
सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि मे महिनासम्म सो संख्यामा पर्यटक भित्रिएका हुन्।
मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन्। यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६ र अप्रिलमा ९८ हजार सात सय ७३ पर्यटक भित्रिएका थिए।
तथ्यांकअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार पाँच सय ७५ पर्यटक भित्रिएका छन्। भारतपछि अमेरिकाबाट आठ हजार पाँच सय ४५, चीनबाट चार हजार ६ सय ६७, बेलायतबाट दुई हजार नौ सय २७, अस्ट्रेलियाबाट दुई हजार एक सय ८४ जना पर्यटक आएका छन्।
बंगलादेशबाट दुई हजार एक सय ६४, मलेसियाबाट एक हजार तीन सय २१, जर्मनीबाट एक हजार एक सय ६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका छन्।
कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ। स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन संख्या क्रमशः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो।
यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई ६ लाख १४ हजार आठ सय ६९ पुगेको छ। सन् २०२३ मा पर्यटक आगमन निरन्तर बढिरहेको छ।