मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पुलिसविरुद्ध पेनाल्टी नदिएपछि मच्छिन्द्रका खेलाडी रेफ्रीसँग विवाद गर्दै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०८० जेठ २३ मंगलबार ०६:२०:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

‘ए’ डिभिजन लिगमा विवादित बन्दै रेफ्री

Read Time : > 2 मिनेट
२०८० जेठ २३ मंगलबार ०६:२०:००

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि विजेता लगभग टुंगो लाग्ने अवस्था छ । अबको एक खेलले नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लब च्याम्पियन हुने वा नहुने निर्धारण हुनेछ । चर्च ब्वाइजलाई पहिलो सहभागितामै च्याम्पियन बन्न केवल एक अंक आवश्यक छ । साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लबको उपाधि रक्षा गर्ने केवल गणितीय आधार मात्र बाँकी रहेको छ । 

चर्च ब्वाइज लिगको अन्तिम दुई खेलमा पराजित हुँदा मात्र मच्छिन्द्रको उपाधि ह्याट्रिक सपना पूरा हुनेछ । तर, चर्च ब्वाइजको फर्म र लगातारको उत्कृष्ट प्रदर्शनका कारण मच्छिन्द्रको ह्याट्रिक उपाधि रक्षा गर्ने सपना सम्भव देखिँदैन । लिगको सुरुवाती चरणमा निकै कमजोर प्रदर्शन गरेको मच्छिन्द्रले दोस्रो लेगमा मात्र उत्कृष्ट खेल खेल्यो । कतिपय महत्वपूर्ण खेलमा मच्छिन्द्रले स्पष्ट अंक गुमाएको थियो ।

लिग क्लाइमेक्सउन्मुख भइरहँदा मच्छिन्द्रका खेलाडी तथा पदाधिकारीले क्लब उपाधि होडबाट टाढिनुको प्रमुख कारणका रूपमा खेल सञ्चालक रेफ्रीको गलत निर्णय दाबी गर्छ । प्रतियोगिताको आइतबार मच्छिन्द्र अप्रत्याशित रूपमा नेपाल पुलिस क्लबसँग २–१ ले स्तब्ध भएको थियो । पुलिससँग पराजित हुँदा नै मच्छिन्द्रको ह्याट्रिक उपाधि लक्ष्य टाढा बन्न पुगेको हो । 

पुलिसलाई पराजित गर्दा मच्छिन्द्र शीर्ष स्थानको चर्च ब्वाइजसँग दुई अंक दूरीमा रहन्थ्यो । तर, सोचेजस्तो निर्णय नआउँदा मच्छिन्द्रले हारको सबै दोष रेफ्रीमाथि लगाए । खेल सञ्चालन गरेका रेफ्री पञ्जल क्षेत्रीमाथि खेलाडीले अन्तिममा हातपातको कोसिससमेत गरेका थिए । मच्छिन्द्रका आषिश श्रेष्ठले रेफ्री क्षेत्रीमाथि हातपात गर्दा रातो कार्ड नै पाए । प्रशिक्षक किशोरकुमार केसीले गलत निर्णयका कारण आफूहरू पराजित भएको जनाए । 

महत्वपूर्ण खेलमा विवाद
लिगमा यो एउटा उदाहरण मात्र हो । लिगको २४ चरणका खेल समीक्षा गर्दा खेल सञ्चालन गर्ने रेफ्रीहरूको निर्णयबाट कोही पनि खुसी हुन सकेनन् । प्रत्येक चरणमा रेफ्रीले केही न केही विवाद निकाल्ने गरेका छन् । घरेलु फुटबल प्रतियोगिताकै मेरुदण्ड मानिने ए डिभिजन लिग सञ्चालक रेफ्रीहरूले माथिल्लो स्तरको निर्णय गर्न नसकेको र खेलसमेत नियन्त्रणमा राख्न नसकेको आरेप खेपिरहेका छन् । अक्सर लिगमा हेभिवेट क्लबबीच प्रतिस्पर्धा हुँदा रेफ्रीकै कारण विवाद उत्पन्न भए । रेफ्रीले क्लबका मुख्य खेलाडीलाई रातो वा चेतावनी कार्ड देखाउँदा खेल बिथोलिएका उदाहरण देखिए । 

‘कतिपय अवस्थामा हराउने उद्देश्यका साथ रेफ्रीले नै अनावश्यक विवाद निकाल्ने कार्य गरे,’ सहभागी एक क्लबका पदाधिकारीले भने, ‘पेनाल्टी नहुँदा पेनाल्टी दिने र दिनुपर्ने वेलामा केही निर्णय गर्ने रेफ्रीको नियतिजस्तै लाग्यो ।’ खेलाडीमाथिको लगानी खेर जानु र लिगमा लक्ष्य राखेको स्थान हात पार्न नसक्नुपछाडि पनि रेफ्रीको गलत निर्णय भएको उनी बताउँछन् । ‘हामीमा राम्रो स्थान प्राप्त गर्न क्लबले करोडभन्दा माथि लगानी गरेको छ, तर रेफ्रीले ती सबै लगानी व्यर्थ पारे,’ अंकतालिकाको मध्यम स्थानमा सीमित बनेको क्लबका पदाधिकारीले भने । 

विवादमा एन्फा चुप
हरेक फुटबल खेल्ने राष्ट्रले सञ्चालन गर्ने शीर्ष डिभिजन लिगमा विभिन्न कमिटी बनाइन्छ । लिगलाई व्यवस्थित र विवादरहित बनाउन ती समितिलाई कारबाही गर्नसमेत अधिकार प्राप्त हुन्छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति बनाएको छ । अनुशासनदेखि रेफ्री कमिटीसम्म छन् । तर, दरशथ रंगशाला, च्यासल तथा सातदोबाटोका मैदानमा विवाद आउँदा ती कमिटीले कडा कदम चालेको देखिँदैन ।

उनीहरूले पदाधिकारी र खेलाडीलाई मात्र सामान्य कारबाही गरेका छन् । तर, रेफ्रीविरुद्ध उजुरी दिइएका मुद्दामा अहिलेसम्म केही पनि सुनुवाइ भएको छैन । क्लबका पदाधिकारीहरूले पनि रेफ्रीविरुद्ध राखेको उजुरीमाथि कुनै कारबाही नभएको जनाएका छन् । उनीहरूले कम्तीमा स्पष्ट गल्ती गरेका रेफ्रीलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

 फोर्थ अफिसियलकै कारण आइतबार दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीचको खेल विवादमुक्त भएन । खेलमा पेनाल्टीको निर्णय विवादित बनेको थियो । जसका कारण रेफ्री कविन व्यञ्जनकारमाथि हातपातको प्रयाससमेत भएको थियो । पेनाल्टीको निर्णयपछि नै पटक–पटक फोर्थ अफिसियलसँग मनाङका अध्यक्ष विजय घलेले १० मिनेटको इन्जुरी मिनेट थप हुँदा थप आक्रोशित बने । मनाङका पदाधिकारीले खेल सकिएलगत्तै अपशब्द प्रयोग गरेका थिए ।