१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २९ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका महोत्तरी
२o८o जेठ २९ सोमबार १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौसम फेरिँदा तराई-मधेसमा केही राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८o जेठ २९ सोमबार १५:२२:oo

चिसो बतास चलेर ठाउँठाउँमा पानी परेपछि बढेको गर्मीबाट केही राहत मिलेको मधेसका स्थानीय बताउँछन्। जेठ लागेयता पानी नपरेर लगातार बढ्दो तापमानले प्रभावित भएको जनजीवनमा आइतबार साँझदेखि चिसो बतास चल्नुका साथै ठाउँठाउँमा पानी परेपछि केही राहत भएको हो। 

महोत्तरीमा आइतबार साँझ पूर्व–पश्चिम राजमार्गवारिपारि क्षेत्रमा केहीबेर मेघगर्जनसहित पानी परेपछि शीतल महसुस गरिएको छ। 

जेठ मध्ययता एकाबिहानैदेखि लाग्ने टड्कारो घाम आज मलिन भएको छ। आकाशमा काला बादलका टुक्रा देखिँदा र चिसो बतास चलिरहँदा अब राम्ररी पानी पर्ने आस जागेको यहाँका स्थानीय बताउँछन्। जेठ मध्ययता हिजो अपराह्नसम्म केही घटबढ हुँदै तापमान ४४ डिग्री सेल्सियससम्म मापन गरिएको थियो। 

आज बिहान महोत्तरीका बर्दिबास, गौशाला, औरही र भंगाहामा जडित मौसम सूचना केन्द्रले तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल देखाएका र पानी पर्न सक्ने संकेत दिइरहेका दैनिक मौसम सूचना हेरिरहेका बर्दिबास– ६ का नीलबहादुर लुम्रेले बताए। 

जिल्लामा लामो समयदेखि घामको राप बढ्दै गएर पानी नपर्दा पानीका मुहान सुकेर खानेपानीको हाहाकार बढ्दै गएको छ। मौसममा फेरबदल आए पानी पर्ने र मुहान रसाउने सर्वसाधारणले आशा गरेका छन्। मौसम तथा जलवायुविज्ञ विराट पन्तले अझै राम्ररी पानी पर्ने सम्भावना नरहेको बताए। जलवायु परिवर्तनको असरले मौसमको पूर्वानुमान गरिने परम्परागत मान्यता खण्डित भएको उनको भनाइ थियो।

जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी कार्यरत संस्था रूपान्तरणमा जलवायुविज्ञ रहेका पन्तले विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका असरभित्र आफूलाई अनुकूल बनाउँदै लैजानुपर्ने बताए। 

लामो समयसम्म लागेको खडेरीले चरन क्षेत्रका सिमसार, भूल (भुल्के जरुवा पानीका मुहान) र चरन पानीघाटमा पानी सुकेपछि पशुवस्तु पालनमा पनि अप्ठ्यारो थपिएको छ। खडेरीका कारण बालीनाली ओइलाउने, सुक्ने र मर्ने क्रम बढ्दो छ। खडेरीले उखुबाली डढ्न थालेपछि उखु किसान चिन्तित छन्।