१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

१४ वर्षीय धीरजले बनाए तीनपांग्रे गाडी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५४:oo

भरतपुरको एक सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले गाडी बनाएका छन् । शरदपुर माध्यमिक विद्यालयको कक्षा नाैमा पढ्ने १४ वर्षका धीरज काफ्लेले पेट्रोलबाट चल्ने तीनपांग्रे गाडी बनाएका हुन्। सानै उमेरदेखि बजारका इलेक्ट्रिक सामानहरू ल्याउने र त्यसलाई आफ्नै स्वरूपमा निर्माण गर्ने काफ्लले कक्षा आठको परीक्षापछिको बिदामा गाडी बनाएका थिए।

‘घरबाट खाजा खान छुट्याएको पैसाले इलेक्ट्रिक खेलाउना किन्थेँ,  अनि त्यसलाई बिगारेर आफ्नो रूप दिन्थेँ, काफ्लेले भने, ‘चार कक्षाबाट अहिलेसम्म विद्यालयमा खाजा खाएको छैन ।’ सामान्य गाडी र खेलाउना विगतमा धेरै बनाए पनि मान्छे चढेर हिँड्न मिल्ने गाडी भने काफ्लेले पहिलोपटक बनाएका हुन् ।  उनको परिवारले उनलाई दैनिकजसो २० रुपैयाँ खाजाबापत पैसा दिने गरेको छ। 

‘कक्षा आठको परीक्षा सकेपछि गुड्ने गाडी बनाउने सोच आयो । एक्लै सम्भावना नदेखेपछि मैले मेरा साथीहरूलाई भनेँ । साथीहरू विकास केसी, सतिश अधिकारी, माेहन यादव र शक्ति सिंहले पनि मलाई सहयोग गरे,’ काफ्लेले भने, ‘साथीहरूले निर्माण कार्य मात्र नभई सामान खरिदमा समेत सहयोग गरेका छन् ।’

उनीहरूले चैत अन्तिम साताबाट बनाउन सुरु गरिएको गाडी जेठ पहिलाे सातादेखि सडकमा कुदिरहेको छ । स्कुटीका चक्का र टायर प्रयोग गरिएको यो गाडीमा स्ट्रेरिङ, बत्ती, हर्न सबै छन् । स्थानीय स्रोत र साधनको प्रयोग गरिएको गाडी ४० को स्पिडसम्म कुद्न सक्ने धीरज काफ्ले बताउँछन् ।  धीरज काफ्लेको बुबाको ग्यारेज छ । आमा अञ्जना गृहिणी हुन् । आमालाई पनि छोराको इच्छा र रुचि देखेर इन्जिनियर होस् भन्ने चाहना छ ।

हुन त यो गाडी बनाउने सबैको लक्ष्य कृषि उपकरणहरूतर्फ छ । अवसर पाए उनीहरू भविष्यमा रोमन म्यागासेसे पुरस्कार विजेता एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँगै बसेर काम गर्न चाहन्छन्। विद्यालयका शिक्षक, अभिभावक सबै उनीहरूको यो प्रतिभा प्रोत्साहन गर्ने लक्ष्यमा छन् । 

विद्यार्थीको प्रतिभालाई हौसला दिन विद्यालयका शिक्षकहरूले पनि स्वेच्छिक रूपमा रकम संकलन गरेर उनीहरूलाई २५ हजार रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटाले बताए । यद्यपि, विद्यार्थीहरू थप तीन लाख भए गाडीलाई इलेक्ट्रिक बनाउने र डेकुरेसन गर्ने सोचमा छन् । यसलाई डेकोरेसन गरेर थप आकर्षक बनाउने काफ्लेले बताए । 
विद्यार्थीहरूले पढाइलाई व्यावहारिकतामा जोडेको विद्यालयका विज्ञान शिक्षक दीपेन्द्र घिमिरेले बताए । ‘विद्यार्थीहरूले कल्पना गरेको गाडीको सुरुबाटै सहयोगीको रूपमा काम गरेको छु । उनीहरूको मिहिनेत र क्षमता लोभलाग्दो छ,’ उनले भने । उनीहरूको यो प्रतिभालाई विद्यालयले स्थानीय तहसँग समन्वय गरेर थप हौसला थप्ने काम गर्ने बताएको छ । 

ad
ad