँमा यस्तो लागुऔषधको पार्टी भएको सूचना प्रहरीले पाएको थियो । पोखरामा पक्राउ परेका एक व्यक्तिले आफू पनि त्यस्तो पार्टीमा सहभागी भएको स्विकारेका छन् ।
पक्राउ परेका इटालियनसँग मेथमफेटामाइन तथा मुखियासँग कोकिनसमेत बरामद भएको छ । सामान्यतया नेपाली बजारमा कोकिनको खपत नहुनेमा यो अन्तर्राष्ट्रिय गिरोहले विदेशी पर्यटक तथा क्लबमा जानेलाई लक्षित गरी यस्तो लागुऔषधको कारोबार थालेको प्रहरीले जनाएको छ । मुखिया यसअघि याबा लागुऔषधसहित पक्राउ परेकोमा २७ महिना जेल बसेर छुटेका व्यक्ति हुन् । उनका सहयोगीहरू दावा तामाङ र नरबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
गोप्य रूपमा फस्टाउँदै ट्रान्स पार्टी
कुन समय हिप्पीहरूको गन्तव्य रहेको नेपालमा अहिले पनि कतिपय विदेशी लागुऔषधकै लागि आउने गरेको प्रहरी अधिकारी बताउँछन् । त्यस्ता विदेशीका लागि गोप्य रूपमा लागुऔषधका पार्टीहरू चल्ने गर्दछन्, जसलाई ट्रान्स पार्टी तथा रिभ पार्टीका नामले चिनिन्छ ।
लागुऔषध नियन्त्रण ब्युरोका अधिकारीका अनुसार हालै मात्र काठमाडौंको नारायणस्थान, मकवानपुरको चित्लाङमा यस्तो पार्टी भएको सूचना आएको थियो । जसअनुसार प्रहरी त्यहाँ पुगे पनि प्रमाण संकलन गर्न सकेन । पोखरामा भने पार्टी भएको पुष्टि भएको छ । पक्राउ परेका एक व्यक्तिले सो कुरा पुष्टि गरेको त्यस विषयमा अनुसन्धान भइरहेको ब्युरोका एसपी चक्रराज जोशीले बताए ।
म्युजिक, लागुऔषध र मदिरामा रमाउनेलाई लक्षित गरी यस्ता पार्टी हुने गर्दछन् । यसमा अश्लील गतिविधिसमेत हुने गरेको जानकार प्रहरीहरू बताउँछन् । यस्तो पार्टी ७२ घन्टासम्म निरन्तर चल्ने गर्दछ ।
०७५ को चैतमा अर्घाखाँचीको बुङची खोलाको बगरमा ४० जना विदेशीलाई प्रहरीले नग्न अवस्थामा पक्राउ गरेको थियो । उनीहरू सबै लागुऔषधको नसामा दिए । अनुसन्धानका क्रममा त्यहाँ ट्रान्स पार्टी भएको पुष्टि भएको थियो । पोखराका विभिन्न ठाउँमा यस्ता पार्टी हुँदै आएका छन् । काठमाडौंको हात्तीवन रिसोर्टमा पनि केही वर्षअघि प्रहरीले छापा हानेको थियो ।
खासगरी एकान्त ठाउँ रोजेर ट्रान्स पार्टी हुने गरेका छन् । सामाजिक सञ्जालबाटै गोप्य रूपमा समूह बनाएर यस्ता पार्टी आयोजना हुने र त्यसमा धनाढ्य व्यक्तिहरू तथा पर्यटक सहभागी हुने ब्युरोका एक प्रहरी अधिकारी बताउँछन् । यस्ता पार्टी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
लामो समयसम्म लट्ठ बनाउने भएकाले यस्तो पार्टीमा सबैभन्दा धेरै एलएसडी लागुऔषध प्रयोग हुन्छ । हाल ठूलो परिणाममा बरामद हुनुले यस्ता पार्टीहरू समेत व्यापक रहेको र ठूला क्लबहरूमा समेत बिक्री हुने गरेको प्रहरीको दाबी छ । ब्युरोका एसएसपी गोविन्द थपलिया पछिल्लो घटनाले नेपालमा ट्रान्स पार्टी हुने गरेको संकेत भेटिएको भन्दै यसमा प्रहरीले गहन अनुसन्धान गर्ने बताउँछन् ।