एसएसपी पालबाट अरू महिला प्रहरी पनि पीडित

बिहिबार, २५ जेठ, २०८०
डिजिटल संस्करण

प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको घटनामा छानबिनमा रहेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले अन्य महिला प्रहरीलाई पनि दुर्व्यवहार गर्दै आएको खुलेको छ । नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर कञ्चनपुरमा कार्यालय प्रमुखका रूपमा कार्यरत रहँदा उनले त्यहाँका अन्य महिला कर्मचारीलाई पनि विगतदेखि नै दुर्व्यवहार गर्दै आएको छानबिनमा खुलेको हो । 

गत १९ जेठमा एक महिला प्रहरीलाई दुर्व्यवहार गरेको घटनामा प्रहरी प्रधान कार्यालयले उनलाई त्यहाँबाट सरुवा गरेर छानबिन गरिरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका एसपी श्यामसिंह चौधरीको अध्यक्षतामा समिति गठन भई छानबिन भइरहेको छ । सो छानबिनका क्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूहरूलाई समेत एसएसपी पालले दुर्व्यवहार गर्दै आएको सुनाएका हुन् । छानबिन समितिले १९ जेठको घटनाबारे कार्यालयका प्रहरी कर्मचारीसँग सोधपुछ गरेको थियो । जसक्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूमाथि एसएसपी पालले गरेको दुर्व्यवहारका घटना सुनाएका छन् । 

‘कोही पनि महिला प्रहरी उहाँलाई एक्लै भेट्न जानै डराउने रहेछन्,’ प्रदेश प्रहरी कार्यालयका एक अधिकारी भन्छन्, ‘विगतमा पनि धेरै महिला प्रहरीलाई निवासमा बोलाउने र उनीहरूको प्रशंसा गरेर त्यहीँ बस भन्दै फकाउने गरेको बुझियो ।’ स्थानीयस्तरमा पनि उनको बारेमा नराम्रो छवि रहेको समेत छानबिन समिति स्रोत बताउँछ । पाल गत पुसदेखि सो कार्यालयमा प्रमुखका रूपमा कार्यरत छन् । 

गत १९ जेठमा बिदामा घर जान लागेकी सहायक हवल्दारलाई आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै उनले दुर्व्यवहार गरेका थिए । ती महिला प्रहरीले प्रतिकार गरी उनको कोठाबाट निस्किएर सहकर्मीलाई त्यसबारे जानकारी गराई प्रदेश कार्यालय धनगढीमा उजुरी गरेकी हुन् । सोही दिन प्रहरी प्रधान कार्यालयले उनलाई जिम्मेवारीबाट हटाएको थियो । प्रहरी कार्यालयभित्रै भएको गम्भीर प्रकृतिको दुर्व्यवहार घटनामा कानुनी कारबाहीको प्रक्रिया भने सुरु भएको छैन । आफूविरुद्ध जाहेरी नदिन एसएसपी पालले आफन्तमार्फत ती महिला प्रहरीलाई फकाउने प्रयास गरिरहेको स्रोत बताउँछ । प्रहरी प्रधान कार्यालयले पनि उनीमाथि कारबाहीमा ढिलाइ गरिरहेको छ ।

निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राई भने प्रदेश कार्यालयबाट छानबिन प्रतिवेदन आएलगत्तै कारबाही प्रक्रिया अघि बढ्ने बताउँछन् । ‘महिलामाथि हुने हिंसाका घटनामा प्रहरीले शून्य सहनशीलताको नीति लिएको छ,’ उनले भने, ‘छानबिन प्रतिवेदन आएलगत्तै एक्सनमा जान्छौँ ।’ एसपी चौधरी नेतृत्वको समितिले एक–दुई दिनमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोही प्रतिवेदनका आधारमा उनको निलम्बन हुने–नहुने तय हुन्छ । साथै, पक्राउ गरेर मुद्दा चलाउने प्रक्रिया भने पीडित महिलाको जाहेरीमा भर पर्ने प्रहरी अधिकारी बताउँछन् ।  

एसएसपी पाल विगतमा पनि यस्ता घटनामा संलग्न भई उन्मुक्ति पाउँदै आएका अधिकारी हुन् । ०७१ मा सोलुखुम्बुको प्रहरी प्रमुख भएका वेला पनि आचरणसम्बन्धी गम्भीर घटनामा उनलाई हटाइएको थियो । त्यतिवेला पनि महिला प्रहरीका साथै एक गैरप्रहरीमाथिको घटनाको उजुरीका आधारमा उनलाई सरुवा गरे पनि कारबाही भने हुन सकेन । त्यसअघि बौद्ध वृत्तमा हुँदा पनि उनी कारबाहीमा परेका थिए । प्रहरीका उनी सबैभन्दा विवादास्पद अधिकृतका रूपमा चिनिन्छन् । पाल ०५२ को इन्स्पेक्टर भर्नामा असफल भएपछि राष्ट्रिय अनुसन्धान विभागबाट राजनीतिक सोर्सफोर्सका आधारमा भर्ना भई पछि नेपाल प्रहरीलाई स्थानान्तरण भएका अधिकृत हुन् । 

सुझावित समाचार