
बागमती प्रदेशको राजधानीमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक संकटको कारण देखाउँदै १४६ जना कर्मचारी कटौती गर्ने निर्णय गरेको गरेको छ ।
प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीको अध्यक्षतामा आइतबार बसेको बैठकले कर्मचारी कटौती गर्ने निर्णय गरेको हो ।
आगामी आर्थिक वर्षमा प्रतिष्ठानका लागि कम बजेट आउने भएपछि बजेट अभावका कारण देखाउँदै प्रतिष्ठानले कर्मचारी कटौतीको घोषणा गरेको हो । प्रतिष्ठानले आगामी आर्थिक वर्षमा तलब भत्ता वितरणमै समस्या हुने भएपछि कर्मचारी हटाउनु परेको दावी गरेको छ ।
प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले चालु आर्थिक वर्षमा हेटौँडा अस्पतालका लागि नियुक्त गरिएकामध्ये १४६ जना प्रशासनिक र प्राविधिक कर्मचारी कटौती गर्ने निर्णय भएको जानकारी दिए ।
‘प्रतिष्ठानका लागि संघीय सरकार र प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनमा कम बजेट विनियोजन गरेकाले अस्पताल तर्फका कर्मचारीलाई के गर्ने भन्ने कुरामा समस्या भएपछि तलब नै खुवाउन नसक्ने भएपछि हटाउने निर्णय गरेका हौँ,’ उनले भने ।
ती कर्मचारीको व्यवस्थापनको जिम्मेवारी र कर्मचारीलाई तलब भत्ता वितरणमा नै समस्या हुने भएपछि आउँदो १ साउनदेखि लागु हुने गरी करार सम्झौता खारेज गर्नुपरेको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमरसिंह अधिकारीले जानकारी दिए ।
अधिकृत अधिकारीले प्रदेश सरकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रतिष्ठानको सात करोड १९ लाख रुपैयाँ बजेट कटौती गरेको जानकारी दिए । अधिकारीका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।