मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ७ बिहीबार
  • Tuesday, 07 January, 2025
गत २६ जेठमा जाजरकोटको नलगाडमा विशेषज्ञ चिकित्सकले सञ्चालन गरेको स्वास्थ्य शिविरमा सेवाग्राहीको भिड ।
मञ्जु टेलर नयाँ पत्रिका
२o८o असार ७ बिहीबार o८:२३:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जटिल समस्या नभएसम्म अस्पताल पुग्दैनन् कर्णालीका महिला 

Read Time : > 3 मिनेट
मञ्जु टेलर, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८o असार ७ बिहीबार o८:२३:oo

पाठेघर झरेपछि वा पाठेघरमा घाउ भएर रगत बगिसकेपछि स्वास्थ्य शिविर र सुर्खेतका अस्पतालसम्म आउने गरेको चिकित्सकको भनाइ

गत २६ जेठमा जाजरकोटको नलगाडमा विशेषज्ञ चिकित्सकले सञ्चालन गरेको स्वास्थ्य शिविरमा अत्यधिक पेट दुखेको भन्दै एक गर्भवती चेकजाँचका लागि पुगिन् । ३४ हप्ताको गर्भवती पेट दुखेको समस्या लिएर अस्पताल पुगेपछि चिकित्सकले तत्काल प्रदेश अस्पताल सुर्खेत लैजान सुझाव दिए । गर्भ ३४ हप्ता पुगिसकेको अवस्थामा बच्चा जन्मिएमा एनआइसियू अर्थात् क्रिटिकल सेवा आवश्यक हुन सक्ने भन्दै चिकित्सकले सुर्खेत रिफर गरेका थिए ।

तर, बारम्बार बान्ता हुन थालेपछि गाडीमा जाजरकोटबाट सुर्खेत ल्याउन नसकेपछि उनलाई चौरजहारीमा रहेको स्वास्थ्य संस्थामा लगियो । चौरजहारीमा रहेको स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएपछि उनलाई घर फर्काइयो । एक दिनको स्वास्थ्य शिविरका लागि सुर्खेतबाट जाजरकोट पुगेकी डा. खिमा न्यौपानेसहितको चिकित्सकको टोलीले उनलाई सुर्खेत रिफर गरेका थिए । चिकित्सककै सल्लाहमा ती गर्भवतीलाई चार दिनपछि सुर्खेत ल्याएर उपचार गरियो । 

डा. खिमा न्यौपाने, कर्णाली केयर अस्पताल, सुर्खेत
केही महिलामा पाठेघर खसेर तत्काल शल्यक्रिया गर्नुपर्ने खालका केस थिए । यसबाहेक किशोरीमै महिनावारी गडबडी हुने, महिनावारीको समयमा अत्यधिक रगत बग्ने र कम उमेरमै सेतो पानी बग्ने समस्या देखिए । तर, उपचार नपाउँदा रोगसँगै बाँच्नुपर्ने दयनीय अवस्था छ ।

यस्तै, स्वास्थ्य शिविरमा ६६ वर्षीया अर्की महिला पाठेघर खसेको समस्या लिएर पुगिन् । परीक्षणका क्रममा उनको पाठेघर खसेको पाँच वर्षभन्दा बढी भइसकेको र बाहिर निस्किएको अवस्थामा रहेको भेटियो । डा. न्यौपानेका अनुसार उनको पाठेघरमा घाउ देखिएकाले सकेसम्म छिटो शल्यक्रिया गर्नुपर्ने अवस्था थियो । तर, सुर्खेतसम्म उपचारका लागि पुग्ने खर्च नभएको र कुरुवाका लागि समेत मान्छे नभएपछि वडा कार्यालयको सहयोगमा सुर्खेत पठाएको न्यौपानेले बताइन् । ‘पाठेघर खसेको वर्षौँ भइसके पनि उनलाई अस्पतालसम्म पुर्‍याउने मान्छे नभएर पीडा खपेर बसेको पायौँ । सरकारी अस्पतालमा पाठेघरको शल्यक्रिया निःशुल्क हुने बताएपछि सुर्खेतसम्म ल्याउन पहल गरेका हौँ,’ डा. न्यौपानेले भनिन् । उनका अनुसार शिविरमा मात्रै अन्य ६ जना महिला गम्भीर अवस्थामा शिविरमा आइपुगेका थिए, जसलाई तत्काल अस्पताल भर्ना गर्नुपर्ने थियो । 

स्वास्थ्य कार्यालय जाजरकोट र कर्णाली केयर अस्पताल सुर्खेतको सहयोगमा गत २६ जेठमा जाजरकोटको नलगाडमा स्वास्थ्य शिविर गरिएको थियो । शिविरमा सेवा लिएका नौ सय २१ मध्ये आधाभन्दा बढी महिला थिए । जसमध्ये अधिकांश महिला योनिबाट सेतो पानी बग्ने, पाठेघर खसेको, महिनावारी गडबडी, महिनावारीका वेला अत्यधिक रक्तास्राव हुनेजस्ता समस्याबाट प्रभावित भएको चिकित्सकको रिपोर्टले देखाएको थियो । स्वास्थ्य परीक्षणका लागि पुगेका महिलामध्ये अधिकांशमा रोग बल्झिएको अवस्थामा पाइएको डा. न्यौपानेले बताइन् । ‘केही महिलामा पाठेघर खसेर तत्काल शल्यक्रिया गर्नुपर्ने खालका केस थिए । यसबाहेक किशोरीमै महिनावारी गडबडी हुने, महिनावारीको समयमा अत्यधिक रगत बग्ने र कम उमेरमै सेतो पानी बग्ने समस्या देखिए । तर, उपचार नपाउँदा रोगसँगै बाँच्नुपर्ने दयनीय अवस्था छ,’ उनले भनिन् ।

शिविरमा मात्रै नभई सुर्खेतका अस्पतालसम्म पुग्ने अधिकांश महिला पाठेघर झरेपछि वा पाठेघरमा घाउ भएर रगत बगिसकेपछि मात्रै अस्पतालसम्म पुग्ने गरेको अस्पतालहरूको तथ्यांकले देखाउँछ । कर्णालीका अधिकांश जिल्लाबाट उपचारका लागि पुग्ने प्रादेशिक अस्पताल सुर्खेतको तथ्यांकअनुसार रोगले थलिएर अन्तिम अवस्थामा मात्रै पुग्नेको संख्या झन्डै शतप्रतिशत छ । गत वर्षको जेठदेखि जेठ मसान्तसम्म अस्पतालमा उपचारका लागि पुगेका दुई लाख १४ हजार एक सय १८ बिरामीमध्ये एक लाख २९ हजार दुई सय ९६ जना महिला छन् । जसमध्ये तत्काल अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका मात्रै २२ हजार चार सय २२ जना अस्पताल पुगेका हुन् । 

अघिल्लो आर्थिक वर्षमा पनि एक लाख ५३ हजार एक सय ५५ जना उपचारका लागि अस्पताल पुगेकामध्ये ९८ हजार तीन सय ८६ जना महिला छन् । अस्पतालको तथ्यांकअनुसार २१ हजार एक सय ३६ महिला तत्काल अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा आइपुगेका थिए । अस्पतालका प्रवक्ता विनोद बस्नेतले भने, ‘टाढाका जिल्लाबाट सुर्खेत आइपुग्ने बिरामी विशेषगरी जिल्ला अस्पतालबाट रिफर गरिएका हुन्छन् । यसबाहेक स्वास्थ्यचौकीबाट लिइएको आधारभूत सेवाबाट निको नभएपछि अर्थात् गम्भीर बिरामी परिसकेपछि मात्रै सुर्खेतसम्म पुग्ने गरेका छन् ।’ 

तुरुन्तै शल्यक्रिया गर्नुपर्ने केसमा समेत ठूला अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नहुँदा प्राथमिक उपचारका भरमा बाँचिरहेका थुप्रै महिला भेटिने गरेको चिकित्सकहरूको भनाइ छ । स्त्रीरोग विशेषज्ञ चिकित्सक खिमा न्यौपानेका अनुसार सानै उमेरमा पाठेघर खस्ने समस्या भए पनि आफ्नो समस्याबारे खुलेर बोल्न नसक्ने भएकाले थप समस्या भइरहेको पाइन्छ । विशेषगरी जाजरकोट, कालीकोट, मुगु, दैलेख, सुर्खेतलगायत ग्रामीण भेगबाट अस्पतालसम्म पुग्ने बिरामीमध्ये अधिकांश बिरामी गम्भीर बिरामी भएर अस्पताल पुग्ने गरेको उनको भनाइ छ । ‘तत्काल शल्यक्रिया गर्न नसकिने पाठेघर खसेका महिलामा प्राथमिक उपचारका रूपमा पाठेघरलाई झर्न नदिन ‘रिङ प्रेसरी’ राखिने गरिन्छ । तर, जाजरकोट, कालीकोट, दैलेख, सुर्खेत, मुगुलगायत विभिन्न क्षेत्रका महिला आर्थिक अभावलगायतका कारण वर्षौँसम्म ‘रिङ प्रेसरी’ राखेर बाँचिरहेका भेटिन्छन्,’ उनले भनिन् ।

समयमा उपचार नगराउँदा धेरै महिलाको पाठेघरको क्यान्सर भइसकेको र कतिपय पाठेघर खसेको अवस्थामा पुग्ने गरेको पाइएको छ । ‘सरसफाइको अभावमा सेतो पानी बग्ने सामान्य अवस्था पनि रोगमा परिणत भइरहेको छ । शिविर र अस्पतालसम्म पुग्ने महिलालाई पाठेघरको परीक्षण गराउनुपर्ने बताए पनि अधिकांशले औषधि दिनुस्, चेकजाँच गर्नुपर्दैन भन्ने गरेका छन् । खासगरी छोटो जन्मान्तरमा धेरै बच्चा पाउनु, सुत्केरी अवस्थामा स्वस्थ खाना नपाउनु, सरसफाइको अभाव, गम्भीर बिरामी नपर्दासम्म अस्पताल नपुग्नु, रोग लुकाएर बस्नु वा अस्पतालसम्म पुग्ने अवस्था नहुनुजस्ता कारण महिलाले स्वास्थ्य जटिलता झेल्ने गरेका छन्,’ डा. न्यौपानेले भनिन् ।

शिविरमा पुग्ने झन्डै ७० प्रतिशत महिलामा जटिल समस्या 
स्वास्थ्य संस्था र सरकारको समन्वयमा गाउँघरलाई लक्षित गरेर गरिने स्वास्थ्य शिविरमा आउने अधिकांश महिलामा जटिल स्वास्थ्य समस्या देखिने गरेको डा. नवराज केसीले बताए । स्वास्थ्य शिविरका लागि ग्रामीण भेगमा नियमित गइरहने केसीका अनुसार गाउँघरमा स्क्रिनिङ र अन्य स्वास्थ्य परीक्षणका लागि गरिने सामान्य शिविरमा झन्डै ७० प्रतिशतभन्दा बढी महिला रोगले थलिएर जटिल अवस्थाका केसहरू देखिने गरेका हुन् । ‘गाउँघरमा गरिने अधिकांश शिविरमा वर्षौँदेखि पाठेघर खसेका, पाठेघरमा संक्रमण फैलिइसकेका, महिनावारी अनियमितता भएका, लामो समयदेखि रगत बगिरहेकाजस्ता जटिल केससमेत शिविरमा आइपुग्छन्,’ उनले भने, ‘हेर्दा ६०–६५ वर्षका जस्ता महिलाको उमेर सोध्दा ४० वर्षको हाराहारीमा हुन्छ । अर्थात् वर्षौँसम्म कुनै न कुनै रोगसँग जुधिरहेका महिलाको आयु पनि घटिरहेको हुन्छ । यसको सीधा असर उनीहरूको जीवनशैलीमा परिरहेको छ ।’ 

समयमै अस्पतालसम्म पुर्‍याएर शल्यक्रिया गर्नुपर्ने वा तुरुन्तै उपचार थाल्नुपर्ने अवस्थामा रहेका कतिपय महिला बाटोको सुविधा नहुँदा घरमै मर्ने गरेको केसी बताउँछन् । ‘कतिपय महिलाले रोग सहेर बस्छन्, तर आफूलाई गाह्रो भइरहेको भनेर परिवारलाई भन्दैनन् । भनिहालेमा पनि दुई–चारपटकसम्म अस्पताल पुग्छन्, त्यसपछि हुने खर्च व्यहोर्न नसक्ने भन्दै उपचार गर्न छोड्छन्,’ उनले भने, ‘खासगरी महिलासँग आफ्नो उपचारका लागि स्वयंले खर्च गर्न सक्ने अवस्था नहुनु, रोग र उपचारबारे जानकारी नहुनु र स्वास्थ्य संस्थासम्म पुग्न परिवारका सदस्यसँग निर्भर रहनुले स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन् ।’