१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मटिहानीको नगरसभा सम्पन्न, ४० करोडभन्दा बढीको बजेट प्रस्तुत

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o९:oo

मटिहानी नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गरेको छ।

मटिहानी- ७ स्थित मटिहानी होटेलको सभाहलमा आयोजित ११औँ नगरसभामा मेयर हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकाको आर्थिक वर्ष ०८०/८१ का लागि नीति,कार्यक्रम तथा बजेट प्रस्तुत  गरेको हो।

मेयर मण्डलले राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालू/पुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगतको २९ करोड ४६ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान पुँजीगतको एक करोड २४ लाख ६ हजार तथा आन्तरिक स्रोतहरू भूमिकर/मालपोत, घरबहाल कर, बहाल बिटौरी कर, सवारीसाधन करसहितका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातसहित ११ करोड ८७ लाख दुई हजार गरी कुल ४० करोड ३९ लाख आठ हजार एक सयको बजेट प्रस्तावित गरेका हुन्।

नीति तथा कार्यक्रम र बजेटको उद्घाटन सत्रमा मेयर मण्डलले प्रस्तावित गरेको बजेटमाथि सभामा छलफल भई बजेट पारित हुनेछ।

मेयर मण्डलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उनले नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुखता दिँदै यस आर्थिक वर्षमा यी तीनै महत्वपूर्ण विषयका साथै मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताएका छन्। 

उनले मटिहानीको मुख्य पहिचान नै मटिहानीको विकासको मूल आधार भएकाले विगतका वर्षहरूमा मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीयका साथै पहिचानका लागि विकासका मूल फुटाउने बताए।

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो नगरसभाबाट मेयर मण्डलले केही महत्वाकांक्षी योजनासमेत सार्वजनिक गरेका छन्। उनले कृषि तथा पशुपालनको क्षेत्रमा थप योजनाहरूसहित यस क्षेत्रको विकासमा निरन्तरता, व्यावसायिक खेती र पशुपालनमा युवाको सहभागितालगायतमा काम गर्ने बताए।

त्यस्तै, उद्योग वाणिज्यतर्फ विभिन्न तालिम तथा व्यवसाय सञ्चालनमा नगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्ने उनले थपे। यता पर्यटनमा विकासका लागि मटिहानीस्थित लक्ष्मी सागरको थप सौन्दर्यीकरण, मटिहानी मठलाई विश्व सम्पदा सूचीमा राख्न सरकारलाई अनुरोध गर्ने तथा मटिहानीभित्रका विभिन्न पोखरी, जलसागर, गोसाइँकुण्ड आदिको सौन्दर्यीकरणमा जोड दिने बताए।

मटिहानी नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिन नगरभित्रका मठ मन्दिर तथा मस्जिदहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न प्रचारप्रसार, वृत्तचित्र निर्माणलगायत थप संस्कृति झल्काउने भौतिक पूर्वाधारहरू विकास गरिने बताए।

त्यस्तै, शिक्षाको क्षेत्रमा मैथिली भाषाको विकास, संरक्षण तथा संवर्द्धन गर्न नगरभित्रका सामुदायिक विद्यालयको कक्षा एकदेखि आठसम्मको पाठ्यक्रममा सय अंकको मैथिली भाषा समावेश गरी अध्ययन गराइने व्यवस्था मिलाइने बताए।

त्यस्तै, विद्यार्थीको सूचना प्रविधिमा पहुँच पुर्‍याउन जोडकोषमा आधारित ल्यापटप वितरण, कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई नि:शुल्क साइकल वितरण, दलित, विपन्न, गरिब, अपांग, असहाय तथा सहिद परिवारका जेहेनदार विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति पुरस्कार सहयोगको व्यवस्था गरिने नगरप्रमुखले नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गरेका छन्।

त्यस्तै, नगरक्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा फ्री बुक एन्ड ब्याग डे कार्यक्रम सञ्चालन गरी विद्यार्थीको मनोबल उच्च बढाउनुको साथै सीप विकासमा जोड दिने उल्लेख गरिएको छ।

यता स्वास्थ्यतर्फ मटिहानी नगरपालिकाले बर्थिङ सेन्टरले रेफर गरेको खण्डमा जनकपुरसम्मका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ। गर्भवतीका लागि अल्ट्रासाउन्ड निःशुल्क गरिनुका साथै आयुर्वेद तथा पारम्परिक चिकित्सा प्रणालीको विकास गरिने उल्लेख छ।

खानेपानी तथा सरसफाइ शीर्षकमा मटिहानी नगरपालिकाले मटिहानी बजार क्षेत्रभित्र वाटर एटिएम सञ्चालनमा ल्याउने भएको छ।

यसका अलावा समावेशीकरण/गरिबी निवारण तथा कला, संस्कृति, खेलकुद, पूर्वाधार विकास, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार, वातावरण तथा विपत् व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम, संस्थागत विकास तथा सुशासनसम्बन्धी नीति तथा कार्यक्रमलगायतमा आवश्यक बजेट तथा योजनाहरू सञ्चालन गरिने मेयर मण्डलले उल्लेख गरेका छन्।

मटिहानीलाई आफ्नो लक्ष्य थाहा छ : मन्त्री भण्डारी

नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मटिहानी नगरपालिकालाई आफ्नो लक्ष्य थाहा रहेको बताए। 

उनले आफ्नो पालिकाले के बनाउने र कसरी बनाउने, त्यसका लागि स्रोत कसरी जुटाउने र साेचेको लक्ष्य कसरी पाउनेसम्म थाहा हुने भएकाले नै मटिहानीको विकास दिन दुई गुणा र रात चौगुणा भइरहेको बताए। 

उनले मटिहानी नगरलाई धार्मिक, पर्यटकीय, शैक्षिक र कृषिकाे हब रूपमा विकास गर्न नगरपालिकाले काम गरिरहेको र सुरुदेखि नै सोही लक्ष्यका साथ काम गरिरहेकाले मटिहानीको विकास प्रगतिमा रहेको बताए।

नगरप्रमुखका साथै निर्वाचित सबै जनप्रतिनिधि तथा मटिहानीका आमनागरिकले आफ्नो र आफ्नो पालिकाको भविष्य के हुने भन्ने हेक्का राखेकाले देशमै मटिहानी नगरपालिकाको अलग्गै पहिचान बन्दै गरेकोप्रति नगरपालिका र मटिहानीका नागरिकलाई मन्त्री भण्डारीले शुभकामना दिए।

 

ad
ad