Skip This
ब्रुसबाङका चेपाङ समुदायलाई प्राण धान्नै मुस्किल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
धादिङको बेनीघाट रोराङ गाउँपालिका– २ की एक महिला काखमा नानी च्यापेर मजदुरी गर्दै
२o८१ बैशाख २६ बुधबार o८:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

ब्रुसबाङका चेपाङ समुदायलाई प्राण धान्नै मुस्किल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:o६:oo

धादिङको बेनीघाट रोराङ गाउँपालिका– २ ब्रुसबाङकी कल्पना चेपाङलाई सुख के हो, सुबिस्ता के हो थाहा छैन । मंगलबार उनलाई भेट्दा काखीमा सानी नानी थिइन् । डोकोमा बेलुकीको छाक टार्न जुटाइएको कनिका र दाउराको भारी थियो । डुब्नै लागेको घामसँगै उनी हतारमा थिइन् । तैपनि उनले भनिन्, ‘दुःखको दैनिकी छ, हामी ब्रुसबाङवासीलाई परान धान्नै मुस्किल छ ।’

कल्पना त प्रतिनिधि पात्र हुन् । यहाँका सबै चेपाङ परिवारका सदस्यलाई सुखको अनुभूति छैन । उनीहरूसँग जे छ, भिरपाखो मात्र छ । उब्जाउ जमिनमा आफ्नो अधिकार छैन । शिक्षा र रोजगार कसैको साथमा छैन । गाउँगाउँमा सिंहदरबार पुगेको भनिए पनि ब्रुसबाङका चेपाङले त्यसको अनुभूति गर्न पाएका छैनन् । उनीहरूको जीवन सहज ढंगले चलेको छैन । अभावै–अभावले गाँजिएका चेपाङहरूलाई प्राण धान्नबाहेक अरू केही सोच्नसम्म फुर्सद दिएको छैन । 

कल्पना काखीमा सानी नानी च्यापेरै बारीमा काम गर्छिन् । घाँसदाउरा, मेलापात जाँदा कहिले पिठ्यँ, कहिले काखीमा नानी हुन्छ । ज्याला–मजदुरी गर्न टाढा जाँदासमेत सानी नानी च्यापेरै पुग्छिन् । तैपनि दुई छाक खान धौ–धौ परेको उनी बताउँछिन् । ‘डाँडाको बस्ती, भिरालो जमिन छ । भिरमै खेतीपाती गर्छाैँ,’ उनी भन्छिन्, ‘बारीमा उब्जनी भएको अन्नपातले ६ महिना खान पुग्दैन । ६ महिना सहकाल, ६ महिना अनिकालको सामना गरिरहेका छौँ । ज्याला मजदुरी गरेर अर्काे ६ महिना मुस्किलले जीवन धानेका छौँ ।’ 

विपन्नहरूले ज्याला मजदुरी गर्न नगएको दिन बेलुकी चुलोमा आगो बल्दैन । घरनजिक काम पनि पाइँदैन, टाढा पुग्नुपर्छ । ‘आफू त कहिलेकाहीँ भोकै पनि सुतेको छु । विचरा यी सानी नानीको के दोष, कसरी भोकै सुताउनु ? मनले मान्दैन,’ दुई छाकको जोहो गर्न दुई मुठी सास जाने गरी दौडधुप गर्नुपरेको उनी बताउँछिन् । ज्याला मजदुरी गरेको पैसाले चामल किन्न पुग्दैन । कहिले मिलबाट कनिका, कहिले पसलबाट चामल त कहिले अन्य खानेकुरा किनेर टार्ने गरेको उनी बताउँछिन् । ‘ढुंगा खाउँ कि माटो खाउँ भएको छ,’ उनी भन्छिन् । 

३५ घरधुरी रहेको ब्रुसबाङ गाउँमा २७ घरपरिवारलाई ६ महिना पनि खान पुग्दैन । टाँकी र सिस्नुको तरकारी, मकैको ढिँडो अनि गिठ्ठा र भ्याकुर उनीहरूको मुख्य खानेकुरा हुन् । बाँकी अन्य परिवारलाई सात–आठ महिना खान पुग्छ । बाँकी समय ज्याला मजदुरी, डोको डाला तथा भकारी बुनेर ज्यान बचाइरहेका छन् । ब्रुसबाङकै सोमलाल चेपाङको दुई छोरा एक छोरीसहित पाँचजनाको परिवार छ । ज्याला–मजदुरीका लागि कहिले बेँसी त कहिले वल्लो गाउँ पल्लो गाउँ पुग्ने गरेको उनको भनाइ छ । ‘खानेकुरै नभएपछि ज्यान बचाउन त विकल्प खोज्नै प¥यो,’ उनले भने, ‘घरपरिवार छाडेर कहिले गल्छी, बैरेनी, बुङचुङ, बेनीघाट काम गर्न जान्छु । काम गर्न मनाङसम्म पुगेको छु । घर, सडकजस्ता निर्माण क्षेत्रमा काम गर्छु । दिनभर काम गरेको सात सय पाइन्छ । त्यही ज्याला मजदुरीले रोजीरोटी चलेको छ ।’

राज्यका सुविधाबाट विमुख छन् चेपाङ
खाने अन्नपात मात्र होइन, खानेपानी, सडक सञ्जाल, बिजुलीबत्ती, स्वास्थ्य संंस्थाहरू पनि गाउँमा छैनन् । बस्तीनजिक पानीपँधेरो नहुँदा एक गाग्री पानी लिन घन्टौँ धाउनुपर्ने बाध्यता छ । फूलमाया भन्छिन्, ‘डाँडै काटेर एक गाग्री पानी लिन जाँदा तीन घन्टा लाग्छ । खाने अन्नपात मात्र होइन, पिउने पानी नभएर धेरै रात भोकै सुतेको छु ।’ उनले सुत्केरी हुँदा छिमेकीसँग एक गाग्री पानी सापटी लिएर चलाएकी थिइन् । ‘एक गाग्री सापटी मागेर नौ दिन चलाएँ । १२–१५ दिनमै काखीमा सानी नानी च्यापेर घन्टौँ धाएर पानी बोकी पैँचो तिरेँ,’ उनले विगत सम्झिइन्, ‘खाने कुरा त छाडिदिनुस् पेटभरि पानी खान पनि पाइँदैन ।’ केही दिनअघिको असिनापानीले दुःख थपिदिएको छ । ‘बारीको मकै सत्यनाश भयो, अबको हिउँद भोकमरी हुने भो । हामीलाई जस्तो दुःख संसारमा कसैलाई छैन होला, नपरोस् पनि,’ उनले सुनाइन् ।

ad
ad