मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०८० जेठ २५ बिहीबार ०७:३६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दुई वर्षदेखि पाएनन् वैदेशिक रोजगार छात्रवृत्ति 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०८० जेठ २५ बिहीबार ०७:३६:००

वैदेशिक रोजगारी छात्रवृत्तिअन्तर्गत पाउनुपर्ने रकम नपाएको सर्लाहीका लाभग्राही परिवारले गुनासो गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डबाट बर्सेनि पाउँदै आएको छात्रवृत्ति दुई वर्षदेखि नपाएको लाभग्राही निशान्त धिमालले गुनासो गरे । धिमालका बुबाको वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको थियो ।

हाल उनी हजुरबुबाको रेखदेखमा छन् । घरमा कमाउने कोही नहुँदा स्थानीय विद्यालयमा सात कक्षामा पढ्ने उनले कापीकलम किन्नसमेत समस्या भएको बताए । यसअघि धिमालले पाउने छात्रवृत्ति रकमबाटै पढाइ–लेखाइ खर्च टर्दै आएको थियो । बेसहारा परिवारको सहारा बनेको छात्रवृत्तिमा समेत राज्यले पीडित परिवारलाई झुक्याएको निशान्तका हजुरबुबा पुण्यप्रसाद धिमालले बताए । यसअघि शिक्षा विकास तथा समन्वय एकाइबाट पाउँदै आएको छात्रवृत्ति गएको दुई वर्षदेखि नपाएको उनीहरूको गुनासो छ ।

सर्लाहीमा एक सय ४९ जना लाभग्राही छात्रछात्रा छन् । बोर्डले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमार्फत निम्न माध्यमिक तहका छात्रछात्रालाई आठ हजार र माध्यमिक तहका छात्रछात्रालाई १२ हजार वार्षिक छात्रवृत्ति दिँदै आएको थियो । छात्रवृत्तिका लागि आफूले गत वर्ष र यस वर्ष गरी दर्जनौँपटक शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय धाएको पीडितले बताए ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख अशोककुमार रौनियारले उक्त छात्रवृत्ति रकम आउन बाँकी रहेको बताए । उनले कार्यालयको खातामा पैसा आउनेबित्तिकै लाभग्राहीको खातामा पठाइने बताए । ‘मैले यही साता बुझेको थिएँ,’ उनले भने, ‘जेठ २२ गतेसम्मको समय अर्थ मन्त्रालयले दिएको छ । पैसा आयो भने हामी तत्काल खातामा राखिदिन्छौँ । पैसा रोकिएको दुई वर्षकै आउँछ कि एक वर्षको मात्रै । यसमा म पनि अनभिज्ञ छु ।’ वैदेशिक रोजगार बोर्डले भने शैक्षिक सत्र ०७८÷७९ को छात्रवृत्तिबापतको रकम पठाइसकिएको जनाएको छ ।