मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवन । १५६ रोपनीमा मुख्यसहित १२ भवन बन्नेछन् । तस्बिर : दिपेन्द्र ढुंगाना
कमलराज भट्ट काठमाडाैं
२०८० जेठ १९ शुक्रबार ०५:५५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसद् भवन निर्माण कछुवा गतिमा

वार्षिक १५ करोड भाडा तिरेर ०६४ देखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद्, हालसम्म डेढ अर्बभन्दा बढी भाडामा खर्च

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०८० जेठ १९ शुक्रबार ०५:५५:००
  • तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १ असोज ०७६ मा शिलान्यास, साढे पाँच अर्ब लागत, टुडी शेर्पा जेभी ठेकेदार कम्पनी
  • १५ असोज ०७९ मै निर्माण सम्पन्न गर्नुपर्ने आयोजना कोभिड महामारी, साइट क्लियर हुन समय लागेको र एलसी प्रतिबन्धले ढिलाइ भएपछि १५ चैतसम्म म्याद थप 
  • म्याद थपको दुई महिना बित्दा अर्थात् १७ जेठ ०८० मा भौतिक प्रगति ६३.९ र वित्तीय प्रगति ५३.०५ प्रतिशत मात्रै 
  • ठेकेदार कम्पनीले माग्यो थप एक वर्ष समय, १६ चैतदेखि लागू हुने गरी अर्काे ६ महिना म्याद थप्ने सरकारको तयारी, आउँदो असोजसम्ममा पाँचवटा भवन तयार भइसक्ने भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठको दाबी

मुलुकमा पूर्वाधार निर्माणको गति कति सुस्त हुन्छ ? मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बन्दै गरेको राष्ट्रिय गौरवको आयोजना संसद् भवन निर्माणको कार्यप्रगतिले यसको सटीक जवाफ बताउँछ । राज्यको प्रमुख अंगमध्येको एक व्यवस्थापिकाकै भवन निर्माणमा चरम लापरबाही भएको छ । निर्माण व्यवसायी र सरोकारवाला निकायले आफ्नो सहजतामा काम गर्दा आयोजनाको कार्यप्रगति कछुवा गतिमा छ । 

आयोजनाको अनुगमनपछि सभामुख देवराज घिमिरेले भने–
जति सकिन्छ काम गर्दै जाउँ भन्ने तरिकाले बनाउन गाह्रो हुन्छ । कि त यसलाई न्यूनतम चाहिने समय थप्नुपर्‍यो, त्यतिवेलासम्म सकिन्छ भन्ने विश्वास पनि हुनुपर्‍यो, कि अब यति समय नपाउने भए मैले बनाउन सक्दिनँ भन्नुपर्‍यो । छाड्न पनि नपाउने, बनाउन पनि नसक्ने स्थिति भएर यसलाई अनन्त लाने कुरा बिल्कुल गर्नुहुँदैन ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको तथ्यांकअनुसार मंसिरमा ६० प्रतिशत काम सम्पन्न भएको संसद् भवनको कार्यप्रगति मध्यजेठसम्म आइपुग्दा ६३.९ प्रतिशत मात्रै छ । ६ महिनामा करिब चार प्रतिशत मात्रै काम भएको छ । वित्तीय प्रगति त झन् ५३.०५ प्रतिशत मात्रै छ, अर्थात् तीन अर्बहाराहारी भुक्तानी भएको छ ।

संसद्को नयाँ भवनका लागि साढे पाँच अर्ब लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी टुडी शेर्पा जेभीसँग सम्झौता भरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले १ असोज ०७६ मा शिलान्यास गरेका थिए । शिलान्यास गर्दा ओलीले ०७९ को निर्वाचनपछि आउने संसद्को पहिलो अधिवेशन नयाँ भवनमा सञ्चालन हुने दाबी गरेका थिए । 

बिहीबार सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर र सहरी विकासमन्त्री सीता गुरुङ निर्माणाधीन भवनको निरीक्षणमा पुग्दा श्रमिकको न्यून उपस्थिति थियो । हाल अढाई सय श्रमिक परिचालन गरिएको र कार्यप्रगति ६३ प्रतिशत मात्रै रहेको ब्रिफिङ आयोजनाका अधिकारीबाट सुनेपछि सभामुख घिमिरेले लापरबाहीको हद भएको बताए । 

१५ असोजमा निर्माण सम्पन्न गर्नुपर्ने भवन आयोजना कोभिड महामारी, साइट क्लियर हुन समय लागेको र एलसी प्रतिबन्धले ढिलाइ भएको निर्माण व्यवसायी सुमन सुवेदीले बताए । त्यसपछि सहरी विकास तथा भवन निर्माण विभागले १५ चैतसम्मका लागि ६ महिना म्याद थपेको थियो । यो अवधि नाघेको दुई महिना बितिसक्दा कार्यप्रगति ६४ प्रतिशतहाराहारी छ । 

नयाँ म्याद थपका लागि विभागमा प्रक्रियामा छ । १६ चैतदेखि लागू हुने गरी १२ अक्टोबरसम्म अर्काे ६ महिना थप्ने तयारी रहेको विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताए । आउँदो असोजसम्ममा पाँचवटा भवन तयार भइसक्ने उनको दाबी छ । एक सय ५६ रोपनीमा १२ वटा भवन बन्नेछन् । जसमा दुई हल, सचिवालय, पार्किङ, संसदीय दलका कार्यालय रहनेछन् । 

ठेकेदार कम्पनीले १६ चैतबाट लागू हुने गरी एक वर्ष समय मागेको छ । जब कि सरकार ६ महिना मात्रै थप्ने र हिउँदे अधिवेशन नयाँ भवनबाट चलाउने योजनामा छ । सहरी विकास मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठले हिउँदे अधिवेशन यहीँ राख्ने गरी काम सक्नुपर्ने बताए । ‘दैनिक ६ सय मान्छे परिचालन गर्नुस् । ६ महिनापछिको एलसी अहिले नै खोल्नुस् । समानान्तरमा कामहरू गर्न सकिन्छ । तपाईंको इफोर्ट पुगेको छैन । हिउँदे अधिवेशन यही स्पिडमा हुँदैन । इफोर्ड बढाऔँ, सहजीकरण गर्न हामी छौँ । ट्रसमा डिजाइन परिवर्तन गर्नुपर्ने हो भने पनि मिलेर गरौँ । तर हिउँदे अधिवेशनलाई लक्ष्य बनाऔँ,’ उनले भने ।