१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गोदावरीका नगरप्रमुख महर्जनविरुद्ध अख्तियारमा उजुरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४८:oo

दुई सय ५० रोपनी सार्वजनिक जग्गा हिनामिनामा संलग्न भएको भन्दै गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महर्जनले पदको दुरुपयोग गरेर आर्थिक लाभ हासिल गरी सार्वजनिक जग्गा नेपाल आर्ट भिलेजलाई व्यापारिक प्रयोजनका लागि दिएको उजुरीमा उल्लेख छ ।

‘संस्थालाई व्यावसायिक प्रयोजनका लागि लिजमा दिएको भनिए पनि नगर परिषद्, बोर्डले पारित गरेको देखिँदैन । संस्थासँग नगरले जग्गा दिन कुनै सम्झौतासमेत गरेको देखिँदैन । अहिले सार्वजनिक जग्गामा संस्थाले गोरेटो बनाउने, सम्याउने, संरचना बनाउने, सडक खन्नेलगायतको काम गरिरहेको छ,’ उजुरीकर्ता गोदावरी नागरिक सरोकार समूहले भनेको छ ।

स्थानीय तहले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व भएको र सार्वजनिक सम्पत्ति लिजमा दिन केन्द्रीय सरकारको स्वीकृति लिनुपर्ने प्रावधान छ । तर, सो संस्थाले उक्त डाँडामा ६४ फिट अग्लो भैरवको मुकुट स्थापना गर्ने जनाएको छ । हस्तकलाको प्रदर्शनस्थल, भ्युटावर, रेस्टुराँ राख्ने योजनासमेत संस्थाको छ ।

आवासीय र औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको संस्थालाई सार्वजनिक जग्गा दिई नगरप्रमुख महर्जनले अनियमितता र भ्रष्टाचार गरेकाले उनीमाथि सूक्ष्म ढंगले अनुसन्धान गरी कारबाही गर्न उजुरीमा उल्लेख गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहले सार्वजनिक सम्पत्ति र जग्गाको संरक्षण गर्नुपर्ने उल्लेख छ । सोही ऐनको दफा ९७ मा पालिकाले आफ्नो क्षेत्रभित्रको सम्पत्तिको रेखदेख, मर्मत–सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने व्यवस्था छ । सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ति, आफ्नो स्वामित्वमा रहेको भवन, जग्गा, पार्कलगायत अन्य संरचनाको पालिकाले संरक्षण गर्नुपर्ने ऐनमा उल्लेख छ । 

ad
ad