मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २५ बिहीबार ०६:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेमा फर्किन्छु, सदस्यता नवीकरण गर्छु : वामदेव गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २५ बिहीबार ०६:३५:००

७० वर्षे उमेरहद हटाइएको निर्णय सार्वजनिक भएलगत्तै पार्टी एकता अभियानको संयोजन गरिरहेका नेता वामदेव गौतमले एमालेमै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने घोषणा गरेका छन् । बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले एमालेमै फर्किए पनि आफूलाई अध्यक्ष वा महासचिव बन्ने रहर नरहेकोसमेत प्रस्ट्याएका छन् ।

‘उमेरहद हटाइएको अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरूसहित एमालेमै फर्किन्छु,’ गौतमले भने, ‘मेरो पनि सदस्यता नवीकरण गर्न म उनलाई (श्रीमती तुलसा थापा) पठाउँछु, सदस्यता नवीकरण गर्छु ।’ यद्यपि, उनले आफ्नै लागि उमेरहद हटाइएको केपी ओलीले जानकारी गराउनुपर्ने बताए । 

एमाले र एकीकृत समाजवादीसँग एकताका लागि समानान्तर संवादमा रहेका गौतमले एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका थिए । गौतम एमालेमा फर्किने अन्तिम निष्कर्षमा पुगेकै वेला अघिल्लो साता उनीनिकट एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले एकताको अगुवाइ गर्न अनुरोध गर्दै अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए । 

गौतम एमाले प्रवेश गर्दा एकीकृत समाजवादीमा रहेका श्रेष्ठसहित बलराम बाँस्कोटा, सावित्रा भुसालसहितको ठूलो समूह, एकता अभियानमा गौतमको नेतृत्वमा रहेको हरि पराजुलीसहितको समूह पनि एमालेमै फर्किने तयारीमा छ । गौतमसँग समेत संवादमा रहेका एकीकृत समाजवादीका उपाध्यक्ष श्रेष्ठले आफूले माधव नेपालसहित सबै पुराना एमाले नेताहरूलाई मिलाएर पार्टी एकता गर्न र सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानको नेतृत्व लिन ओलीलाई प्रस्ताव गरेको प्रस्ट्याए ।