१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:५७:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

समाजवादी मोर्चाको अनुहार

भन्नलाई जे भनिए पनि मोर्चा बनाएर यसमा सामेल संसद्वादी दलले अन्य दुई ठूला दलसँग आफ्नो मोलमोलाइको शक्ति बढाएका छन्

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:५७:oo

लामो रस्साकस्सी र कब्जियतपछि बल्ल हिजो नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपा मिलेर समाजवादी मोर्चा बन्यो । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषता पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मुख्य उद्देश्य राखेको छ । आफ्नो उद्देश्यमा यो मोर्चा कति सफल होला, त्यो त्यसमा आबद्ध राजनीतिक दलका नेताको आपसी विश्वास, इमानदारी, तिनको सुझबुझ र कार्यसञ्चालनका मार्गमा आउने चुनौती सामना गर्ने तिनको क्षमतामा भर पर्ला ।

त्यसैले, अहिले नै यो सफल भइहाल्छ वा असफल नै हुन्छ भन्ने निष्कर्ष निकाल्नु हतारो हुन्छ, किनकि यो भनेको लामो यात्राको पहिलो बिसौनी हो र यसको परिणाम समयक्रममा देखिने विषय हो । पंक्तिकारले यस आलेखमा मोर्चाको दस्ताबेजको अन्तरकुन्तर चियाउने वा त्यसको सकारात्मक र नकारात्मक पक्षबारे पनि विवेचना गरिरहेको छैन । 

पंक्तिकारको नजर मूलतः मोर्चा निर्माणको समय, मोर्चामा सामेल राजनीतिक पार्टीको प्रकृति, समाजवादी मोर्चा निर्माणका लागि लामो समयदेखि दौडधुप गरिरहेका नेताको अनुपस्थिति, प्रमुख प्रतिपक्षी दल एमालेका नेताको प्रतिक्रिया र सत्तारुढ गठबन्धनकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मौनता, कार्यकर्तामा देखिएको उत्साह र आमजनतामा देखिएको अन्यमनष्क भावतर्फ केन्द्रित रहनेछ । 

मोर्चा निर्माणको समय :  सबैभन्दा पहिले मोर्चा निर्माणको समयलाई हेरौँ । विगतको अनुभवलाई हेर्ने हो भने नेपालमा कि त मोर्चा आन्दोलनका लागि बन्ने गरेका छन् कि त निर्वाचनका लागि । तर, यतिवेला न त आन्दोलनको मौसम छ, न त निर्वाचन नै सन्निकट छ । उसो भए यो मोर्चा अहिले नै किन ? हो, यहीँनेर मोर्चाको घोषित उद्देश्य र वास्तविकतामाझ गहिरो खाई देखिन्छ । वास्तवमा भन्नलाई जे भनिए पनि यो मोर्चामा सामेल संसद्वादी दल अन्य दुई ठूला दलसँग आफ्नो मोलमोलाइको शक्ति बढाउन चाहन्छन् । 

मोर्चा गठनका लागि लामो गृहकार्य गरेका डा. बाबुराम भट्टराई मोर्चामा अटेनन् । मोर्चाभित्र सामेल कुनै एक दलका नेतासँग उनको वैरभाव नै यसको कारण त होइन ? यदि हो भने मोर्चा गठनमै निषेधको राजनीति गर्नेहरूको आगामी यात्रा कति निरापद होला ?
 

अब मोर्चामा आबद्ध दलको प्रतिनिधिसभाको अंकगणित ५४ को बेवास्ता गर्नै नमिल्ने ठाउँमा पुग्छ, जसले गर्दा कांग्रेस र एमाले नै मिल्ने अवस्थामा बाहेक यिनलाई पन्छाएर कुनै सरकार बन्न सक्दैन । र, फेरि अहिलेदेखि नै मोर्चाको अभ्यास गर्न सकियो र यसले सकारात्मक परिणाम दियो भने सुदूर भविष्यमा हुने आमनिर्वाचनमा यसपटकको जस्तो झड्का व्यहोर्नु पर्नेछैन भन्ने पनि आकलन होला दलहरूको । यसबाहेक पनि माओवादीलाई नेत्र विक्रमको साथले आफ्नो इमेज उकास्ने अवसर, जनता समाजवादीलाई जनमत पार्टीको धक्काबाट बच्ने सामथ्र्य र एकीकृत समाजवादीलाई किस्ता–किस्तामा आफ्ना नेता–कार्यकर्ता एमालेमा फर्किने भयबाट मुक्ति पनि कारण हुन सक्छन् ।

फरक प्रकृतिका दलको सामेली :  अब एकपटक यो समाजवादी मोर्चामा सामेल राजनीतिक दलको प्रकृतितर्फ नियालौँ । नेत्रविक्रम चन्दको पार्टीबाहेक अरू त संसदीय राजनीतिमा खाई–खेली रमाएकै दल हुन् । उनीहरूसँग बिल्कुल विजातीयजस्तो देखिने र क्रान्तिको रापतापले सुसज्जित पार्टी कसरी र किन यो मोर्चामा आबद्ध हुन आयो होला ? संसद्वादी दलका लागि त मोर्चामा थप एउटा दल आउने र त्यो पनि भड्किएर हिंसाको बाटामा हिँडेको शक्ति शान्तिपूर्ण राजनीतिमा आउने हुँदा ठिकै हुने होला । तर, प्रश्न त ‘नयाँ प्रचण्ड’ बन्न हिँडेका चन्द किन यी संसद्वादीको मोर्चामा आए भन्ने हो नि ! पंक्तिकारलाई लाग्छ, यसका केही खास कारण हुन सक्छन् । 

एउटा त आफू हिँडेको बाटोबाट पुनः हिजोको जस्तो शक्ति आर्जन गर्न सकिन्न भन्ने अनुभूति, अर्को विभाजनका कारण शक्ति क्षयको अवस्था । यीअतिरिक्त माओवादी केन्द्रमा पुस्तान्तरको अवस्था आउँदा त्यहाँ आफ्ना लागि स्थान बनाउन सकिन्छ कि भन्ने आकलन पनि हुन सक्छ । अन्यथा, वैज्ञानिक समाजवाद खोज्न हिँडेको दलका लागि यी रंगीचंगी समाजवादीसँग नारिनुपर्ने बाध्यता कसरी आइपुग्यो होला ?

खड्किएको विषय :  यो समाजवादी मोर्चामा डा. बाबुराम भट्टराईको अनुपस्थिति सबैभन्दा खड्किएको विषय हो । दुनियाँ जान्दछ कि यो समाजवादी मोर्चा उनकै मानस–सन्तान हो । यसका लागि उनले लामै गृहकार्य पनि गरेका थिए । उपेन्द्र यादवसँग छुट्टिएपछि उनले गठन गरेको दलको नाम नै नेपाल समाजवादी पार्टी राखे । त्यति मात्र होइन, यसका लागि उनले माओवादी केन्द्रसँग चुनावी तालमेल पनि गरे । तर, उनै डाक्टर साहेब यो मोर्चामा अटाएनन् । के मोर्चाभित्र सामेल कुनै एक दलका नेतासँगको उनको वैरभाव नै त यसको कारण होइन ? यदि यही नै कारण हो भने मोर्चा गठनमै निषेधको राजनीति गर्नेहरूको आगामी यात्रा कति निरापद होला ? यसको जवाफ मोर्चा निर्माणका हर्ताकर्ताले नदिई धर पाउँदैनन् ।

अन्य दलको प्रतिक्रिया :  जहाँसम्म प्रमुख प्रतिपक्षी दल एमालेको नकारात्मक प्रतिक्रियाको प्रश्न छ, त्यो बुझ्न सकिन्छ । आफूलाई मात्र समाजवादको ठेकेदार ठान्ने त्यस पार्टीका अध्यक्षको यो मोर्चा आफ्ना लागि चुनौती बन्ने आकलन होला । यसले संसद्भित्र गणितीय खेल खेलेर खेलोफड्को गर्ने बाटो थुनेको अनुभूति पनि हुन सक्छ । सबैभन्दा ठूलो विषय एकीकृत समाजवादीलाई फुटाएर वा लोभ्याएर आफ्नो संसदीय शक्ति बढाएर कांग्रेस टक्करको पार्टी बन्ने सम्भावनामाथि छेकबार लाग्ने अवस्था आएका कारण पनि त्यो दल तिलमिलाएको हुन सक्छ । 

अब एकपटक सत्तारुढ गठबन्धनभित्रको सबैभन्दा ठूलो दल कांग्रेसतर्फ फर्कौं । समाजवादी मोर्चा निर्माणको लामो रस्साकसी हुँदादेखि बन्दासम्म पनि त्यो दलले पक्ष वा विपक्षमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यसको सोझो अर्थ हो, उसलाई यसबाट कुनै घाटा–नाफा हुनेवाला छैन । न उसको भोटबैंकमा नकारात्मक प्रभाव पर्नेवाला छ, न त सत्ता गठबन्धन दाहिने–देब्रे हुनेवाला छ । ‘हिंग लगे न फिटकिरी,’  अतः ऊ निश्चिन्त हुनु त स्वाभाविकै हो । 

प्रतिक्रिया : अब एकपटक मोर्चा घोषणाको सभास्थलमा देखिएको कार्यकर्ताको उत्साह, सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी र आमजनतामा देखिएको अन्यमनष्क भावलाई अथ्र्याऊँ । कार्यकर्ता उत्साही हुनु त स्वाभाविक छ, किनकि यदि यो मोर्चाको प्रयोग सफल भयो भने त्यसले तिनको हैसियत त बढ्ने नै भयो र त्यसमा थप तिनको अन्य दलसँगको प्रतिस्पर्धी क्षमता पनि बढ्ने निश्चित छ । रह्यो, सामाजिक सञ्जालको कुरा । त्यो भनेको कि कसैलाई सर्काउन लागिपर्छ कि उडाउन । उनै जाँचिसकिएका नेताहरूको जमघटलाई सर्काउनभन्दा उडाउँदा वाहवाही पाइने हुँदा ती त्यता लाग्ने नै भए । जहाँसम्म आमजनताको प्रश्न छ, ती पटक–पटक राजनीतिक दलहरूसँग यसरी ठगिएका छन् कि तिनलाई राजनीतिक दलका हरेक फन्डा झुटो लाग्छ । अतः तिनले परिणाम देखे भने मात्रै पत्याउने अवस्था छ । तिनका लागि यो मोर्चा ‘ढाँटको निम्ता खाई पत्याउनु’ भनेझैँ भएको छ । 

अन्त्यमा :  र, अन्त्यमा समाजवादकै कुरा गरेर आलेख टुंग्याऊँ । बीसौं शताब्दीका प्रसिद्ध बेलायती समाज वैज्ञानिक सिइएम जोडले  भनेका थिए, ‘समाजवाद यतिवेला जसले पनि टाउकोमा भिरेका कारण आकृति गुमाएको टोपीजस्तो भएको छ ।’ उनको यो कथन हाम्रो मुलुकको परिवेशमा ठ्याक्कै मिल्छ । हाम्रो त संविधान नै समाजवादउन्मुख छ ।

समाजवादी नामै भएका र पुच्छर जोडिएका पार्टी पनि बग्रेल्ती छन् । कोही लोकतान्त्रिक समाजवादी छन् भने कोही बहुदलीय समाजवादी, त कोही वैज्ञानिक समाजवादी । हुँदाहुँदा सत्तारुढ दलविरुद्ध सिर्जित जनअसन्तोषको बुई चढेर उदय भएको दलसमेत समाजवादतर्फ लाग्न अग्रसर देखिन्छ । यी सबैबीच अस्तित्वमा आएको छ, यो समाजवादी मोर्चा । 
आजको जमाना प्रभावकारी राज्यको हो ।

मुलुकमा कुन वादको शासन छ भन्दा पनि कसले व्यापक जनसमुदायको हितमा प्रभावकारी शाासन दिन सक्छ, त्यसले अर्थ राख्छ र त्यो चल्छ पनि । समाजवादकै वैचारिक आवरणमा पनि ‘झुर शासन’ भयो भने त्यसको पछि कोही किन सती जान तयार हुन्छ ? यो कुरालाई ध्यानमा राखेर मोर्चा निर्माणमा लागेका दलहरू आआफ्नो ‘इमेज’ सुधार्दै अघि बढे भने केही होला पनि । होइन भने जुन जोगी आए पनि कानै चिरिएका त हुन् नि भन्ने भाष्य जनतामा जान बेर लाग्दैन । यसको हेक्का समाजवादी मोर्चाका निर्मातालाई हुन जरुरी छ ।  
 

ad
ad