मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० जेठ १८ बिहीबार १०:५४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सर्पले टोके के गर्ने, के नगर्ने ?

Read Time : > 1 मिनेट
२०८० जेठ १८ बिहीबार १०:५४:००

गर्मी मौसममा तराईमा सर्पदंशका घटना बढ्ने गरेको छ । विषालु सर्पको टोकाइबाट घाइते भएका कतिपय मानिसको समयमै उपचार नपाउँदा मृत्युसमेत हुने गरेको छ । 

डा. कृष्णप्रसाद आचार्य वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा सर्पदंश विशेषज्ञ, भेरी अस्पताल

तराईका २६ जिल्लालाई सर्पको उच्च जोखिम जिल्लाका रूपमा लिइन्छ । यी जिल्लामा विशेषगरी विष भएका करेट र गोमन (कोब्रा) सर्प पाइन्छन् । सर्पको टोकाइबाट बर्सेनि ६–७ हजार नेपालीले ज्यान गुमाउने गरेको तथ्यांक छ । सर्प विशेष गरी वैशाखदेखि असोजसम्म बाहिर निस्कने गर्दछन् ।

करेट सर्पले सुतेको मान्छेलाई ओछ्यानमा गएर टोक्छ । सफासुग्घर ठाउँमा बस्न रुचाउने यो सर्प बेलुकीपख ओछ्यानमा गएर बस्छ र सुत्न गएको व्यक्तिलाई टोक्छ । तर, गोमन सर्प साँझ पर्ने वेला तथा बिहानीपखको समयमा बाहिर निस्किन्छ र मान्छेलाई टोक्छ । यो सर्प दिउँसो पानी खान निस्कने भएकाले मान्छेले जिस्क्याएमा टोक्ने गर्छ । 

सर्पले टोकेमा के गर्ने ? 
- सर्पले टोक्नेबित्तिकै शरीरको अन्य भागमा सर्न नदिन टोकेको ठाउँभन्दा अलिकति माथि काम्रोले बाँध्नुपर्छ । हिँडडुल गर्दा विष शरीरका अन्य भागमा छिटो सर्ने भएकाले हिँडडुल गर्ने, दौडने गर्नुहुँदैन । 

- छिटो अस्पताल पुग्ने नाममा आफैँले मोटरसाइकल पनि चलाउनुहुँदैन । यदि सर्पले टोकेमा अरूलाई मोटरसाइकल चलाउन लगाउनुपर्छ । 

- सर्पले टोकेको आशंका लागेमा पानी पिउनु र पिलाउनु हुँदैन । पानी पिउँदा पानीको सहायतामा विष शरीरका विभिन्न भागमा छिटो पुग्छ र रिकभर हुन समस्या आउने अत्यधिक खतरा रहन्छ ।

असर 
विषालु सर्पले टोकेर विष छोडे मात्र मान्छेलाई विष लाग्छ । विष लागेमा कमजोरी महसुस हुने, मुख खोल्न नसक्ने, जिब्रो निकाल्न नसक्ने, पानी या अन्य खानेकुरा निल्न गाह्रो हुने, आँखा खोल्न नसक्नेजस्ता लक्षण देखिन्छ । यस्ता लक्षण देखिए सर्पले टोकेको अनुमान गरी जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ । 

करेट सर्पले टोकेमा विष ढिलो गरी लाग्छ र शरीरमा पनि ढिलो गरी फैलिन्छ । यो सर्पले टोक्दा मानिसलाई सपनाजस्तो लाग्न सक्छ र टोकेको महसुस नहुन पनि सक्छ । तर, गोमन सर्पको विष छिटो लाग्छ र शरीरमा पनि छिटो फैलिन्छ । करेट सर्पले टोकेको मानिसको विष ढिलो गरी निको हुन्छ । यसको विष निको हुन १२–१६ घन्टा लाग्न सक्छ, तर गोमन सर्पको विष एक घन्टामा निको हुन सक्छ । 

जोगिन के गर्ने ?
रातको समयमा नहिँड्ने, हिँड्नैपरे उज्यालोको सहायतामा हिँडडुल गर्ने, सुत्नुअघि ओछ्यान राम्रोसँग टकटक्याउने, सुत्ने कोठा र घरका अन्य कोठा राम्रोसँग हेरेर मात्र सुत्ने गर्नुपर्छ । 

त्यसैगरी, ओछ्यानमा झुल लगाउनुपर्छ, भुइँमा कहिल्यै सुत्नुहुन्न । घरवरिपरि सफा राख्ने र झ्यालढोकामा जालीको व्यवस्था गर्नुपर्छ । सर्पले मुसा, कुखुरा र हाँस खाने भएकाले सुत्ने कोठानजिक मुसा आउन नदिने तथा कुखुरा र हाँस घरभन्दा टाढा पालन गर्दा सर्पको टोकाइबाट बच्न सकिन्छ ।

प्रस्तुति : विश्वराज पछल्डङ्ग्या