
लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ। लुम्बिनीमा पहिलोपटक गरिएको चालू आर्थिक वर्ष ०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो।
सोहीअनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर २.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर ५.३ प्रतिशत थियो।
आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन नसक्दा आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले बताए।
उनका अनुसार कुल गार्हस्थ्य उत्पादन चालू वर्षमा रु. सात खर्ब ६३ अर्ब पुग्ने अनुमान छ। अघिल्लो वर्ष रु. ६ खर्ब ९८ अर्ब थियो। चालू वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनको अंश १४.२ प्रतिशत रहने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा अंश १४.४२ प्रतिशत थियो।
चालू वर्षमा कृषि क्षेत्रको ३.६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर १.५० प्रतिशत रहने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष यो वृद्धिदर क्रमशः २.४ र ५.९ प्रतिशत थियो।
चालू आर्थिक वर्षमा लुम्बिनीमा प्रतिव्यक्ति आय एक हजार एक सय २६ अमेरिकी डलर रहेको प्रक्षेपण गरिएको छ। लुम्बिनीको गरिबीको औसत दर १८.४ प्रतिशत छ।
चालू आर्थिक वर्षको चैतसम्ममा लुम्बिनीमा रु. तीन अर्ब ६४ करोड २५ लाख राजस्व प्राप्त भएको छ। यो लक्ष्यको ७४ प्रतिशत हो।